केरलामा भारी वर्षात र पहिरोमा ज्यान गुमाउनेहरूको संख्या 22-मा

केरलामा भारी वर्षात र पहिरोले गर्दा मारिनेहरूको संख्या 22-मा पुगेको छ।

अविराम वर्षाले गर्दा राज्यभरमा ठूलो क्षयक्षती हुन गएको छ। यसबाट उत्तरी जिल्लाहरू सबैभन्दा बढी प्रभावित भएका छन्। पानीको स्तर वृद्धि भएर विभिन्न बाँधहरूमा चरम सीमामा पुगे पछि अतिरिक्त पानीको निकासी निम्ति जलाशयहरूका द्वारहरू खोलिएका छन्।

राष्ट्रिय आपदा प्रत्युत्तर बल र सेनाका दुइ दलहरू राहत कार्यमा खटेका छन्। राष्ट्रिय आपदा प्रत्युत्तर बल (एन डी आर एफ)-का दुइ र सेना इन्जिनियरिङ्ग ग्रूपका दुइ दलहरू पनि बैङ्गलुरूबाट कोझिकोड जिल्ला पुगिसकेका छन्।

आपदा नियन्त्रण कक्षका श्रोतहरू अनुसार मारिनेहरूमा, इडुक्कीमा ठूलो पहिरोमा परि 11 जना, उत्तरी जिल्ला मालापुरममा 5 जना, कन्नुरमा 2 जना, वायनाद जिल्लामा 3 जना र कोझिकोडमा 1 जनाको ज्यान गएको छ।

पाँच जना मानिसहरू बेपत्ता भएको समाचार छ।

यसैबीच राज्यका मुख्य मन्त्री पिनारायी विजयनले स्थितिको मूल्याङ्कन गर्न एउटा समीक्षा बैठक गर्नुभयो। बैठक पछि पत्रकारहरूसित कुराकानी गर्दै मुख्य मन्त्रीले राज्यमा बाढीको स्थिति अतिनै गम्भीर रहेको र स्थितिको सामुना गर्न सबै उपायहरू गरिएको बताउनुभयो।