भारतद्वारा बाङ्गलादेशका लागि रेलवे र बिजुली ट्रान्समिसन परियोजनाहरू समर्पित

एक ऐतिहासिक विकासक्रममा भारतीय प्रधान मन्त्री नरेन्द्र मोदी र उहाँका बाङ्गलादेशकी समकक्षी शैख हसिनाले बङ्गालकी मुख्य मन्त्री ममता बेनर्जी र त्रिपुराका मुख्य मन्त्री बिप्लब कुमार देबकासाथ संयुक्त रूपमा तीन विकासशील परियोजनाहरूको उद्घाटन गर्नुभयो।

बाङ्गलादेशको विकासका लागि परियोजनाहरूमा सामेल छन्, भारतबाट बाङ्गलादेशमा अतिरिक्त ५०० मेगावाट बिजुलीको आपूर्ति अनि दुइ रेलवे परियोजनाहरू, आखउडा-अगरतला रेल लिङ्क र बाङ्गलादेश रेलवेसको कुलाउडा-शाहबाजपुर खण्डको पुनर्स्थापना। उक्त दुवै रेलवे परियोजनाले दक्षिण एसियाका दुइ छिमेकी मुलुकहरू बीच सम्पर्कता, व्यापार र वाणिज्यिक सम्बन्धमा अझ धेरै सुधार ल्याउने लक्ष्य राखेको छ।

भीडियो कन्फ्रेन्समार्फत उक्त तीन महत्त्वपूर्ण परियोजनाहरूको उद्घाटनले नयाँ दिल्ली र ढाका बीचको सौहार्दपूर्ण सम्बन्ध अझ मजबुत हुनेछ। उद्घाटन कार्यक्रमपछि प्रधान मन्त्री मोदीले एउटा ट्वीटमार्फत भन्नुभयो, “भारत-बाङ्गलादेश बीच सम्पर्कता बढ्नेछ तथा सम्बन्ध र जीवनस्तरमा सुधार हुनेछन्।”

बाङ्गलादेशको भेडामारा र भारतको बरहाम्पुर ट्रान्समिसन लाइनमार्फत थप ५०० मेगावाट बिजुली आपूर्ति गर्ने भारतको निर्णयले सन् २०२१ सम्ममा मध्यम आय मुलुक तथा सन् २०४१-सम्ममा एक विकसित मुलुक बन्ने बाङ्गलादेशको यात्रामा साझेदार बन्ने भारतको चाहनालाई प्रकाशित गरेको छ। यो कुरा भारतीय प्रधान मन्त्रीले उद्घाटन समारोहको बेला आफ्नो भाषणमा उल्लेख गर्नुभएको एउटा महत्त्वपूर्ण विषय थियो।

श्री मोदीले, आगामी दुइ दशकमा मुलुकलाई एक मध्यम आय मुलकबाट एक विकसित मुलुकमा रुपान्तरित गर्ने प्रधान मन्त्री हसिनाका विकासशील लक्ष्यहरूको प्रशंसा गर्नुभयो। नयाँ दिल्ली र ढाकाबाट परराष्ट्र मामिला मन्त्री सुषमा स्वराज र बाङ्गलादेशको विदेश मन्त्रीले पनि भीडियो कन्फ्रेन्समा भाग लिनुभयो।

प्रधान मन्त्री मोदीले भन्नुभयो, यस बिजुली ट्रान्समिसन लिङ्क पूरा हुनसाथ बाङ्गलादेशमा आपूर्ति गर्ने कुल बिजुली १.१६ गिगावाट पुग्नेछ। उहाँले मेगावाटदेखि गिगावाटसम्मको यस यात्रालाई “भारत-बाङ्गलादेश सम्बन्धमा एक स्वर्णीम युगको प्रतीक” बताउनुभयो।

आखउडा-अगरतला रेल कनेक्टिभिटिबारे बोल्नुहुँदै भारतीय प्रधान मन्त्रीले भन्नुभयो, यसले दुइ मुलुकहरू बीच सिमाना वारि-पारि अर्को रेललिङ्क प्रदान गर्नेछ। श्री मोदीले भन्नुभयो, “दुइ मुलुकहरू बीच निकट सम्बन्ध र जन-जन सम्पर्कताले हाम्रो विकास र समृद्धिलाई नयाँ उँचाइमा पुऱ्याउने छन्।”

उहाँले भन्नुभयो, विगत केही वर्षमा, सो लक्ष्यको दिशामा दिगो प्रगति भएको छ। श्री मोदीले थप बताउनुभयो, यी तीन परियोजनाहरूको उद्घाटनले भारत र बाङ्गलादेश बीच बिजुली र रेल सम्पर्कता वृद्धि भएको हुनेछ।

बाङ्गलादेशमा अतिरिक्त बिजुलीको आपूर्ति, त्रिपुरास्थित अगरतला अनि बाङ्गलादेशस्थित आखउडा बीच रेलवे लाइनको निर्माण तथा बाङ्गलादेश रेलवेसको कुलाउडा-शाहबाजपुर खण्डको पुनर्स्थापना, दुवै मुलुकका लागि लाभकारी हुनेछन्। एक-अर्काको विकासबाट दुवै मुलुक लाभान्वित हुँदछन्।

यी रेल परियोजनाहरूले भारतको उत्तर-पूर्वी क्षेत्रलाई बाङ्गलादेश र दक्षिण-पूर्व एसियासित जोड्नेछन् फलस्वरूप व्यापारमा वृद्धि र मुलुकको हालसम्म उपेक्षित सो क्षेत्रको विकास हुनेछ।

दुइ मुलुकद्वारा पुनर्स्थापना गरिने बाङ्गलादेश रेलवेको कुलाउडा-शाहबाजपुर खण्ड भारतीय उपमहाद्वीप विभाजन हुनुभन्दा अघिदेखि अस्तित्वमा थियो। पुनर्स्थापित भएपछि यो रेल लाइन, दक्षिण एसियालाई दक्षिण-पूर्वी एसियाली मुलुकहरूसित जोड्ने ट्रान्स एसियाली रेलवे परियोजनाको एउटा महत्त्वपूर्ण हिस्सा बन्नेछ।

१५.५ किलोमीटर लामो आखउडा-अगरतला रेल लाइनले भारत र बाङ्गलादेशबीच, विश्वको सर्वाधिक व्यस्त बन्दरगाहहरूमध्ये एक चिटागङ्ग बन्दरगाहमार्फत वर्धित व्यापारको सुविधा प्रदान गर्नेछ। सन् २०१०-मा प्रधान मन्त्री शैख हसिनाको भारत भ्रमणको बेला मञ्जूरी पाएको यस रेलवे लाइनले त्रिपुरा, असम र पश्चिम बङ्गाल बीच यात्रासमय र दूरीलाई पर्याप्त मात्रामा घटाउनेछ किनभने यो रेल लाइन बाङ्गलादेशको आखउडामार्फत कोलकता पुग्नेछ। सबै कुरा योजनाअनुरुप अघि बढे, यो रेल लाइन सम्भवत: दुइ वर्ष भित्रमा सञ्चालनमा आउनेछ।

महत्त्वपूर्ण रूपमा, प्रधान मन्त्री मोदीले भारत-बाङ्गलादेश द्विपक्षीय व्यापार एवम् वाणिज्यिक सम्बन्धलाई अनुकरणका लागि एउटा मोडलको रूपमा प्रस्तुत गर्न चाहनुभएको छ। उहाँले भन्नुभयो, “कुराकानी र भ्रमणमार्फत छिमेकी मुलुकहरूका नेताहरूबीच छिमेकीको जस्तै सम्बन्ध बनाउन पर्दछ।”

आलेख: द स्टेट्सम्यानका विशेष संवाददाता, दिपङ्कर चक्रवर्ती