क्यालिफोर्नियामा एउटा बारमा गोली बर्साइँदा १३ जनाको मृत्यु

 

अमेरिकाको क्यालिफोर्नियामा एक बारमा एकजना बन्दुकधारीद्वारा गोली बर्साइँदा कम्तिमा १३ जना मारिएका छन् जसमा एकजना प्रहरी अधिकारी पनि सामेल छन्।

यो गोलीबारी हिजो राति लस एन्जेलेसको उत्तर-पश्चिममा क्यालिफोर्नियाको थाउजेन्ड ओक्समा बोर्डरलाइन बार र ग्रिलमा स्थानीय समयानुसार राति करिब ११ बजेर २० मिनेटतिर भएको थियो।

प्रहरीअनुसार कम्तिमा १० जना घाइते भएको जानकारी छ र अन्यहरू आफै नै स्थानीय अस्पतालहरूमा पुगेका छन्।

अधिकारीहरूअनुसार सन्दिग्ध व्यक्ति बारभित्रै मृतावस्थामा थियो र उसको पहिचान हुनु बाँकी नै छ।

प्रहरीले बारभित्र एउटा हातेबन्दुक फेला पारेका छन्। सन्दिग्धले आफैलाई मारेको विश्वास प्रहरीहरूले व्यक्त गरेका छन् तर अद्यापि यसको पुष्टि गरिएको छैन। यो गोलीकाण्डको समयमा बोर्डरलाइन बार र ग्रिलभित्र कम्तिमा २०० मानिसहरू रहेका बताइएको छ।