आतङ्कवाद र वार्ता सँगै अघि बढ्न सक्दैनन्

आलेख: राजनैतिक विश्लेषक अशोक हान्डू

पाकिस्तानका प्रधान मन्त्री इमरान खानले केही समयदेखि भारतसँगको अवरुद्ध वार्ता फेरि सुरु गर्ने आह्वान गर्दै आउनुभएको छ। उहाँको भनाइमा, दुवै देशबिचका सबै समस्याहरूको समाधान गर्ने यही नै एक मात्र उपाय हो। उहाँले करतारपुर साहिब कोरिडोरको आधारशिला राख्ने क्रममा यो कुरा दोहोऱ्याउनुभयो भने समय-समयमा आफ्नो यो कथन बारम्बार भन्दै आउनुभएको छ। उहाँले भारतसँगका सम्बन्धहरू सुधार्ने उद्देश्यमा उहाँको सरकार, पार्टी र पाकिस्तानी सेना एउटै सिद्धान्तमा सहमत छन् भन्ने कुरा पनि बताउनुभयो। श्री खानले आतङ्ककारी क्रियाकलापहरूका लागि पाकिस्तानको भूभाग प्रयोग गर्न दिनु पाकिस्तानको हितमा नभएको र आफ्नो देशको जमिनमा यस्ता क्रियाकलापहरू सञ्चालित हुन नदिइने पनि बताउनुभयो।

सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धहरूमा दुवै देशका जनताको सर्वोपरी हित निहित हुन्छ भन्ने तर्कमा कुनै पनि दुई विवेकशील व्यक्तिबिचको राय फरक हुन सक्दैन। त्यो हदसम्म इमरान खानका कथनहरू ज्ञानवर्धक र व्यावहारिक छन् भन्दा अत्युक्ति नहोला।

तर धरातलीय स्थिति भने त्यसको ठिक विपरीत छ र यसको ठोस प्रमाण भनेको प्रधान मन्त्री पद सम्हालेपछि इमरान खानले आफ्नो पहिलो निर्णयअन्तर्गत हाफिज सईद नेतृत्वाधीन सङ्गठनहरूलाई आतङ्की समूहहरूको सूचीबाट हटाउनु थियो। यी सङ्गठनहरूमा प्रतिबन्धित लश्कर ए तैयब्बाका क्रियाकलापहरू सञ्चालन गर्न सईदले ढालका रूपमा प्रयोग गर्ने ‘फलाह ए इन्सानियत फाउन्डेसन’ र ‘जमात उद दावा’ पनि सामेल छन्। राष्ट्रसंघले मुम्बई आतङ्की हमलाको मास्टरमाइन्ड हाफिज सईदलाई विश्वव्यापी रूपमा आतङ्ककारी घोषित गरिसकेको छ र उसलाई जिउँदै वा मुर्दा अवस्थामा पक्रा गर्नेलाई १ करोड डलरको पुरस्कार राशिसमेत निर्धारण गरिएको छ, तर तैपनि ऊ पाकिस्तानमा खुलेआम हिँडडुल गर्छ। उसलाई जीवनको मुख्यधारामा फर्काउनका लागि ‘मिलि मुस्लिम लिग’ नामक उसको पार्टीलाई चुनावमा प्रतिस्पर्धा गरी देशको राजनैतिक पकडमाथि नियन्त्रण गर्न अनुमति दिने प्रयासहरू पनि चल्दै छन्।

इमरान खानले आफूले सत्ता सम्हालेको १०० दिनभित्रमा संदिग्ध क्रियाकलापमा सङ्लग्न भनी निगरानीमा रहेका कतिपय मदरसाहरूलाई शङ्कास्पदको सूचीबाट हटाउनुभयो। यो निर्णय गर्दा मदरसाहरूलाई आतङ्कवादसँग जोड्नु हुँदैन भन्ने उहाँको तर्क थियो। शङ्कास्पद सङ्गठनहरूले वित्तपोषित गर्ने धेरै मदरसाहरूमाथि अन्तर्राष्ट्रिय स्तरमा निगरानी हुँदै छ भन्ने कुरा पनि उहाँलाई राम्ररी थाहा नै छ। यस्ता कैयौँ मदरसाहरूमा पाकिस्तानका निर्दोष बच्चाहरूको मनमस्तिष्कमा विष घोलेर उनीहरूलाई कट्टरताको पाठ पढाइन्छ।

करतारपुर साहिब कोरिडोरको शिलान्यास गर्न आयोजित कार्यक्रम पूर्णरूपमा धार्मिक पहल भए तापनि श्री खानले कश्मीरको मुद्दा उठाएर यसलाई राजनैतिक रङ दिन कुनै कसर छाड्नुभएन। उहाँका विदेश मन्त्री शाह महमुद कुरेशीले यो कोरिडोरमार्फत इमरान खानले भारतविरुद्ध गुगली बलिङ गर्नुभयो भन्ने बयान दिएर सो कार्यक्रमलाई चर्चाको विषय बनाउने हरसम्भव प्रयत्न गर्नुभयो। यस्तो बयानको भारतले उचित तरिकाले जवाफ पनि दिइसकेको छ।

पाकिस्तानबाट आफ्ना गतिविधि सञ्चालन गरिरहेका आतङ्कीहरूले भारतीय भूभागमा लगातार हमलाहरू गरिराखेका छन्। यसै क्रममा पंजाबको अमृतसरमा आयोजित एक धार्मिक भेलालाई लक्षित गरी भएको हमलामा ३ जनाको मृत्यु भयो भने २० घाइते भएका छन्। राज्यमा सखाप भइसकेको आतङ्कवादको अध्याय फेरि सुरु गर्नका लागि साम्प्रदायिक तनाव बढाउन यो हमला गरिएको थियो भन्ने अनुमान गरिँदै छ। हमलामा प्रयोग भएका ग्रेनेडहरूमा पाकिस्तान निर्मित छाप छ र त्यसैले हमलाको षडयन्त्रदेखि लिएर यसलाई निष्कर्षसम्म पुऱ्याउने काम कहाँबाट भएको थियो भन्ने कुरामा कसैलाई पनि अब सन्देह रहेको छैन। यसका साथै करतारपुर साहिब कोरिडोरको आधारशिला राख्न आयोजित कार्यक्रममा इमरान खान र पाकिस्तानी सेनाका प्रमुख जनरल बाजवाले खालिस्तान समर्थक नेता गोपाल सिंह चावलाको स्वागत गरिरहेका तस्बिरहरू पनि सार्वजनिक भइसकेका छन्।

त्यसैले, इमरान खानका कथनी र करनीबिच विशाल अन्तर छ भन्ने कुरा यहीँ स्पष्ट हुन्छ। यसैको सन्दर्भमा कुरा गर्दा भारतले पाकिस्तानको लोभ्याइँमा फँसेर वार्ता प्रक्रिया सुरु गर्ने प्रस्ताव स्वीकार गर्छ भन्ने श्री खानका अपेक्षाहरू निराधार कल्पना मात्र हुन् भन्न मिल्छ। भारतकी परराष्ट्र मामिला मन्त्री सुषमा स्वराजले पाकिस्तानका तर्फबाट भारतविरुद्ध भइरहेका आतङ्की क्रियाकलापहरू नरोकिउन्जेलसम्म वार्ता प्रक्रिया सुरु हुन सक्दैन भन्ने कुरा ठाडै भन्न एक पल पनि गुमाउनुभएन। उहाँले आतङ्कवाद र वार्ता सँगै अघि बढ्न सक्दैनन् भन्नुभयो।

भारतका लागि आतङ्कवाद अत्यन्त ठूलो चिन्ताको विषय हो र यस समस्याविरुद्ध सख्त, ठोस तथा सबैले देख्ने किसिमका उपायहरू व्यवहारमा नल्याएसम्म कुनै पनि स्तरमा गरिएको प्रवचन कारगर साबित हुने छैन भन्ने कुरा पाकिस्तानले बुझ्नु जरुरी छ। इस्लामाबादले आफू हृदयदेखि नै आतङ्कवादको खिलाफ रहेको र यस रोगलाई जरैबाट मास्न आवश्यक हुने सबै उपाय गरिरहेको प्रमाण भारतलाई मात्र होइन, अपितु सम्पूर्ण विश्वलाई दिनु पर्ने छ र यो साबित भएका दिन वार्ता प्रक्रिया फेरि थाल्ने दिशामा पाकिस्तानले भारतको उत्सुकतामा कुनै कमी पाउने छैन।