स्वदेशमै निर्मित परमाणु पनडुब्बी आई एन एस अरिहन्तको सफलताबाट परमाणविक ब्ल्याकमेल गर्नेहरूलाई समुचित जबाफः प्रधान मन्त्री मोदी

प्रधान मन्त्री नरेन्द्र मोदीले स्वदेशमै निर्मित परमाणु अस्त्र वहन क्षमता सम्पन्न पनडुब्बी आई एन एस अरिहन्तको सफलताले परमाणविक ब्ल्याकमेल गर्नतर्फ लागेकाहरूलाई समुचित जबाफ दिने बताउनुभएको छ। नयाँ दिल्लीमा आफ्नो सरकारी निवासमा यस पनडुब्बीको सञ्चालन दललाई स्वागत गर्नुहुँदै प्रधान मन्त्रीले भन्नुभयो, “एउटा विश्वासिलो परमाणु निवारक समयको आवश्यकता हो।”

एउटा मजबुत भारत, भूमण्डलीय शान्ति र स्थिरता निम्ति विशेषगरी अनिश्चितता तथा चिन्ताहरूले भरिएको एक विश्वमा महत्त्वपूर्ण स्तम्भ हुने प्रधान मन्त्रीले बताउनुभयो। उहाँले भन्नुभयो, “भारतको परमाणु कार्यक्रमलाई भूमण्डलीय शान्ति र स्थिरतालाई बढुवा दिने मुलुकका प्रयासहरूको सन्दर्भमा हेरिनुपर्छ।”

विश्वासयोग्य न्युनतम् परमाणु निवारक क्षमता तथा पहिले प्रयोग नगर्ने सिद्धान्त प्रति भारत बचनबद्ध रहेको प्रधान मन्त्रीले बताउनुभयो।

आई एन एस अरिहन्तले आफ्नो सर्वप्रथम निवारक गस्ति अभियान सफलताका साथ सम्पन्न गरेको छ। यसबाट मुलुकको परमाणु त्री स्तम्भ निर्माणको कार्य पनि पूरा भएको छ।

भारतीय नौसेनाको उपलब्धिमाथि खुसी जाहेर गर्नुहुँदै राष्ट्रपति रामनाथ कोविन्दले भन्नुभयो, “यस पनडुब्बीको सफलतापूर्ण अभियान राष्ट्रको रक्षा तयारीमा एउटा अविस्मरणीय घडी हो।” प्रतिरक्षा मन्त्री निर्मला सीतारमणले आई एन एस अरिहन्तले भारतलाई अचूक सामरिक प्रहार क्षमता सम्पन्न परमाणु पनडुब्बीको डिजाइन, निर्माण एवम् सञ्चालन गर्न सक्ने मुलुकहरूको श्रेणीमा पुऱ्याएको बताउनुभयो।

गृह मन्त्री राजनाथ सिंह, वित्त मन्त्री अरूण जेटली र भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले पनि यस उपलब्धीको प्रशंसा गर्नुभएको छ। सूचना एवम् प्रसारण मन्त्री राज्यवर्धन सिंह राठौडले यसका साथै भारतको परमाणु त्री स्तम्भको निर्माण कार्य पूरा भएको र यसले मुलुक सुरक्षा एवम् निरापदता सुनिश्चित गर्ने बताउनुभयो।