स्मृति ईरानीको स्थानमा अब राज्यवर्धन राठौर सूचना एवम् प्रसारण मन्त्री

 केन्द्रीय मन्त्रीमण्डलमा फेरबदल भएको छ। प्रधान मन्त्री नरेन्द्र मोदीले  स्मृति ईरानीको स्थानमा अब राज्यवर्धन राठौरलाई सूचना एवम् प्रसारण मन्त्रालय सुम्पिनुभएको छ। श्री राठौरलाई मन्त्रालयको स्वतन्त्र प्रभार दिइएको छ।

यसभन्दा पहिले श्री राठौर सूचना एवम् प्रसारण मन्त्रालयमा राज्यमन्त्री हुनुहुन्थ्यो। श्रीमती ईरानी अब मात्र कपडा मन्त्री रहनुहुनेछ।

एक विज्ञप्तिमा राष्ट्रपति रामनाथ कोविन्दले भन्नुभयो, रेल मन्त्री पीयूष गोयललाई वित्त मन्त्रालय र कम्पनी मामिला मन्त्रालयको अतिरिक्त पदभार सुम्पिइएको छ। श्री अरुण जेटली मिर्गौलाको शल्यक्रियापछि पूर्ण रूपले स्वस्थ नहुञ्जेलसम्म श्री गोयलले अतिरिक्त पदभार सम्हाल्नुहुनेछ।

एस एस अहलुवालियालाई खानेपानी एवम् स्वच्छता राज्य मन्त्रीको प्रभारबाट हटाएर इलेक्ट्रोनिक्स एवम् सूचना प्रौद्योगिकी राज्यमन्त्री बनाइएको छ। अल्फोन्स कन्नमथानमलाई इलेक्ट्रोनिक्स एवम् सूचना प्रौद्योगिकी राज्यमन्त्रीको प्रभारबाट मुक्त गरिएको छ।