इराकको पुनर्निर्माण निम्ति कुवेत अन्तर्राष्ट्रिय सम्मेलन

आलेखः सामाजिक विज्ञान संस्थानका निदेशक, ड. आश नारायण रॉय

इराकको पुनर्निर्माण निम्ति कुवेतले एक अन्तर्राष्ट्रिय सम्मेलनको मेजबानी गऱ्यो। राष्ट्रसंघ, विश्व ब्याङ्क अनि यूरोपेली संघले यो सम्मेलनको सह-अध्यक्षता गरे। युद्ध जर्जरित इराकको पुनर्निर्माणमा सहायता पुऱ्याउन यस सम्मेलमा 74 राष्ट्रहरूका प्रतिनिधिहरू उपस्थित भएका थिए। यस सम्मेलनमा 30 अर्ब डलरको रकम सङ्ग्रह गरियो। टर्कीले सबैभन्दा अधिक 5 अर्ब डलर प्रदान गर्ने घोषणा गऱ्यो। त्यसपछि स्थान छ कुवेतको, जसले इराकको पुनर्निर्माण निम्ति ऋणको रूपमा 1 अर्ब डलर तथा लगानीको रूपमा 1 अर्ब डलर उपलब्ध गराउने घोषणा गऱ्यो। सऊदी अरब, कतर अनि संयुक्त अरब एमिरातले क्रमैसित 1.5 अर्ब, 1 अर्ब र 50 करोड डलरको राशी उपलब्ध गराउने घोषणा गरे। जर्मनीले 50 करोड यूरो तथा यूरोपेली संघले 40 करोड यूरो प्रदान गर्ने वचन दिएका छन्।

भारतको प्रतिनिधित्व परराष्ट्र मामिला विषयक केन्द्रीय राज्य मन्त्री एम जे अकबरले गर्नुभएको थियो अनि उहाँले विविध परियोजनाहरूमा इराकको मद्दत गर्ने घोषणा गर्नुभयो। उहाँले भन्नुभयो, पेट्रोरसायन, स्वास्थ्य, शिक्षा, मूलभूत संरचना र अन्य क्षेत्रहरूसित सम्बद्ध महत्त्वपूर्ण परियोजनाहरूमा भारतले प्रमुख भूमिका खेल्नेछ। भारतको निजी क्षेत्रका लगानीकर्त्ताहरू, प्रमुख रूपमा, इराकका आतङ्कवादीहरूद्वारा प्रभावित क्षेत्रहरूको पुनर्निर्माणमा संलग्न हुनेछन्। श्री अकबरले युद्ध चलिरहेको बेलामा इराकी नागरिकहरूलाई भारतले आवश्यक मानवीय सहायता उपलब्ध गराएको स्मरण दिलाउनुभयो। राष्ट्रसंघ महासचिवको तत्काल सहायता पुऱ्याउने आह्वान पश्चात् भारतले इराकका जनताको लागि सहायताको रूपमा 2 करोड यू एस डलरको योगदान दियो।

कुवेतका अमीर शेख सबाह अल-अहमद अल-जाबेद अल-सबाह-ले इराकले सामना गर्नुपरिरहेका धेरै चुनौतीहरूको बारेमा बताउनुभयो। उहाँले भन्नुभयो, इराकका कतिपय भूभागहरूमा आतङ्की सङ्गठनहरूको कब्जाको फलस्वरूप, त्यहाँ ठूलो परिमाणमा विनाश भएको छ। उहाँले यसको सम्बन्ध उहाँको देशको सुरक्षासित रहेको बताउनुभयो अनि यसमा उहाँको देशका संलग्नता र अग्रसरताहरूको उल्लेख गर्नुभयो। दाताहरूको सम्मेलनको मेजबानी गर्ने पहल गर्नुभएकोमा विश्वका नेताहरूले कुवेतका अमीरको खुबै प्रशंसा गरे। यसभन्दा पहिले पनि कुवेतले सिरिया, पूर्व सूडान र प्यालेष्टाइनेली शरणार्थीहरूको लागि यस्तै सम्मेलनहरूको मेजबानी गरिसकेको छ। सन् 2015-मा विस्थापित इराकीहरूलाई सहायता पुऱ्याउने उद्देश्यले कुवेतले ‘कुवेत तपाईँको साथ’ नामक अभियान सुरू गरेको थियो। मानिसहरू बीच सेतूको निर्माण अनि मानवीय सहायता पुऱ्याउने दिशामा अमीरको भूमिका औधी महत्त्वपूर्ण रहेको छ अनि विश्वका नेताहरूले यसको लागि उहाँको धेरै प्रशंसा गरेका छन्।

आई एस-ले इराकी जनतामाथि औधी नै बेसी साथै अमानवीय अत्याचार गऱ्यो। हजारौंको संख्यामा इराकीहरूले ज्यान गुमाए, लाखौंको संख्यामा इराकीहरूले उनीहरूका घरबार र जीवन-निर्वाहका साधनहरू गुमाए अनि धेरै महिला र केटीहरू यौन हिंसाको शिकार भए। आई एस विरूद्ध लडाइँले गर्दा लाखौंको संख्यामा घर, स्कूल, अस्पताल अनि अन्य आर्थिक पूर्वाधार संरचनाहरू नष्ट भए तथा 50 लाखभन्दा अधिक मानिसहरू विस्थापित भए। अहिलेसम्म केवल आधा संख्यामा शरणार्थीहरू घर फर्किएका छन्। एक अनुमानअनुसार केवल घरहरूको निर्माण निम्ति 20 अर्ब डलर रकमको आवश्यकता पर्नेछ। मोसुलमा सबैभन्दा बेसी विनाश भएको छ। आई एस-ले धरोहरहरू समेतलाई नष्ट गरेको छ। सबैभन्दा बेसी कष्ट झेल्ने मानिसहरूलाई सहायता पुऱ्याउनमाथि इराकको सरकारले ध्यान केन्द्रित गरिरहेको छ। सबैभन्दा महत्त्वपूर्ण कार्य हो, मानिसहरूमा आत्मविश्वास फर्काइल्याउनु। हिंसाको सर्वाधिक जोखिम भएका स्थानहरूलाई प्राथमिकता दिइनेछ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले अहिलेसम्म पनि विस्थापित नै रहेका मानिसहरू साथै महिला र केटीहरूको सशक्तिकरणसित सम्बद्ध कार्यक्रमहरूलाई प्राथमिकता दिने आग्रह गर्नुहुँदै भन्नुभयो, देशको पुनर्मेलमिलाप प्रक्रियालाई अगाडि बढाउँदा, गरिएका अपराधहरू र सम्बद्ध अपराधीहरूमाथि पनि ध्यान दिनु आवश्यक छ। यसै सम्मेलनको छेक पारेर ‘इस्लामिक स्टेटलाई पराजित गर्नको लागि वैश्विक गठबन्धन’ नामक मन्त्री स्तरीय बैठकको कार्यक्रम पनि आयोजित गरियो। बैठकमा आई एस-को उद्भवका मूल कारणहरूको निवारण गर्ने अनिवार्य आवश्यकतालाई रेखाङ्कित गरियो। बैठकको समाप्ति पश्चात् विदेश मन्त्रीहरूले ‘मार्गदर्शक सिद्धान्तहरू’-लाई जारी गरे। यसमा इराक र सिरियालाई आई एस-को खतराबाट पूर्णतया मुक्त गर्नको लागि गठबन्धनको प्रतिबद्धताको उल्लेख गरिएको छ अनि भनिएको छ, आई एस-लाई सुरक्षित आश्रयस्थल साथै संसाधनहरूप्रति पहुँच उपलब्ध गराउनु हुँदैन, यो हत्यारा गुटलाई सोशल मीडिया र इन्टरनेटको दोहन गर्न नदिनको लागि प्रयासहरूलाई दोब्बर पार्नुपर्छ तथा आई एस-का कृत्यहरूको रोकथाम गर्नलाई प्रतिरोधी कार्यवाहीमा तीव्रता ल्याउनुपर्छ।

पुननिर्माण भनेको मूलभूत संरचनाहरूको निर्माण मात्र होइन। यसको अर्थ हो, मानिसहरूको जीवनमा सुधार ल्याउनु। इराकले सामना गर्न परिरहेका चुनौतीहरूमा केवल मानवीय चुनौतीहरू छैनन्। त्यहाँ घृणा र विभाजनको राजनीतिलाई समाप्त पार्नुपर्ने खाँचो छ। इराकसित असफल हुने विकल्प नै छैन, तर इराक एक्लैले आई एस विरूद्ध लड्ने जिम्मेवारी लिन सक्दैन। जस्तो कि श्री गुटेरसले अति नै सारगर्भित टिप्पणी गर्नुहुँदै भन्नुभयो, इराकी जनताले आई एस विरूद्ध संघर्ष गरेर ठूलो बलिदान दिएका छन् अनि समग्र विश्व यसको लागि इराकको ‘ऋणी’ छ। यसकारण अब वैश्विक समुदायको लागि इराकसित एकसाथ खडा भएर उसको ऋण चुकाउने समय आएको छ।