केन्द्रीय विद्यालय काठमाडौँले आफ्नो ४५-औं वार्षिकोत्सव मनायो

केन्द्रीय विद्यालय काठमाडौँले सोमबार आफ्नो ४५-औं वार्षिकोत्सव मनाएको छ। समारोहमा नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरी मुख्य अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। यस अवसरमा बोल्नुहुँदै राजदूत पुरीले भन्नुभयो, “केन्द्रीय विद्यालय काठमाडौँ गुणस्तरीय शिक्षाको केन्द्रको रूपमा अभूतपूर्व उचाइमा पुगेको छ।” विद्यालयले भारत-नेपाल सम्बन्धहरूलाई बढुवा दिन तथा यसलाई बलियो पार्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको उहाँले बताउनुभयो। श्री पुरीले शैक्षिक तथा सह-शैक्षिक क्षेत्रहरूमा उत्कृष्टताको लागि विद्यार्थीहरू र शिक्षकहरूलाई सम्मानित पनि गर्नुभयो।

केन्द्रीय विद्यालय काठमाडौँका प्रधानाध्यापक आर. शङ्करले विद्यालयले एक उत्कृष्ट शैक्षिक संस्थानको रूपमा स्थान बनाइसकेको बताउनुभयो। उहाँले विद्यालयका गतिविधिहरूको वार्षिक प्रतिवेदन पनि प्रस्तुत गर्नुभयो। समारोहमा विद्यार्थीहरूले नृत्य, गीत, वाद्य सङ्गीत लगायतका मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए।

केन्द्रीय विद्यालय काठमाडौँको स्थापना सन् १९७३-मा भएको थियो र यो विदेशमा सञ्चालित तीन केन्द्रीय विद्यालयहरू मध्ये एउटा हो। अन्य दुई विद्यालयहरू मास्को र तेहरानमा सञ्चालित छन्। भारत सरकारका कर्मचारीहरूका बालबच्चाहरूका अतिरिक्त केन्द्रीय विद्यालय काठमाडौँले नेपालमा बसोबास गर्ने भारतीयहरू र नेपाली नागरिकका बालबच्चाहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ।