भारत-उत्तर कोरिया सम्बन्धमा बढुवा

आलेख: स्कन्द तायल, भारतका पूर्व राजदूत एवम् कोरिया मामिलाका सामरिक विश्लेषक

 भारतका परराष्ट्र मामिला राज्य मन्त्री जनरल वी के सिंहले कोरिया लोकतान्त्रिक जनवादी गणराज्य अर्थात् उत्तर कोरियाको आधिकारिक भ्रमण गर्नुभएको छ। दुइ दशकको लामो अन्तरालपछि उत्तर कोरियाको यो मन्त्रीस्तरीय यात्रा थियो। यसभन्दा पहिले 1998-मा एक फिल्म महोत्सवमा भाग लिन सूचना एवम् प्रसारण राज्य मन्त्रीले उत्तर कोरियाको भ्रमण गर्नुभएको थियो। अप्रिल 2015-मा उत्तर कोरियाका विदेश मन्त्री भारत भ्रमणमा आउनुभएको थियो र परराष्ट्र मामिलामन्त्री सुषमा स्वराजसित भेट गर्नुभएको थियो।

जनरल सिंहलाई प्योङ्गयांगमा न्यानो स्वागत गरियो र उहाँले उत्तर कोरियाको सर्वोच्च अध्यक्ष सभाका उपसभापति किम याङ्ग डाई, विदेश मन्त्री री याङ्ग हो, संस्कृति मन्त्री पाक चुन नाम र उप विदेश मन्त्री चो हुईसित उच्च स्तरीय बैठकहरू गर्नुभयो।

यस अवधिमा दुइ पक्षले दुवै मुलुकहरूबीच राजनीतिक, क्षेत्रीय, आर्थिक, शैक्षिक र सांस्कृतिक सहयोगसित सम्बन्धित मुद्दाहरूबारे छलफल गरे। व्यवसायिक शिक्षा, कृषि, औषधी र योगलाई प्रोस्ताहित गर्नु जस्ता विषयहरूमा भविष्यमा सहयोग बिस्तार गर्ने निर्णय गरिएको छ।

पारस्परिक रूपले भारतले उत्तर कोरियाका साथ राम्रो सम्बन्ध कायम गर्दै आएको छ र दुइ मुलुकहरू गुटनिरपेक्ष आन्दोलनका  सक्रिय सदस्यहरू हुन्। भारतले उत्तर र दक्षिण कोरियालाई राजनीतिक रूपमा समान महत्त्व दिएको छ र 1962-मा कुटनयिक सम्बन्ध स्थापित गरेको थियो । 1972-मा दुवै कोरियाली मुलुकहरूका साथ पूर्ण कुटनीतिक सम्बन्ध स्थापित भएको थियो। भारत सदैव कोरियाली प्रायद्वीपको शान्तिपूर्ण पुनः एकीकरणको पक्षमा रहिआएको छ। 1950-53-मा अन्तर-कोरियाली युद्धमा भारतले एक तटस्थ मुलुकको रूपमा भूमिका निर्वाह गर्ने प्रयास गरेको थियो जसको वैश्विक स्तरमा धेरै सराहना भएको थियो।

1990-को दशकमा उत्तर कोरियाले पाकिस्तानलाई मिसाइल प्रौद्योगिकी हस्तान्तरण गरेपछि भारत र उत्तर कोरियाबीच सम्बन्ध चिसिएको थियो। डा. ए क्यू खानको नेतृत्वमा पाकिस्तानको परमाणु प्रतिष्ठानले उत्तर कोरियालाई यूरेनियम सम्बर्धन प्रौद्योगिकीको बदलीमा मिसाइल प्रौद्योगिकी हस्तान्तरण गरेको थियो।

जनरल सिंहले विशेषगरी पाकिस्तानका साथ प्रसार सम्बन्धहरूको परिप्रेक्ष्यमा परमाणु प्रसारको खतराबारे जोड दिनुभयो। उत्तर कोरियाले एक मित्र मुलुकको रूपमा भारतको सुरक्षाका लागि चिन्ता उत्पन्न गर्ने कुनै पनि कार्रवाईलाई अनुमति नदिइने कुरामाथि जोड दिएको छ। भारत र उत्तर कोरियाबीच भविष्यमा मैत्रीपूर्ण सहयोग विस्तार गर्ने दिशामा यसप्रकारको आश्वासन धेरै महत्त्व छ।

भारतले समय-समयमा उत्तर कोरियालाई मानवीय सहयोग प्रदान गर्दै आएको छ जसले अनिकाल र प्राकृतिक आपदाहरूको बेला खाध्यान्न संकटको सामना गरेको छ। भारतले कम्बल, चामल, गहूँ, शिशु भोजन आदि सहायता सामग्री प्रदान गरेको थियो। 2011-मा भारतले विश्व खाद्य कार्यक्रम अन्तर्गत उत्तर कोरियालाई 10 लाख अमेरिकी डलर बराबरको चामल प्रदान गरेको थियो। यस मानवीय सहायताका लागि प्योङ्गयांगले नयाँ दिल्लीप्रति कृतज्ञता व्यक्त गरेको थियो।

चीन पछि भारत उत्तर कोरियाको दोस्रो सबैभन्दा ठूलो व्यापारिक सहयोगी हो। 2016-17-मा भारत र उत्तर कोरियाबीचको व्यापार 2014-15-मा 20 लाख 90 हजार डलरको तुलनामा 13 करोड अमेरिकी डलरको थियो। उत्तर कोरियासित सीमित विदेशी मुद्रा, सीधा जलमार्ग साथै स्थापित बैंकिङ्ग र बीमा प्रणाली मार्फत सुरक्षित भुक्तानीको उपलब्धता नभएकोले द्विपक्षीय व्यापार बढेको छैन। उत्तर कोरियाद्वारा पटक-पटक परमाणु र मिसाइल परीक्षणका कारणले राष्ट्र संघद्वारा प्रतिबन्ध लगाइएकोले विदेशी व्यापारको सम्भावनामाथि थप प्रतिबन्ध लगाइएको छ।

तथापि, अमेरिका र उत्तर कोरियाबीचको सम्बन्धमा सुधारले आगामी महिनाहरूमा उत्तर कोरिया विरूद्ध आर्थिक प्रतिबन्ध खुकुलो भएमा छाला, साइकिल, लुगा र भाडाकुँडा जस्ता भारतीय उत्पादहरूको लागि राम्रो बजार उपलब्ध हुनेछ।
उत्तर कोरियाका साथ 1976-मा भएको सांस्कृतिक सम्झौता अन्तर्गत भारतीय संस्कृति परिषदले नियमित रूपमा उत्तर कोरियामा सांस्कृतिक टोलीहरू पठाउने गर्छ। भारतले पनि द्विवार्षिक प्योङ्गयांग अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा भाग लिने गर्दछ। उत्तर कोरियालीहरूले बाङ्गला, मराठी र मलयालम लगायत बलीवुड फिल्महरू मन पराउँछन्।

भारतले आफ्नो प्रविधि एवम् आर्थिक सहयोग कार्यक्रम अन्तर्गत उत्तर कोरियालाई वार्षिक 15 छात्रवृति प्रदान गर्दछ। यो सुविधाको भरपूर प्रयोग गरिन्छ र यसले उत्तर कोरियाका मानिसहरूबीच भारतको राम्रो छवि बनाएको छ।

वर्तमानमा कोरियाली प्रायद्वीपमा परिवर्तनको लहर चलिरहेको छ। उत्तर र दक्षिण कोरियाबीच गत महिना एक ऐतिहासिक द्विपक्षीय शिखर वार्ता भएपछि शान्ति र सहयोगका लागि एक राम्रो समझदारी भएको छ। अब अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ्ग उनबीच 12 जूनमा हुने निर्धारित शिखर बैठकको परिणामको पूरा विश्वले प्रतीक्षा गरिरहेको छ। उत्तर कोरिया एकलो भएको अवस्था अब समाप्त हुने स्थितिमा छ र भारत उत्तर कोरियाका साथ गहिरो राजनीतिक, सामरिक तथा आर्थिक सम्बन्ध बनाउनका लागि हात बढाउन तयार छ। उत्तर कोरिया र यस सम्पूर्ण क्षेत्रका साथ सम्बन्धहरूलाई एक नयाँ ऊर्जा दिने दिशामा जनरल सिंहको यो यात्रा सही समयमा भएको छ।