राष्ट्रिय लोकतान्त्रिक गठबन्धनका उम्मेदवार हरिवंश राज्य सभाका उप-सभापति निर्वाचित

राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एन डी ए)-का उम्मेदवार हरिवंश प्रतिपक्षका प्रत्याशी बी के हरि प्रसादलाई पराजित गरी राज्य सभाका उप-सभापति निर्वाचित हुनुभएको छ।

सदनमा भएको मतहरूको विभाजनमा श्री हरिवंशले श्री हरि प्रसादलाई प्राप्त 105 मत विपरित 125 मतहरू प्राप्त गर्नुभयो।

पछि सदनका नेता अरूण जेटली र संसदीय मामिला मन्त्री अनन्त कुमारले श्री हरिवंशलाई उहाँको स्थानसम्म पुऱ्याउनुभयो। प्रख्यात पत्रकार हरिवंशले जनता दल (यूनाइटेड)-का सदस्यको रूपमा सदनमा बिहारको प्रतिनिधित्व गर्नुहुन्छ।

पछि प्रधान मन्त्री नरेन्द्र मोदीले राज्य सभाका उप-सभापित निर्वाचित हुनु भएको लागि श्री हरिवंशलाई बधाई दिनुभयो। यस अवसरमा बोल्नुहुँदै श्री मोदीले भन्नुभयो, एक जना पत्रकारको रूपमा श्री हरिवंशले सामाजिक परिवर्तनहरू ल्याउने दिशामा कार्य गर्नुभएको छ। उहाँले यो आशा पनि व्यक्त गर्नुभयो कि श्री हरिवंशको समृद्ध अनुभव सदनको संचालनमा प्रचुर उपयोगी हुनेछ।

राज्य सभाका उप-सभापतिमा निर्वाचित भएपछि श्री हरिवंशले उहाँले सदनको काम-कारवाही दलगत भेदभाव नराखी गर्नुहुने आश्वासन दिँदै भन्नुभयो, उहाँ कुनै दलसित आबद्ध हुनुहुन्न। उप सभापतिको पदमा निर्वाचित हुनु भएकोमा सदस्यहरूद्वारा गरिएको अभिनन्दनको जबाफ दिँदै श्री हरिवंशले सदनको कारवाही वाधाहीन रूपले चलाउने दिशामा उहाँहरूको सहयोगको कामना गर्नुभयो।