भारत-फ्रान्स बहु-आयामिक सम्बन्ध

आलेख: गौतम सेन, सामरिक विश्लेषक

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँको पहिलो भारत भ्रमणले विशेषगरी सामरिक स्तरमा भारत र फ्रान्सको द्विपक्षीय सम्बन्धमा महत्त्वपूर्ण वृद्धि गरेको छ। मानव विकासको अपार क्षमता रहेको तथा 2.45 खर्ब डलरको नोमिल जीडीपी रहेको विश्वको छैटौँ सर्वाधिक ठूलो अर्थव्यवस्था भारतलाई फ्रान्सले एक उदयीमान शक्तिको रूपमा हेर्दछ।

भारत र फ्रान्स बीच एक मैत्रीपूर्ण सम्बन्ध रहिआएको छ जसले उनीहरूका आपसी एवम् सामरिक हितहरूमा सकारात्मक प्रभाव पारेको छ। सन् 1974-मा भारतको पहिलो शान्तिमय परमाणु परीक्षण पोखरण-I जब गरियो त्यतिबेला फ्रान्सका तत्कालीन राष्ट्रपति भेलेरी गिस्कार्ड डी’एस्तैङ्गको सरकारले, परमाणु सशस्त्रीकरणको विकल्पलाई खुला राख्दै आफ्नो प्राविधिक कौशलको परीक्षण गर्ने भारतको निर्णयलाई व्यापक समर्थन गरेको थियो। सन् 1999-मा पोखरण-II पश्चात् फ्रान्स तथा पश्चिमी राष्ट्रहरू एवम् परमाणु हतियारसम्पन्न मुलुकहरूको समूहमा भारतको प्रवेशलाई विरोध गर्ने प्रमुख परमाणु शक्तिहरू बीच मतभेदहरू उत्पन्न भएको थियो। पोखरण-II पश्चात् फ्रान्सले भारत माथि प्रतिबन्ध लगाएन।

भारत-फ्रान्स सम्बन्धहरू व्यापक र विविध छन् जसमा भारतद्वारा फ्रान्सका अग्रिम हतियार प्रणालीको खरिददारी, सैन्य प्रविधि, उत्कृष्ट अभ्यासहरू एवम् आतङ्कवाद प्रतिरोधक कारबाहीमा अनुभवहरूको आदान-प्रदान, समुद्री डकैती नियन्त्रण तथा समान उद्देश्यहरूको ढांचाभित्र सैन्य गस्ती एवम् तैनाथी सामेल छन्। अन्तर्राष्ट्रिय व्यापारका लागि सामरिक समुद्री मार्गको सुचारु सञ्चालन कायम राख्ने तथा एसिया-प्रशान्त क्षेत्रका समुद्री तट अवस्थित मुलुकहरूमा सैन्य तैनाथी माथि निगरानी राख्ने जस्ता समान उद्देश्यहरू नयाँ दिल्ली र पेरिसले साझा गर्दछन्। दुइ मुलुकहरू बीच आर्थिक सम्बन्ध पनि सुदृढ रहेको छ। दीगो विकास, जलवायु परिवर्तन र राष्ट्र संघ सुधारहरू जस्ता वैश्विक महत्त्वका विषयहरूमा दुइ देशहरू बीच अनेकौँ सम्झौताहरू गरिएको छ।

राष्ट्रपति म्याक्रोँ तथा प्रधान मन्त्री मोदीले एसिया-प्रशान्त क्षेत्रमा अन्तर्राष्ट्रिय समुद्री व्यवस्थाको पालना र सुरक्षाका लागि आफ्ना समान उद्देश्यहरूको घोषणा गर्दै एक-अर्काका सैन्य सुविधाहरू तथा दक्षिण अफ्रीका र फ्रान्सको पूर्व उपनिवेश अफ्रीकाको साहेल क्षेत्रमा आतङ्कवाद सखाप पार्ने दृढ संकल्प साझा गरेर दुइ मुलुकहरूको सम्बन्धलाई एक उच्च सामरिक स्तरमा पुऱ्याउनुभएको छ।

36 राफेल लडाका विमानहरूको आपूर्ति तथा अफ्सेट प्रावधान अन्तर्गत नागपुरमा फ्रान्सको डसौल्ट एभिएशन एवम् भारतको रिलायन्स डिफेन्सद्वारा राफेलका कलपुर्जा र उप-प्रणालीहरूको निर्माणसम्बन्धी गरिएको सम्झौताको समीक्षा गरियो। साथै यस लडाका विमानहरूको खरिददारी विचाराधिन रहेको छ। लडाका जहाजहरूको निर्माण गर्ने ‘प्रोजेक्ट-75’ नामक परियोजना, पहिलो भारत-निर्मित ‘स्कोर्पिन’ पनडुब्बीलाई सेवामा ल्याउने, तथा फ्रान्सको एरोस्पेस एवम् रक्षा कम्पनी, एसएएफआरएएन (स्याफरन)-बाट रक्षा अनुसन्धान एवम् विकास संगठन (डिआरडीओ) द्वारा निर्मित भारतको स्वदेशी लडाका विमान तेजसका लागि वैकल्पिक लडाका विमान इञ्जिनको खरिददारी गर्ने विषयहरूबारे पनि कुराकानी गरियो।

दुइ मुलुकहरूले लगभग 10 अर्ब युरोको द्विपक्षीय व्यापार हासिल गर्ने अपेक्षा छ। सन् 2017-को जनवरीदेखि जुलाईसम्म कुल व्यापार 6.06 अर्ब युरो पुगेको थियो। सन् 2008-मा परमाणु आपूर्तिकर्त्ता समूह (एनएसजी)-द्वारा गैर-सैन्य प्रयोग निम्ति परमाणु ऊर्जा प्रणालीको अनियन्त्रित व्यापारलाई दिइएको छूट पश्चात् भारतमा फ्रान्सीसी आपूर्तिको भविष्य उज्जवल देखिएको छ। वर्तमान एवम् भविष्यका अवसरहरूको खोजी गर्न फ्रान्स इच्छुक छ भने अर्कोतिर भारतले आफ्नो परमाणु ऊर्जा-आधारित बिजुली उत्पादन क्षमता बढाउनेछ।

राष्ट्रपति म्याक्रोँअघिका राष्ट्रपति फ्रान्कोइस ओलान्द तथा भारतीय प्रधान मन्त्रीले 121 मुलुकहरूको एउटा सन्धि-आधारित समूह, अन्तर्राष्ट्रिय सौर गठबन्धन (आईएसए) स्थापित गरेर जलवायु परिवर्तन माथि एक महत्त्वपूर्ण पाइलो सार्नुभएको थियो। लगभग 30 मुलुकहरूले आईएसए-लाई मञ्जूरी दिएका छन्। ग्लोबल वार्मिङ्ग र ओजोन परतको क्षय कम गर्नका लागि वैकल्पिक बिजुली उत्पादन वातारणको दिशामा अगाडि बढ्ने विश्वका लागि यो एक विशाल अवसर हो। राष्ट्रपति म्याक्रोँ तथा प्रधान मन्त्री मोदीका साथ विश्वका एक दर्जनभन्दा बढी नेताहरूले आईएसए-को स्थापना सम्मेलनमा भाग लिनुभएको थियो। यसले आईएसए पहललाई बल प्रदान गरेको छ। सन् 2030 सम्ममा एक न्यायसंगत आधारमा 1 खर्ब डलरको लगानी मार्फत 1000 गिगावाट सौर बिजुली उत्पादन गर्ने आईएसए-द्वारा निर्धारित लक्ष्यतिर विश्व निर्णायक रूपमा कसरी बढ्नेछ भन्ने कुरा हेर्नुपर्नेछ। यो एक विशाल लक्ष्य भए तापनि यसलाई हासिल गर्नसकिन्छ। फ्रान्सीसी राष्ट्रपति र भारतीय प्रधान मन्त्रीले उत्तरप्रदेशको मिर्जापुरमा भारतको सर्वाधिक ठूलो सौर संयन्त्रको उद्घाटन गर्नुभयो। दुवै पक्षहरूले सबै मुलुकहरूलाई आतङ्कीका सुरक्षित अड्डाहरू एवम् पूर्वाधारलाई जरोबाटै उखेल्ने तथा आतङ्की सञ्जाल र उनीहरूलाई वित्त पोषण गर्ने मार्गहरू भंग गर्ने अनि सीमा वारि-पारि आतङ्की गतिविधि रोक्ने दिशामा कार्य गर्नका लागि आह्वान गरेका छन्। भारतीय तथा फ्रान्सीसी आतङ्कवाद प्रतिरोधक एजेन्सीहरू बीच परिचालन सहयोग बढाउन तथा विशेषगरी अनलाईन, कट्टरपन्थी विरुद्ध लड्न र रोक्नका लागि नयाँ प्रयासहरू सुरु गर्न श्री म्याक्रोँ तथा श्री मोदी सहमत हुनुभएको छ। राष्ट्र संघ सुरक्षा परिषदको स्थायी सदस्यता निम्ति भारतको उम्मेदवारी माथि रहेको आफ्नो समर्थनको पुनर्पुष्टि फ्रान्सले गरेको छ। विनाशकारी हतियारहरूको अप्रसारसम्बन्धी क्षेत्रमा फ्रान्स तथा भारतले समान चिन्ताहरू एवम् उद्देश्यहरू साझा गर्दछ। फ्रान्सका राष्ट्रपतिको भारत भ्रमणले नयाँ दिल्ली र पेरिस बीचको सामरिक साझेदारीलाई नयाँ गति प्रदान गर्ने आशा छ।