नवाज शरीफद्वारा पाकिस्तान लाजमर्दो स्थितिमा

आलेख: कौशिक रॉय, समाचार विश्लेषक, एआईआर

पाकिस्तानका पूर्व प्रधान मन्त्री नवाज शरीफले स्वयंलाई र आफ्नो मुलुकको प्रतिष्ठानलाई  सकसमा पार्नुभएको छ। पाकिस्तानको सर्वोच्च अदालतले “पनामा गेट” घोटालामा प्रधान मन्त्रीको रूपमा उहाँलाई अयोग्य घोषित गरेपछि उहाँ आफ्नो राजनीतिक अस्तित्वका लागि संघर्षरत हुनुहुन्छ। पाकिस्तानको सर्वोच्च अदालतले उहाँको पार्टी पाकिस्तान मुस्लिम लीग-नवाज(पीएमएल-एन)-को अध्यक्ष पदका लागि पनि उहाँलाई अयोग्य घोषित गरिदिएको छ। अहिले उहाँको पार्टी सत्तामा छ र आगामी दुइ महिनामा चुनाउ हुनेछ।

मुम्बई आतङ्की हमलाको मुख्य आरोपी हाफिज सईदको जमात-उद-दावा र मौलाना मसूद अजहरको जैश-ए-मोहम्मद आतङ्की संगठनहरूको नाम नलिईकन श्री शरीफले एक साक्षात्कारमा भन्नुभयो, पाकिस्तानमा आतङ्की संगठनहरू सक्रिय छन्। उहाँले प्रश्न गर्नुभयो उहाँकै शब्दहरूमा “ तिनीहरूलाई देशद्रोही भन्नुपर्छ। के हामीले तिनीहरूलाई सीमा पार गरी मुम्बईमा 150 भन्दा धेरै मानिसहरूलाई मार्ने अनुमति दिन सक्छौ?” यो कुरा मलाई बताउनुपर्छ। हामीले यस मामिलाको सुनुवाई किन पूरा गर्न सक्दैनौँ?

निसन्देह श्री शरीफले साँचो कुरा भन्नुभयो। यो सर्वविधित नै छ कि 26 नोभेम्बर 2008-मा मुम्बईमा भएको कायरतापूर्ण हमलामा पाकिस्तानी आतङ्कीहरूको हात थियो जुन हमलामा 165 भन्दा धेरै भारतीय र विदेशी नागरिकहरू मारिएका थिए। मुम्बई हमलाको लगत्तै पाकिस्तानका तत्कालिन राष्ट्रपति आफ्नो गुप्तचर संस्था, आईएसआई-को प्रमुखलाई घटनाको संयुक्त जाँचका लागि भारत पठाउन सहमत हुनुभएको थियो तर उहाँको यो प्रस्तावलाई पाकिस्तानका तत्कालिन सेना प्रमुखले खारेज गरेका थिए।

भारतीय सुरक्षा बलले पाकिस्तानका एक मात्र जीवित आतङ्की अमिर अजमल कसाबलाई पक्राउ गरेको थियो। कसाबले पाकिस्तानी प्रतिष्ठानद्वारा प्रशिक्षण दिइएको कुरा स्वीकार गरेको थियो साथै हमलामा शामेल पाकिस्तानी सैन्य अधिकारीहरूको नामको खुलासा गरेको थियो। तर सह-अभियुक्त जकीउर्रहमान लकवी र प्रमुख षडयन्त्रकारी हाफिज सईदलाई गिरफ्तार गरिएपछि पाकिस्तानले कानूनको आँखामा धुलो हाल्न सबै सम्भव प्रयास गऱ्यो। मुम्बई हमलामा आतङ्कीहरू भूमिका र अपराधका लागि भारतले पाकिस्तानलाई धेरै दस्तावेजहरू उपलब्ध गरायो तर पाकिस्तानले सदैव प्रमाणहरू पर्याप्त नरहेको बताउँदै आएको छ।

लखवी र सईदलाई वर्षौदेखि संरक्षण दिँदै आएको पाकिस्तानी प्रतिष्ठान विशेषगरी सेनाले श्री शरीफले दिनुभएको खुल्ला स्वीकारोक्तिले गर्दा ग्लानीको सामना गर्नुपरिरहेको छ। तर विश्लेषकहरूले श्री शरीफको बयानमाथि प्रश्न उठाइरहेका छन्। यी सबैको अतिरिक्त 2017-को मध्यसम्म उहाँ सत्तामा हुनुहुन्थ्यो र त्यतिबेलादेखि नै घातक हमलाहरूमा उहाँको मुलुक सम्बद्ध रहेको कुराको उहाँलाई जानकारी थियो र उहाँले ती तत्त्वहरू विरूद्ध कडा कार्रवाई गर्नुपर्नेथियो। यहाँ यो उल्लेख गर्नु उचित हुनेछ कि श्री शरीफको शासनकालको भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीले लाहौरको ऐतिहासिक भ्रमण गर्नुभएको केही दिनपछि पठानकोट सैन्य अड्डामा हमला भएको थियो। 1999-मा श्री शरीफको पहिलेको शासनकालको बेला कारगिल युद्ध भएको थियो।

भारत र अन्तर्राष्ट्रिय समुदायलाई पाकिस्तानले आतङ्कीहरू विरूद्ध कार्रवाई गर्ने विषयलाई गम्भीरताका साथ नलिएको कुरा राम्ररी थाहा छ। तर अहिले पाकिस्तानका पूर्व प्रधान मन्त्रीले आफ्नो मुलुकले आतङ्कवादको उपयोग विदेश नीति उपकरणको रूपमा गरेको कुरालाई समर्थन दिनुभयो। आतङ्कवादको मामिलामा पाकिस्तानको दोहोरो दृष्टिकोण सबैलाई थाहा छ।

पाकिस्तानमा चुनाउको मौसम नजिकिदैछ र श्री शरीफ, उहाँका छोरा र छोरीले भ्रष्टचार र अन्य आरोपहरूमा पाकिस्तानी सर्वोच्च अदालतको सामना गरिरहेका छन्। मुम्बई हमलामा पाकिस्तान सम्बद्ध रहेको स्वीकार गर्नु सहानुभूति र समर्थन प्राप्त गर्ने श्री शरीफको चाल हुन सक्छ। तर उहाँको बयानले उहाँलाई निकै संकटमा पारेको छ। पीएमएलएन र पाकिस्तानी सेना दुवैले श्री शरीफको बयानको निन्दा गरेका छन्।

पीएमएल-एन-ले भनेको छ, श्री शरीफको बयानलाई भारतीय मीडियाले पूर्ण रूपले गलत व्याख्या गरेको छ। दुर्भाग्यवश पाकिस्तानी इलेक्ट्रनिक र सोशल मीडियाको एक वर्गले जानीबुझीकन वा अन्जानमा बयानको पूर्ण तथ्य बिना नै भारतीय मीडियाको दुष्प्रचारलाई वैध ठहर गर्नुका साथै विश्वास पनि गरेको छ। पाकिस्तानको महत्त्वपूर्ण राष्ट्रिय सुरक्षा र विदेश नीति सम्बन्धी निर्णयहरू लिनमा कार्यरत शीर्ष नागरिक-सैन्य निकाय राष्ट्रिय सुरक्षा समितिले पाकिस्तानी आतङ्कीहरूले 26/11-मा मुम्बईमा हमला गरेको थियो भन्ने श्री शरीफको बयानलाई आधारहीन बताएको छ।

तथापि श्री शरीफले एक सार्वजनिक बैठकमा भन्नुभएको थियो, पाकिस्तानले मुलुकको वर्तमान स्थिति र आतङ्कवादका लागि को जिम्मेवार छ त्यसबारे थाहा पाउनुपर्छ। उहाँले प्रश्न गर्नुभयो, कसको कारणले पाकिस्तान अलग  भएको छ र कसले पाकिस्तानलाई यो स्थितिमा पारिदियो जहाँ अन्तर्राष्ट्रिय समुदाय पाकिस्तानको कुरा स्वीकार गर्न तयार छैन। निसन्देह यी यस्ता प्रश्नहरू हुन् जसको उत्तर पाकिस्तानले खोज्नुपर्ने खाँचो छ।

श्री शरीफको बयानले यो सिद्ध गरिदिएको छ कि हालसम्म भारतले सही भन्दै आएको छ र अब पाकिस्तानले मुम्बई हमलाका आरोपी आतङ्कीहरूलाई पक्राउ गरी तिनिहरूलाई सजाय दिनुपर्छ।