संसदद्वारा १२४औँ संविधान संशोधन विधेयक-२०१९ पारित

संसदले १२४औँ संविधान संशोधन विधेयक-२०१९ पारित गरेको छ। लोक सभाद्वारा पारित गरिएको यस विधेयकलाई गए राति राज्य सभाले पनि  पारित गऱ्यो। यो विधेयकले सवर्ण जातिका आर्थिक रूपले पिछडिएका मानिसहरूलाई सरकारी जागिर र उच्च शिक्षण संस्थानहरूमा दस प्रतिशत आरक्षण दिनेछ।

राज्यसभामा मत विभाजनको बेला १६५ सदस्यहरूले विधेयकको पक्षमा भोट दिए भने ७ सदस्यहरूले विरोधमा मतदान गरे। विधेयकलाई चयन समितिमा विचारका लागि पठाउने एआईएडीएमके, वामपन्थी दल र अन्य सदस्यहरूको प्रस्तावलाई खारेज गरिएको थियो।

सदनमा १०घण्टासम्म चलेको बहसको जवाफ दिँदै केन्द्रीय  सामाजिक न्याय एवम् अधिकारिता मन्त्री थावरचन्द गहलोतले भन्नुभयो, सवर्ण जातिका आर्थिक रूपले पिछडिएका  मानिसहरूलाई दस प्रतिशत आरक्षण उपलब्ध गराउनु एक ऐतिहासिक पाइलो हो। उहाँले भन्नुभयो, यो विधेयक राम्रो मनशायका साथ ल्याइएको छ र  यसको उद्देश्य लाभार्थीहरूलाई आर्थिक र शैक्षिक रूपले सशक्त बनाउनु हो। उहाँले विधेयकलाई चाँडो ल्याइएको आरोपको खण्डन गर्दै भन्नुभयो, यसको माग लामो समयदेखि जारी थियो। उहाँले भन्नुभयो, यसले आरक्षण अनुसूचित जाति, अनुसूचित जनजाति र अन्य पछौटे वर्गका वर्तमान कोटामा कुनै छेडछाड गर्नेछैन।