नेपालमा ‘विनाशकारी भूकम्प 2015’-को तेस्रो वार्षिकी

नेपालमा आज ‘विनाशकारी भूकम्प 2015’-को तेस्रो वार्षिकीको दिनमा विभिन्न कार्यक्रमहरूको आयोजना भइरहेको छ। यस विनाशकारी भूकम्पमा ज्यान गुमाएका मानिसहरूलाई श्रद्धाञ्जली अर्पण गर्नका लागि नेपालका विभिन्न भागहरूमा कैयौं कार्यक्रमहरूको आयोजना गरिएको छ। आज बिहान काठमाडौँस्थित प्रसिद्ध धरहरामा प्रार्थना सभाको आयोजना गरिएको थियो।

प्रधान मन्त्री के.पी. शर्मा ओली लगायत सयौँको संख्यामा मानिसहरूले विश्व विरासत स्थलहरूको भ्रमण गरेका छन् साथै गोरखा भूकम्पमा ज्यान गुमाएका मानिसहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।

राष्ट्रपति विद्या देवी भण्डारीले भूकम्पद्वारा उत्पन्न त्रास, मानवीय हताहत र भौतिक पूर्वाधारमा भएको क्षतिले अहिले पनि आफूलाई दुःखी तुल्याएको बताउनुभयो। एउटा ट्वीटमा उहाँले पुनःनिर्माणको तत्काल आवश्यकतामाथि सम्बन्धित अधिकारीहरूको ध्यानाकर्षण समेत गर्नुभयो। राष्ट्रपति भण्डारीले यस विपतमा आफ्नो अमूल्य जीवन गुमाएका मानिसहरूप्रति ह्रदयदेखि संवेदना प्रकट गर्नुभयो।

25 अप्रिल 2015-मा गोरखाको बारपाकलाई केन्द्र बनाएर गएको 7.6 म्याग्निट्युटको विनाशकारी भूकम्प र त्यसपछिका सयौँ पराकम्पनहरूका कारण लगभग 9 हजार मानिसहरूले ज्यान गुमाएका थिए भने 21 हजारभन्दा अधिक मानिसहरू घाइते भएका थिए।

यस महाभूकम्पबाट 8 लाखभन्दा बढी मानिसहरू प्रभावित भएका थिए भने हजारौँको संख्यामा नेपालीहरू घरबारविहीन भएका थिए।

यस विनाशकारी महाभूकम्पले काठमाण्डौँ उपत्यकामा यूनेस्को-को विश्व विरासत स्थलहरूमा शताब्दिऔँ पुराना भवनहरूलाई पनि नष्ट गरेको थियो।