भारतीय एवम् चिनियाँ सेनाहरू बीच चाँडै नै हटलाइन स्थापित गरिनेछ: सेना प्रमुख बिपिन रावत

भारतीय सेना प्रमुख बिपिन रावतले भारतीय एवम् चिनियाँ सेनाहरू बीच चाँडै नै एउटा हटलाइन स्थापित गरिनेछ भनी बताउनुभएको छ।  

नयाँ दिल्लीमा एउटा प्रेस सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, भारतीय सेनाको सैन्य अपरेशनका महानिदेशक (डीजीएमओ) तथा चिनियाँ समकक्षी बीच एउटा हटलाइन स्थापित गर्नका लागि भारत र चीन, दुवै धेरै इच्छुक रहेका छन्।

सेना प्रमुखले भन्नुभयो, यो हटलाइनले सीमानामा कानून नियमको उल्लंघन जस्ता घटनाहरूको समाधान तुरुन्तै गर्नमा मद्दत गर्नेछ। वर्तमानमा भारत र पाकिस्तान बीच डीजीएमओ स्तरको एउटा हटलाइन रहेको छ।

सेना प्रमुख बिपिन रावतले यो पनि भन्नुभयो, भारतले पाकिस्तान माथि संयुक्त राज्य अमेरिकाको दबावको प्रभावलाई पर्खेर हेर्नु पर्दछ। पाकिस्तानले आफ्नो भू-भागमा आतङ्कीहरू र आतङ्की गुटहरू विरुद्ध कडा कारबाही गरिरहेको छैन भन्दै सुंयक्त राज्य अमेरिकाले हालैमा पाकिस्तानलाई दिइने सैन्य सहयोग रद्द गरिदिएको थियो।  

जनरल रावतले भन्नुभयो, कश्मीरमा आतङ्कवाद समाप्त भएको छैन तथा यो वर्ष कारबाहीको निम्ति उत्तर कश्मीरतिर ध्यान दिइनेछ। उहाँले भन्नुभयो, सेनाले जून महिनादेखि चरणबद्ध रूपमा 1 लाख 86 हजार बुलेट प्रूफ ज्याकेटहरू प्राप्त गर्नेछ। श्री रावतले भन्नुभयो, साईबर सुरक्षा सुधार गर्नका लागि पनि सेनाले ध्यान दिइराखेको छ। जनरल रावतले उत्तरी सीमाहरूका पूर्वाधार विकासलाई बढाउनु पर्नेछ भनी बताउनुभयो।