भारत-रसिया अन्तरसरकारी बैठक

भारत र रसियाको सम्बन्ध चिरकालीन र स्थिर रहिआएको छ। भारतको विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धको मामिलामा रसिया प्राथमिक मुलुकहरूमध्ये एक हो जसले समयको परीक्षण पास गरेको छ। दुइ मुलुकहरूबीच एक अद्वितीय एवम् सामरिक साझेदारी रहेको छ जसमा राजनैतिक, सुरक्षा, व्यापार एवम् अर्थव्यवस्था, रक्षा, विज्ञान एवम् प्रविधि तथा सांस्कृतिक सम्बन्ध जस्ता विषयहरू समावेश छन्। सामरिक साझेदारीको रूपरेखाअन्तर्गत त्यहाँ संस्थागत व्यवस्थाहरू छन् जसले अन्तर्क्रिया सहज बनाउन र सहकारी गतिविधिहरूको जायजा लिन राजनैतिक र औपचारिक, दुवै स्तरमा काम गर्दछ। भारतका प्रधान मन्त्री र रसियाली महासंघका राष्ट्रपति बीच वार्षिक शिखर बैठक, द्विपक्षीय अन्तर्क्रिया एवम् भ्रमण, परामर्श, ब्रिक्स र शाङ्गहाइ सहयोग संगठन जस्ता बहुपक्षीय निकायहरूका सदस्यता; दुइ मुलुकहरूबीच समारिक साझेदारीका अनेक रुपहरू हुन्।

उक्त उद्देश्य पूरा गर्ने दिशामा सर्वाधिक महत्त्वपूर्ण संस्थान हो; व्यापार, अर्थव्यवस्था, वैज्ञानिक एवम् प्राविधिक तथा सांस्कृतिक सहयोगमाथि स्थापित अन्तरसरकारी आयोग (आईआरआईजीसी-टीईसी)। यस संस्थाको वार्षिक बैठकको सह-अध्यक्षता भारतका परराष्ट्र मामिला मन्त्री र रसियाका उप प्रधान मन्त्रीले गर्दछन्। पछिल्लो आईआरआईजीसी-टीईसी बैठक डिसेम्बर सन् २०१७-मा नयाँ दिल्लीमा सम्पन्न भएको थियो जसको सह-अध्यक्षता भारतका परराष्ट्र मामिला मन्त्री सुषमा स्वराज र रसियाका उप प्रधान मन्त्री दिमित्री रोजोगिनले गर्नुभएको थियो। आईआरआईजीसी-टीईसी-को २३-औँ बैठक, यो साता मस्कोमा सम्पन्न भयो। श्रीमती स्वराजले भारतको अगुवाई गर्नुभयो भने रसियाली शिष्टमण्डलको अगुवाई रसियाली महासंघका उप प्रधान मन्त्री, युरि बोरिसोभले गर्नुभएको थियो। भारतीय परराष्ट्र मामिला मन्त्रीले रसियाली विदेश मन्त्री सर्गेई ल्याभरोभसँग पनि भेटघाट गरी द्विपक्षीय विषय र अन्तर्राष्ट्रिय हितहरूमाथि कुराकानी गर्नुभयो।

आईआरआईजीसी-टीईसी, दुवै सरकारका लागि आर्थिक सहयोगको समीक्षा गर्ने शीर्ष मञ्च र स्थायी निकाय हो। व्यापार एवम् आर्थिक सहयोग, अग्राधिकार लगानी, आधुनिकीकरण, औद्योगिक सहयोग, थाँतीमा रहेका विषयहरू, ऊर्जा एवम् ऊर्जा कुशलता, विज्ञान एवम् प्रविधि, सञ्चार एवम् आईटी, पर्यटन तथा संस्कृतिमाथि कार्यसमूह अनि बैंकिङ्ग एवम् वित्तीय मामिला तथा बाघ र चितुवाको संरक्षणमाथि उप कार्यसमूह अन्तर्गत यसले दुवै सरकारहरूबीच विभिन्न क्षेत्रमा रहेका सहयोगको समीक्षा गर्दछ। यसले दुइ मुलुकहरूबीच सहयोगका सम्भावित क्षेत्रहरूको खोजी पनि गर्दछ अनि खोजी गरिइएका क्षेत्रसम्बन्धी नीति सिफारिस र दिशानिर्देशहरू प्रदान गर्दछ।

प्राविधिक सहयोगको क्षेत्रमा भारत र रसियाले भारत-रसिया विज्ञान एवम् प्राविधिक केन्द्र स्थापित गरेका छन्। प्रविधिको दुइतर्फे आदानप्रदान र व्यवसायीकरणको सम्बर्धन गर्न उक्त केन्द्रको एक-एकवटा शाखा नयाँ दिल्ली र मस्कोमा स्थापित गरिएको छ। विज्ञान र प्रविधिको क्षेत्रमा द्विपक्षीय अन्तर्क्रियालाई प्रोत्साहन गर्न, ‘भारत-रसिया ब्रिज टू इनोभेशन’, टेलिमेडिसिन अर्थात दूरचिकित्सामा सहयोग, पारम्परिक ज्ञानको डिजिटल लाइब्रेरी, “ग्लोबल इनिसिएटिभ अफ एकाडेमिक नेटवर्क्स”, तथा “रसिया-इन्डिया नेटवर्क्स अफ युनिभर्सिटिज” जस्ता अनेकौँ नयाँ पहलहरूको सम्बर्धन गरिँदैछन्।

आर्थिक साझेदारी द्विपक्षीय सम्बन्धको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो तथा यो, दुवै सरकारका लागि प्राथमिकताको मुख्य विषय हो। डिसेम्बर सन् २०१४-मा दुइ मुलुकहरूले द्विपक्षीय व्यापार सन् २०२५-सम्ममा ३० अर्ब डलर पुऱ्याउने लक्ष्य निर्धारण गरेका थिए। रसियाको संघीय भन्सार सेवा तथ्याङ्कअनुसार, २०१६-मा द्विपक्षीय व्यापार ७.७१ अर्ब डलर पुगेको थियो जसमा भारतीय निर्यात २.३९ अर्ब डलरको थियो भने रसियाबाट आयात ५.३२ अर्ब डलरको थियो। भारतबाट निर्यात गरिएका प्रमुख सामग्रीहरूमा औषधी, चिया, कफी, सूर्ती, मशिन एवम् मैकनिकल उपकरण, जैविक रसायन तथा एलेक्ट्रिल मशिनेरी एवम् उपकरणहरू सामेल छन्।

रसियाबाट आयात गरिएका प्रमुख सामग्रीहरूमा मोती, बुहमूल्य एवम् अर्ध-बहुमूल्य स्टोन एवम् मेटल, परमाणु उपकरण, एलेक्ट्रिकल मशिनेरी, खनिज तेल एवम् उत्पाद, फलाम एवम् इस्पात तथा अप्टिकल एवम् सर्जिकल उपकरणहरू सामेल छन्। दुवै मुलुकले द्विपक्षीय व्यापार विस्तार गर्ने विभिन्न तरिकाहरूको खोजी पनि गरिराखेका छन्। द्विपक्षीय व्यापारलाई गति प्रदान गर्नसक्ने केही महत्त्वपूर्ण पाइलाहरू हुन्: दुइ मुलुकहरूबीच “ग्रीन करिडोर” परियोजनाको परिचालन जो हाल निर्माणको अग्रीम चरणमा पुगिसकेको छ; अन्तर्राष्ट्रिय उत्तर-दक्षिण परिवहन करिडोर (आईएनएसटीसी)-को कार्यान्वयन; तथा भारत र युरेसियाली आर्थिक संघ बीच मुक्त व्यापार सम्झौता (एफटीए)-मा हस्ताक्षर। डिसेम्बर सन् २०१६-मा एफटीए-मा हस्ताक्षरका लागि भारत र युरेसियाली आर्थिक संघ बीच वार्तालाप सुरु गर्न युरेसियाली आर्थिक संघ सहमत भएको थियो।

आलेख: जवाहरलाल नेहरू विश्वविद्यालयमा रसियाली एवम् मध्य एसियाली अध्ययन केन्द्रका एसोसिएट प्रोफेसर, डा.अमिताभ सिंह