ट्रम्प पर्खाल योजनालाई अघि बढाउन अमेरिका-मेक्सिको बोर्डर पुग्नुभयो

 

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प विवादास्पद अमेरिका-मेक्सिको पर्खालसम्बन्धी आफ्नो मागलाई अघि बढाउन हिजो टेक्ससको म्याकअलेन पुग्नुभयो। सरकारी कामकाज शटडाउन भइराखेकै बेला राष्ट्रपति ट्रम्पले पहिलोचोटी अमेरिका-मेक्सिको सिमानाको भ्रमण गर्दै हुनुहुन्छ। श्री ट्रम्पले भन्नुभयो, अवैध आव्रजकहरूद्वारा गरिने हिंसात्मक अपराधहरूबाट अमेरिकालाई बचाउन मेक्सिकोसितको सिमानामा अझ धेरै बाधाहरूको आवश्यकता छ।

पर्खाल निर्माण निम्ति ५.७ अर्ब डलर कोषको मागलाई विपक्षी डेमोक्र्याट्सले विरोध गर्दै भनेको छ, अवैध आव्रजकहरूले कुनै प्रकारका गम्भीर अपराधहरू गर्दैनन् तथा श्री ट्रम्पले दक्षिणपन्थी विचारधारालाई सन्तुष्ट तुल्याउनका लागि मात्रै यो परियोजनाको संवर्धन गरिराख्नुभएको छ। सत्तारुढ र विपक्षी बीचको गत्यावरोधले गर्दा सरकारमा आंशिक शटडाउन भएको छ जसको परिणामस्वरूप हजारौँ संघीय कर्मचारीहरू वेतन बिनै अवकाशमा गएका छन्।

टेक्सस पुगेपछि राष्ट्रपति ट्रम्पले ट्वीट गरेर भन्नुभयो कि सरकारको हाल जारी आंशिक शटडाउन जारी रहे स्वीट्जरल्यान्डको डावोसमा हुने वर्ल्ड इकोनमिक फोरमको वार्षिक बैठकमा उहाँले भाग लिने छैन।

यसैबीच मेक्सिकोका अधिकारीहरूले हिजो बताए कि दिउँसो राष्ट्रपति ट्रम्प भ्रमण गर्न गइरहेको अमेरिका-मेक्सिको सिमाना स्थित एउटा सहर नजिकै भएको एउटा ड्रग-ग्याङ्ग शूटआउट पश्चात २१ शवहरू फेला परेको थियो। मेक्सिकोमा हालैका वर्षहरूमा ड्रगसम्बन्धी हिंसाहरूमा बढोतरी भएको छ।