ओडिशाको गोपालपुर तटमा आज बिहान भीषण ‘तितली’ तुफानको प्रवेश

चक्रवाती तुफान तितली ओडिशा तटमा प्रवेश गरेको छ। तीव्र गतिमा आएको तुफानले गर्दा ओडिशाका थुप्रै ठाउँमा भीषण वर्षा भइरहेको छ। गोपालपुर क्षेत्रमा रूख र बिजुलीका खम्बाहरू उखेलिनुका साथै परिसम्पत्तिहरूको क्षति भएको छ। तथापि मानवीय क्षति भएको जानकारी भने हालसम्म प्राप्त भएको छैन। भुवनेश्वर मौसम विभाग कार्यालयले जनाएअनुसार चक्रवाती तुफान समग्र ओडिशा तटमा प्रवेश गरेको छ।

होचा इलाकाहरूमा बस्ने तीन लाख मानिसहरूलाई सुरक्षित ठाउँमा आश्रय दिइएको छ। मुख्य मन्त्री नवीन पटनायकले विशेष राहत आयोग नियन्त्रण कक्षको भ्रमण गर्नुभयो र मानवीय क्षतिलाई रोक्न सबै आवश्यक पहल गर्न निर्देशन दिनुभएको छ।

यसैबीच एनडीआरएफ-ले आवश्यक उद्धार उपकरणका साथ ओडिशाका १४, आन्ध्र प्रदेशका चार र पश्चिम बङ्गालका तीन टिमहरूलाई तैनाथ गरेको छ। राज्य सरकारले स्थितिलाई निकटबाट निरीक्षण गरिरहेको छ।

भुवनेश्वरको बिजु पटनायक अन्तर्राष्ट्रिय विमानस्थलमा केही विमान सेवाहरू स्थगित गरिएका छन्। दक्षिण तर्फ जाने केही रेल सेवाहरू स्थगित गरिएका छन् भने केही रेलहरूको मार्ग बदलिएको छ। विभिन्न ठाउँका रेल स्टेशनहरूमा नियन्त्रण कक्ष स्थापित गरिएका छन्। ब्रह्मपुर र गोपालपुर बीचको सडक सम्पर्क विच्छेद भएको छ।