राष्ट्रपति राम नाथ कोविन्दद्वारा मुम्बईको बार्कमा डीएई-माथि आयोजित प्रदर्शनीको भ्रमण

राष्ट्रपति राम नाथ कोविन्दले मंगलबार मुम्बईको ट्रोम्बे स्थित भाभा परमाणु अनुसन्धान केन्द्र (बार्क)-मा डिपार्टमेन्ट अफ एटोमिक एनर्जी (डीएई) प्रविधिमाथि आयोजित प्रदर्शनीको भ्रमण गर्नुभयो।

उहाँले मेटल फ्युअल पिन फ्याब्रिकेशन फैसिलिटि, आईजीसीएआर, कलपक्कम तथा राष्ट्रभरका 504 रेडिएशन केन्द्रहरूको विशाल सञ्जालबाट रेडियोलजिकल डेटामाथि निगरानी राख्ने एउटा सुविधा एकीकृत संकट प्रबन्धन केन्द्र लगायत कैयौँ डीएई सुविधाहरू राष्ट्रलाई समर्पित गर्नुभयो।

राष्ट्रपतिले बार्कद्वारा क्यानसर रोगीहरूको उपचारका लागि विकसित मल्टि-लिफ कोलिमेटोर प्रणाली पनि राष्ट्रलाई समर्पित गर्नुभयो।  मल्टि-लिफ कोलिमेटोर प्रणाली अनियमित आकारका ट्यूमरहरूमाथि मात्र रेडिएशन खुराक प्रदान गर्न सक्षम रहेको छ।

डीएई-का अध्यक्ष शेखर बसुले राष्ट्रपतिलाई बार्कद्वारा विकसित चामलको उच-उपज बौना प्रकारको ट्रोम्बे छत्तिसगढ डुबराज म्युटेन्ट राइस (टीसीडीएम-1) प्रदान गर्नुभयो।

यस अवसरमा बोल्दै राष्ट्रपतिले ऊर्जा, कृषि, औषधी तथा अपशिष्ट प्रबन्धनदेखि लिएर विविध क्षेत्रहरूमा परमाणु प्रविधिको प्रयोग गर्ने शीर्ष राष्ट्रहरूमा भारत आउँदछ भनी बताउनुभयो।

यस क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने यात्रा बार्कमा लगभग छ: दशकअघि आरम्भ भएको थियो। त्यसबेलादेखिको डीएई बढेर अब एक बहु-विषयक संगठन बनेको छ र यसका सुविधाहरू मुलुकभरी नै फैलिएका छन्।

स्वास्थ्यसेवा, खाद्य एवम् कृषि, जल संसाधन प्रबन्धन तथा पर्यावरण संरक्षणको क्षेत्रमा परमाणु प्रविधिको प्रयोग गर्ने दिशामा भारतीय परमाणु वैज्ञानिकहरूले हासिल गरेका उपलब्धिहरूको सरहाना गर्दै राष्ट्रपतिले भन्नुभयो, यी उपलब्धिहरू प्रशंसनीय छन्। उहाँले भन्नुभयो, हाम्रो राष्ट्रिय विकास प्रक्रियामा डीएई-को महत्त्वपूर्ण भूमिका रहेको छ। समारोहमा महाराष्ट्रका गभर्नर विद्यासागर राव, महाराष्ट्रका शिक्षा मन्त्री विनोद तावडे तथा अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित हुनुहुन्थ्यो।