भारत-भुटान कुटनयिक सम्बन्धको स्वर्ण जयन्ती

आलेख: रणजीत कुमार, कुटनीतिक सम्पादक, नवोदय टाइम्स

भारत-भुटान कुटनयिक सम्बन्धको स्वर्ण जयन्तीको अवसरमा भुटानका विदेश मन्त्री भारतको भ्रमणमा आउनुभएको थियो। भारतसित भुटानको शताब्दीऔँ पुरानो निकट सांस्कृतिक, राजनैतिक तथा जन-जन सम्पर्कको सम्बन्ध रहेको छ अनि भुटानको सम्प्रभुताको सुरक्षा गर्न र त्यहाँका मानिसको सामाजिक-सांस्कृतिक जीवन माथि उचाल्नका लागि भारतले आधुनिक समयमा भुटानलाई राजनैतिक, आर्थिक तथा रक्षा सहयोग विस्तार गरिराखेको छ।

भुटानका विदेश मन्त्री ल्योन्पो दाम्चो दोर्जीले परराष्ट्र मन्त्री सुषमा स्वराजलाई भेट्नुभयो अनि विभिन्न क्षेत्रमा रहेका द्विपक्षीय सम्बन्धहरूको समीक्षा गर्नुभयो। द्विपक्षीय सम्बन्धको 50-औँ वर्षगाँठको अवसरमा बोल्नुहुँदै श्री दोर्जीले भन्नुभयो, इतिहास, संस्कृति एवम् भू-राजनैतिक वास्तविकता तथा दुइ मुलुकका बुद्धिमानी एवम् दूरदर्शी नेतृत्व साथै उनीहरूका मानिसको एक साझा नियति माथि रहेको भरोसाबमोजिम भुटान-भारत सम्बन्धले आकार लिएको छ। यस अवसरमा श्रीमती सुषमा स्वराजले भन्नुभयो, भारत-भुटान सम्बन्धहरू साझा मूल्य एवम् प्राथमिकता, परम् विश्वास एवम् समझदारी तथा एक-अर्काका हितहरूको संवेदनशीलताको आधारमा स्थापित भएका छन्। श्री ल्योन्पोअनुसार, भारत-भुटान कुटनयिक सम्बन्धको स्वर्ण जयन्ती, आकारमा विशाल भिन्नता रहेका दुइ मुलुकहरूबीचको सफल सम्बन्ध तथा उनीहरू सह-अस्तित्वमा रहेर पनि कसरी समृद्ध बन्न सक्छन् भन्ने कुरालाई विश्वमा प्रदर्शित गर्ने एउटा अवसर हो।

एक उच्च स्तरीय भारतीय शीष्टमण्डलको थिम्पु भ्रमण पश्चात् भुटानका विदेश मन्त्रीले भारतको भ्रमण गर्नुभएको हो। दुवै मन्त्रीहरूले चीनसित टाँसिएको भुटानको सीमानाको, विशेषगरी भारतीय राज्य सिक्किम नजिकको क्षेत्रमा सुरक्षाको ताजा स्थितिबारे छलफल गर्नुभयो। भुटान र चीन, दुवैद्वारा दाबी गरिएको एक विवादित क्षेत्र, डोकलाममा पोहोर 73 दिनसम्म चलेको सैन्य गत्यावरोधको सन्दर्भमा भुटानका विदेश मन्त्रीको भ्रमण महत्त्वपूर्ण रहेको छ। भुटानको क्षेत्रीय दाबीको रक्षा गर्नका लागि भारत र भुटान, दुवैले उच्च स्तरीय कुटनयिक एवम् सैन्य सम्पर्क कायम गरिराखेका छन्।

सन् 2007-मा हस्ताक्षरित संशोधित मैत्री सन्धीबमोजिम भारत-भुटान सम्बन्ध संचालित भइराखेको छ। सन् 1949-मा मैत्री एवम् सहयोग सन्धीको रूपमा भारत-भुटान द्विपक्षीय सम्बन्धको आधारभूत ढाँचामा हस्ताक्षर भएको भए तापनि दुइ छिमेकी मुलुकहरूले कुटनयिक सम्बन्ध भने, सन् 1968-मा थिम्पुमा भारतको एकजना निवासी प्रतिनिधि नियुक्त गरेर मात्र स्थापित गरेका थिए। यस पूर्व, सिक्किममा भारतका राजनैतिक अधिकारीले भारत-भुटान सम्बन्ध हेरचाह गर्ने गर्दथ्यो। सन् 2007-मा 1949-को सन्धीमा संशोधन गरिएको थियो र यो संसोधित सन्धीले सम्बन्धको समकालीन स्वभाव झल्काउनुका साथै 21-औँ शताब्दीमा उनीहरूका भविष्यको आधारशिला पनि राखेको छ। यतिका वर्षहरूमा भारतका द्विपक्षीय राजनैतिक सम्बन्धहरू परिपक्व भएका छन् र यो तथ्य निकट, विश्वास एवम् समझदारी तथा भुटानको आर्थिक विकासमा विस्तारित सहयोगबाट थाहा पाउन सकिन्छ।

भारतले विशेषगरी जलविद्युत क्षेत्रमा भुटानलाई मद्दत गरेको छ जसले भुटानको विकासका लागि असल राजस्व सिर्जना गर्दछ।

भारतले 10 हजार मेगावाटभन्दा अधिक क्षमताको जलविद्युत बिजुली संयन्त्र सञ्चालन गरिरहेको छ। भुटानले उत्पादित बिजुली आफ्नो राष्ट्रिय आर्थिक कार्यक्रमका लागि प्रयोग गर्दछ तथा उब्रेको बिजुलीलाई भारतमा निर्यात गर्दछ जो भुटान सरकारका लागि राजस्वको विशाल स्रोत हो। यसबाहेक, भारतले भुटानलाई पूर्वाधार विकास र सामाजिक-आर्थिक महत्त्वका अन्य परियोजनाहरूमा सहयोग पुऱ्याइरहेको छ।

सबै अन्तर्राष्ट्रिय मञ्चहरूमा भुटानले भारतको समर्थन गर्दैआएको छ तथा भारतको विदेश नीतिमा भुटान ताकतको एउटा स्रोत हो। त्यसैले उच्च स्तरीय सम्पर्क एवम् सहयोग कायम राख्नु दुवै मुलुकहरूका लागि स्वभाविक नै हो। भुटान आठ राष्ट्रहरूको दक्षिण एसियाली क्षेत्रीय सहयोग संघको एउटा सक्रिय सदस्य पनि हो। क्षेत्रीय शान्ति एवम् विकासका लागि नयाँ दिल्ली र थिम्पुले एक-अर्काको सहयोग गरिरहेको छ।

भारत, भुटानको प्रमुख विकास साझेदार मात्र नभएर उसको मुख्य व्यापार साझेदार पनि हो। सन् 2005-मा दुवै मुलुकहरूले व्यापार एवम् वाणिज्यसम्बन्धी एउटा सम्झौता माथि हस्ताक्षर गरेका थिए जुन सम्झौतालाई सन् 2015-मा एक दशकका लागि विस्तार गरिएको छ। भुटानबाट भारतमा निर्यात गरिने प्रमुख सामग्रीहरूमा बिजुली र कृषि उत्पादहरू सामेल छन् भने भारतबाट भुटानमा निर्यात गरिने प्रमुख सामग्रीहरूमा पेट्रोलियम एवम् खनिज पदार्थहरू, मशिनेरी, अटोमोबाइल्स, प्रसंस्करित खाद्य वस्तुहरू तथा पशु उत्पादहरू सामेल छन्। व्यापार एवम् वाणिज्य माथिको सम्झौताले तेस्रो मुलुकहरूसित व्यापार गर्दा भुटानलाई व्यापार वस्तुहरूको भन्सार मुक्त पारवहन प्रदान गर्दछ।

भुटानसितका सम्बन्धको महत्त्वबारे विश्व समुदायलाई सन्देश दिनका लागि प्रधान मन्त्री नरेन्द्र मोदीले जून सन् 2014-मा आफ्नो पहिलो विदेश भ्रमणमा भुटानको भ्रमण गर्नुभएको थियो अनि केही महिना पश्चात् तत्कालीन राष्ट्रपति प्रणब मुखर्जीले भुटानको भ्रमण गर्नुभएको थियो। असल छिमेकी र मित्रताको भावमा भारत र भुटानले द्विपक्षीय संलग्नतालाई मजबुत पार्न जारी राख्ने छन्।