अन्तरिक्ष अभियानमा भारतको एकसयौँ सफलता

 

आलेखः विज्ञानसम्बन्धी वरिष्ठ टिप्पणीकार, बिमान बसु

भारतले शुक्रबार अन्तरिक्षको कक्षमा आफ्नो पि. एस. एल. भि.-सि. 40 रकेटमार्फत एकसयौँ उपग्रह कार्टोसेट-2 एफ. स्थापित गरी यस क्षेत्रमा सफल शतकीय पारी खेलेको छ। उक्त सफल प्रक्षेपण तथा भू-सर्वेक्षण उपग्रह कार्टोसेट-2 एफ.-को सफल परीक्षण भारतीय अन्तरिक्ष वैज्ञानिकहरूका लागि निश्चित रूपमा नै मनोबल बढाउने एक वृहत पहल थियो। यस कार्यले भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) को भरपर्दो अरबी घोडा जसरी नै उदीयमान भएको ध्रुवीय उपग्रह प्रक्षेपण यान (पि. एस. एल. भि.) रकेटको विश्वसनीयतामा वैज्ञानिकहरूको अटूट आस्था झल्काउँछ। पि. एस. एल. भि.-को लागि विश्वसनीयता र शक्तिको रूपमा यो प्रक्षेपण फलामको चिउरा चबाउने कार्यभन्दा कम थिएन।  पि. एस. एल. भि.-ले निर्बाध र निरन्तर रूपमा 39 सफल प्रक्षेपण गरे तापनि इसरोले चार महिनासम्म कतिपय अत्यन्त महत्त्वपूर्ण क्षेत्रमा सुधारमूलक कार्य गर्नु पऱ्यो र परिणामस्वरूम यो संगठन घत लाग्दो सफलता हासिल गर्न सक्षम भयो।

पि. एस. एल. भि.- सि. 39 को प्रक्षेपणपश्चात गरिएको विश्लेषणमा यसको असफलताबारे थाहा लागेको मुख्य तथा रोचक कुरा के हो भने यसको हिट सिल्ड छुट्टिन सकेन र यसैले गर्दा हिट सिल्ड र उपग्रहका साथै पि. एस. एल. भि.- सि. 39 को सम्पूर्ण चौथो चरण अन्तरिक्षमा अनावश्यक वस्तु बन्न पुग्यो। तैपनि यसको पहिलो, दोस्रो र तेस्रो चरणका साथै पृथकीकरण प्रक्रियाहरूलगायत प्रक्षेपण यानमा अरू सबै कुराहरूले राम्रै कार्य गरेका थिए।

शुक्रबारको प्रक्षेपण अन्य कारणहरूले गर्दा पनि महत्त्वपूर्ण थियो। यस कार्यले इसरोलाई पोहोर अगस्त महिनामा यसको अघिल्लो पि. एस. एल. भि.- मिसन विफल भएको चार महिनापछि फेरि सफलता हात पार्ने अवसर प्रदान गऱ्यो। यसको अतिरिक्त पि. एस. एल. भि.-ले प्रक्षेपण गरेको 710 किलोग्राम वजनको कार्टोसेट-2 एफ. सबैभन्दा भारी उपग्रह पनि हो।

कार्टोसेट-2 एफ. सूर्यको परिक्रमा गर्ने कक्षमा तैनाथ गरिने भू-सर्वेक्षण उपग्रहहरूको कार्टोसेट श्रृङ्खलाको सातौँ संस्करण हो। यसको मुख्य उद्देश्य उच्च रेजोल्युसनको विस्तृत नक्सा सङ्कलन गर्नु हो। उपग्रहले पठाउने छविहरू कार्टोग्राफिक, ग्रामीण तथा सहरी एप, तटीय  भू-भागमा प्रयोग र नियमनका लागि उपयोगी हुने छन्। यसलाई सडक सञ्जालको अनुगमन, जल वितरण, जमिनको नक्सा बनाउने, भौगोलिक तथा मानव-निर्मित विशेषता र जमिनको जानकारीसम्बन्धी अन्य पद्धतिका साथै भौगोलिक जानकारीसम्बन्धी पद्धतिका एपहरू जस्ता उपयोगिता व्यवस्थापनका कार्यहरूमा पनि प्रयोग गरिने छ। तर सबैभन्दा महत्त्वपूर्ण भनेको, एक मिटरभन्दा पनि छोटो तथा अत्यन्त उच्च रेजोल्युसनको सुविधासम्पन्न यी छविहरू हाम्रा सीमानाहरूको निगरानी गर्ने कार्यमा निकै उपयोगी साबित हुने छन्।

कार्टोसेट-2 एफ. को अतिरिक्त उक्त मिसनले भारतको एउटा सूक्ष्म उपग्रह र एउटा न्यानो अर्थात अति सुक्ष्म उपग्रहका साथै क्यानाडा, फिनल्यान्ड, फ्रान्स, कोरिया गणराज्य, बेलायत र अमेरिका गरी कुल छ देशका तीन सूक्ष्म उपग्रह र 25 न्यानो उपग्रहहरूलगायत 30 लघु उपग्रहहरूलाई अन्तरिक्षमा पुऱ्यायो। यी उपग्रहहरूलाई दुई पृथक कक्षहरूमा स्थापित गर्नु यो मिसनको अझ चाख लाग्दो कुरा हो। कार्टोसेटलाई लगभग 510 किलोमिटरको उचाइमा रहेको सूर्यको परिक्रमा गर्ने कक्षमा तथा 30 सूक्ष्म तथा न्यानो उपग्रहहरूलाई 349 किलोमिटरको उचाइमा अवस्थित कक्षमा स्थापित गरियो। दुई फरक कक्षमा स्थापित गर्ने यो कार्यले यस मिसनलाई अरूभन्दा अनौठो बनाउँछ र यो लक्ष्य पूरा गर्न रकेटको चौथो चरणको इन्जिनलाई धेरैपटक बन्द गरेर पुनः सुरु गर्नुपरेको थियो। उडानदेखि लिएर दुई कक्षमा उपग्रहहरूको स्थापना प्रक्रियामा कुल 2 घन्टा 21 मिनेट समय लाग्यो।

पि. एस. एल. भि.-का सफल प्रक्षेपणहरूको आफ्नो इतिहासबाट गदगद भएर इसरोले अन्तर्राष्ट्रिय ग्राहकहरूलाई धेरै वर्षदेखि पि. एस. एल. भि.-मार्फत प्रक्षेपण सेवा उपलब्ध गराउँदै आएको छ। हालसम्मका यस्ता 15 प्रक्षेपणहरूमा 20 देशका उपग्रहरूलाई सफलतापूर्वक कक्षमा स्थापित गराइसकिएको छ। यी प्रक्षेपण मिसनहरूले अन्तर्राष्ट्रिय ग्राहकहरूको भारतीय प्रक्षेपण सामर्थ्यमाथिको विश्वास अझ मजबुत बनाएको छ। सूक्ष्म तथा न्यानो उपग्रहहरू प्रक्षेपण गर्ने भारतको सामर्थ्य, अन्तरिक्षमा प्रक्षेपण गर्ने अरू धेरै देशहरूको भन्दा उच्चस्तरको छ भन्ने कुरा पनि अब स्पष्ट भएको छ र अमेरिकाले आफ्ना न्यानो उपग्रहहरूको प्रक्षेपणका लागि घरि-घरि भारतको मद्दत लिनुले यस कुरालाई प्रमाणित गर्दछ।

अङ्ग्रेजी नयाँ वर्ष 2018 को सुरुमा नै सफलता हासिल गरेको इसरोले अब यो वर्ष गरिने आफ्ना अन्य महत्त्वपूर्ण मिसनहरूमा ध्यान केन्द्रीत गर्न सक्छ। आगामी प्रक्षेपणहरूमा इसरोले मार्च महिनामा आफ्नो महत्वाकांक्षी चन्द्र मिसनको दोस्रो परियोजनाअन्तर्गत चन्द्रयान प्रक्षेपण गर्ने सम्भावना छ। यो मिसनमा इसरोको सर्ववृहत उपग्रह प्रक्षेपक जि. एस. एल. भि.-मार्क-3 प्रयोग गरिने छ। चन्द्रयान-2, अघिल्ला मिसनहरू जस्तो कक्षीय मिसन हुने छैन र यसले चन्द्रमाको सतहमा अवतरण गरी त्यसको अध्ययन गर्ने छ।