आईआर एन एस एस वॉन आई-को सफल प्रक्षेपण

आई आर एन एस-वॉन आई-को सफल प्रक्षेपणको साथै स्वदेशी नेभिगेशन उपग्रह प्रणाली, एनएभी आई सी अर्थात् ‘भारतमा मार्गदर्शन प्रणाली’ हासिल गर्ने भारतको लामो समयदेखिको सपना साकार भएको छ। यो नेभिगेशन उपग्रहलाई भारतको दक्षिणेली तटमा स्थित आन्ध्र प्रदेश राज्यको श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट ध्रुवीय उपग्रह प्रक्षेण वाहन, पी एस एल भी-सी 41-द्वारा प्रक्षेपित गरियो।

पी एस एल भी रकेटले उपग्रहलाई प्रक्षेपणको केवल 19 मिनट पश्चात् निर्धारित भूस्थिर ग्रह पथमा स्थापित गऱ्यो।

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन, इसरो-का अध्यक्ष के शिवनले अभियानमा संलग्न वैज्ञानिक तथा इन्जिनियरहरूलाई बधाइ दिनुभयो। उहाँले भन्नुभयो, “आई आर एन एस एस-वॉन आई अभियानलाई सफल बनाउनको लागि कडा मेहनत गरेकोमा म इसरोका सम्पूर्ण परिवारलाई कृतज्ञता प्रकट गर्छु।”

आई आर एन एस एस-वॉन आई-ले आई आर एन एस एस-वॉन ए -को स्थान लिनेछ, जसले जनवरी 2017-देखि काम गर्न छोडेको थियो। वास्तवमा यसका तीन रूबिडियम परमाणवीक घडीहरू बिग्रिएपछि यसले काम गर्ने छोडेको हो अनि समूहका सात नेभिगेशन उपग्रहहरूमध्ये यो प्रथम हो। यी सात उपग्रहहरू एन ए भी आई सी अर्थात् भारतमा मार्गदर्शन प्रणालीका हिस्साहरू हुन्। आई आर एन एस एस-वॉन आई यस समूहको अन्तिम उपग्रह हो।

जुलाई, सन् 2013-देखि अप्रेल, सन् 2016-को अवधिमा इसरोले सात नेभिगेशन वा भनौँ, मार्गदर्शक उपग्रहहरू, आई आर एन एस एस वॉन ए-देखि वॉन जीसम्म प्रक्षेपित गरेको थियो अनि आई आर एन एस एस-वॉन आई र आई आर एन एस एस-वॉन एच-लाई ब्याकअपको रूपमा राखिएको थियो। आई एन आर एस एस-वॉन ए-मा जडान गरिएका सबै तीन रूबिडियम परमाणु घडीहरू बिग्रिएपछि यो पाइलो सारिएको हो। यी घडीहरू आयात गरिएका थिए। 24 घण्टा सही-सही सूचना हासिल गर्नको लागि यी सबै सात उपग्रहहरूले काम गर्नु आवश्यक छ।

आई आर एन एस एस-वॉन आई र आई आर एन एस एस-वॉन एच-मा सही परमाणु घडीहरूलाई जडान गरिएको छ। यी घडीहरू भारतका छः कम्पनीहरूले मिलेर बनाएका हुन् अनि बेङ्गलुरूमा यी घडीहरूको जोड-जाड र जाँच-परीक्षण गरिएको हो।

आई आर एन एस एस-वॉन आई-को प्रक्षेपण जीस्याट-6ए नामक सञ्चार उपग्रह छोडिएको दुइ साता पश्चात् गरिएको हो। 29 मार्चमा प्रक्षेपित गरिएको त्यो जीस्याट-6ए-को भूमिसित सम्पर्क टुटेर गएको छ अनि इसरो-ले त्यसको पत्तो लगाइसकेको छ रअहिले त्योसित सम्पर्क गर्ने प्रयास गरिरहेको छ।

उपग्रहहरूको यो समूहलाई भारतको आफ्नो ग्लोबल पोजिशनिङ्ग सिस्टम, जी पी एस अर्थात् पृथ्वीमा कुनै वस्तु, स्थान आदिलाई सही-सही खुट्ट्याउने प्रणाली भनिन्छ। यो प्रणाली मार्फत स्थिति, वस्तु वा मानिस आदिको सही जानकारी हासिल गर्न सकिन्छ साथै मार्गदर्शन प्राप्त गर्न सकिन्छ।

डक्टर शिवनले भन्नुभयो, भारतमा नेभिगेशन निम्ति प्रक्षेपित यी उपग्रहहरूले एक इतिहास रच्नेछन् तथा यी उपग्रहहरूले विशेष गरी, पर्याप्त सेवा पाउन नसकेका वा सेवा नपाएका मानिसहरूको सम्पूर्ण समूहलाई स्थान र स्थिति आधारित सेवाहरू पुऱ्याउनका लागि नवोमेष तरिकाहरू अपनाउने छन्।

यी नेभिगेशन अर्थात् मार्गदर्शन उपग्रहहरूले सीमित रूपमा सैनिक वा सुरक्षासम्बन्धी कार्यहरूमा मद्दत पुऱ्याउने छन् अनि गैर-सैनिक कार्यहरू अन्तर्गत सुरक्षा एवम् सङ्कट प्रबन्धनमा सहायता पुऱ्याउनका साथ जल, थल र नभमा मार्गदर्शन गर्नेछन्।

आई आर एन एस एस-वॉन आई-ले समयको अति नै सही सङ्केतहरू प्रसारित गर्नेछ जसलाई प्राप्त गरेर स्थितिको पत्तो लगाउन सकिन्छ। उपग्रहहरूको यो समूहले भारत र वरिपरिका क्षेत्रहरूबारे स्थितिमूलक जानकारी प्रदान गर्नेछ जसलाई प्राप्त गरेर स्थिति एवम् समयको सही निर्धारण गर्न सकिन्छ।

आई आर एन एस एस-वॉन आई-ले एक महिना भित्रमा यसको लागि निर्धारित सबै कामहरू शुरू गर्ने अपेक्षा छ। यसभन्दा पहिले उपग्रहलाईग्रहपथमा सही-सही स्थापित गरिनेछ र यसका जाँचहरू गरिनेछन्। अन्तरिक्षमा दश वर्षसम्म कार्य गर्नको लागि यसको निर्माण गरिएको छ।

यो प्रक्षेपणलाई भारतका अन्तरिक्ष वैज्ञानिकहरूको 17 वर्षको कडा मेहनतको फल मान्न सकिन्छ। यसमाआई आर एन एस एस उपग्रहहरूको पहिलेका प्रक्षेपणहरूमा झैं, पी एस एल भी-सी 41-ले पी एस एल भी-को ‘एक्स एल’ संस्करणको उपयोग गऱ्यो जसमा छः स्ट्रयाप-अन-हरू जडान गरिएका थिए अनि हरेक स्ट्रयाप-अन-ले 12 टन प्रोपेलेन्ट अर्थात् प्रणोदक बोकेको थियो।

इसरोले फ्रिक्शन स्टिर वेल्डिङ्ग नामक एक नयाँ प्रविधि अपनायो, जसले वाहनको उत्पादकतामा सुधार गर्छ साथै क्षमता पनि वृद्धि गर्छ। यसपल्ट, अभियानमा उद्योग जगतको सहभागितामा पनि वृद्धि भयो।

वर्तमानमा इसरोले अत्याधुनिक नेभिगेशन उपग्रहहरूमाथि कार्य गरिरहेको छ, जसमा आई आर एन एस एस कार्यक्रमका दुइ चरणहरूलाई सामेल गरिनेछन्। नेभिगेशन उपग्रहहरूमा आयात गरिएका घडीहरूको सट्टा अहमदाबादको स्पेस एप्लिकेशन्स सेन्टर अर्थात् अन्तरिक्ष सामग्री केन्द्रद्वारा विकसित रूबिडियम परमाणु घडीहरू जडान गरिनेछन्।

इसरोको लागि आगामी आठ महिनाको समय चुनौतीपूर्ण रहनेछ। निकट भविष्यमा इसरोका नौ अन्तरिक्ष अभियानहरू, चन्द्रयान-2 अभियान र यसै वर्षको अन्तसम्ममा चन्द्रमामा रोभर अभियान जस्ता कार्यक्रमहरू छन्।

अर्को महत्त्वपूर्ण परियोजना हो, जी एस एल भी-एम के-III-को प्रक्षेपण जसले गह्रौं सामानहरू बोक्न सक्छ। यसले तीन टनभन्दा अधिक तौल भएको जीस्याट-29 सञ्चार उपग्रहलाई अन्तरिक्षमा प्रक्षेपित गर्नेछ। यस अभियानको सफलताले एम के III रकेटको क्षमतामा सुधार गरी इसरोलाई उसको चार टन तौल भएको सञ्चार उपग्रह प्रक्षेपित गर्नमा सक्षम बनाउनेछ। यी सबले गर्दा अब निकट भविष्यमा ठूलो उपग्रहहरूको प्रक्षेपण निम्ति भारतले विदेशी प्रक्षेपकहरूको उपयोग गर्नुपर्ने छैन। यसबाहेक, इसरोले 5.7 टन तौल भएको ब्रडब्याण्ड उपग्रहको निर्माण गरिरहेको छ, जसलाई एक यूरोपेली रकेटद्वारा प्रक्षेपित गरिनेछ। इसरोका कैयौं पी एस एल भी अभियानहरू पनि छन् जस अन्तर्गत पृथ्वीको पर्यवेक्षण गर्ने उपग्रह प्रक्षेपित गरिनेछन्।

अन्तरिक्ष प्रविधि नै वैश्विक प्रतिस्पर्धाको आगामी चरण हुने सम्भावना छ। यसो हुँदा, यस क्षेत्रमा भारतको क्षमता एवम् विशेषज्ञतामा वृद्धिले देशलाई विकासतर्फको दौडमा ठूलो सहयोग पुऱ्याउनेछ। यो देशको लागि अतिरिक्त लाभ सिद्ध हुनेछ।

आलेखः के भी भेङ्कटसुब्रमनियन, विज्ञान पत्रकार