आर्मेनियालीहरूले भोली आकस्मिक संसदीय चुनावमा मतदान गर्नेछन्

आर्मेनियालीहरूले भोली हुने आकस्मिक संसदीय चुनावमा मतदान गर्नेछन् जसले नयाँ प्रधान मन्त्री निकोल पाशिनिअनको शासनलाई पक्का गर्ने अपेक्षा गरिएको छ। ४३ वर्षीय चमत्कारी नेताले यो वर्षको मई महिनामा व्यापक विरोध प्रदर्शनको नेतृत्व गर्नुभएको थियो जसको परिणामस्वरूप उहाँका पूर्वगामी सर्झ सर्गस्यानले राजीनामा दिनु परेको थियो।

पाशिनिअन-ले उहाँका राजनीतिक शत्रुहरूको वर्चस्व भेको संसदमाथि नियन्त्रण गर्ने प्रयासमा चुनाव गराउनुभएको हो।

पहिला पत्रकारबाट राजनेता बन्नुभएको पाशिनिअन-ले पूर्व सोभियत राष्ट्र भूपरिवेष्टित मुलुक आर्मेनियामा व्याप्त व्यापक गरिबी, उच्च बेरोजगारी र जताततै भ्रष्टाचारविरुद्ध जनताको आक्रोशको फाइदा उठाएर सत्तामा आउनुभएको हो।

यो वर्ष अप्रिल महिनामा आर्मेनियामा विरोध प्रदर्शनहरू त्यतिबेला सुरु भए जतिबेला एक दशकदेखि राष्ट्रपति रहनुभएको सर्गस्यान प्रधान मन्त्रीको पदमा सर्नुभयो। उहाँको सो पाइलोलाई आलोचकहरूले सत्तामा कायम रहने उहाँको प्रयासको रूपमा हेरे।

त्यसपछिका दिनहरूमा पाशिनिअनको नेतृत्वमा हजारौँ विरोध प्रदर्शनकारीहरू आर्मेनियाको राजधानीको मध्यमा भेला भए जसको परिणामस्वरूप सर्गस्यानले पदत्याग गर्न बाध्य हुनु पऱ्यो।