नेपालमा आज भइरहेको अन्तिम चरणको चुनाउ निम्ति कडा सुरक्षा व्यवस्था; भारत-नेपाल सीमाना बन्द

नेपालमा आज प्रतिनिधि सभा र प्रदेश सभा अन्तर्गत दोस्रो तथा अन्तिम चरणको निर्वाचनका लागि मतदान भईरहेको छ। यो चरणमा 45 जिल्लाहरूमा प्रतिनिधि सभाका 128 स्थानहरू र प्रदेश सभाका 256 स्थानहरूका लागि मतदान हुँदैछ। मतदान बिहान 7 बजे देखि सुरू भएको हो र साँझ 5 बजेसम्म जारी रहने छ। हाम्रा काठमाडौँ सम्वाददाताले बताएअनुसार, स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। भारत-नेपाल सीमानाहरूलाई बन्द गरिएको छ र दुवै मुलुकका सुरक्षा बलहरूले संयुक्त गस्ती गरिरहेका छन्। यस चरणमा 4480 जना उम्मेद्वारको भाग्यको फैसला हुनेछ। 1 करोड 22 लाख भन्दा बढी मतदाताहरुको लागि 15340 मतदान केन्द्रहरु निर्धारण गरिएको छ।
राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधान मन्त्री शेरबहादुर देउवाले नेपालका जनतालाई उत्साहजनक रूपमा निर्वाचनमा भाग लिन आग्रह गर्नुभएको छ। यस ऐतिहासिक निर्वाचनलाई संघीय लोकतान्त्रिक राष्ट्रको दिशामा नेपालको पहिलो पाइलोको रुपमा हेरिएको छ र यस हिमाली राष्ट्रमा आवश्यक राजनीतिक स्थिरता ल्याउने आशा गरिएको छ। पहिलो चरणको निर्वाचन 26 नोभेम्बरमा 32 जिल्लाहरूमा सफलताका साथ सम्पन्न भईसकेको छ। नेपालको नयाँ संविधानअनुसार अर्को वर्ष जनवरी 21-सम्म स्थानीय, प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन पूरा गर्न अनिवार्य छ। स्थानीय तहका निर्वाचनहरू पहिले नै पूरा भईसकेका छन्।