चौथो रायसीना सम्वाद

आलेख:रञ्जीत कुमार, कुटनीतिक सम्पादक, नवोदय टाइम्स

 प्रमुख अन्तर्राष्ट्रिय नीति निर्माता, शिक्षाविद् र सामरिक विश्लेषकहरूको सहभागिताका साथ चौथो रायसीना सम्वाद नयाँ दिल्लीमा सम्पन्न भएको छ। प्रधान मन्त्री नरेन्द्र मोदी र नर्वेकी प्रधान मन्त्री सुश्री एर्ना सोलबर्ग रायसीना सम्वादको उद्घाटन सत्रमा उपस्थित हुनुभयो। उद्घाटनपछि दुइ दिनसम्म छलफल जारी रह्यो। मुख्य चिन्तक संस्था अब्जर्भर रिसर्च फाउण्डेशन र परराष्ट्र मन्त्रालयद्वारा संयुक्त रूपले आयोजित रायसीना सम्वाद अब भारतको एक मुख्य वार्षिक कार्यक्रम बनेको छ।

नर्वेकी प्रधान मन्त्रीले आफ्नो सम्बोधनमा भन्नुभयो, हाम्रो महासागरलाई नियन्त्रित गर्नका लागि शक्तिशालीकै अधिकारको सिद्धान्तलाई एक आधारको रूपमा प्रयोग गर्न सकिँदैन । भारतीय परराष्ट्र मन्त्री श्रीमती सुषमा स्वराजले आफ्नो प्रमुख भाषणमा भन्नुभयो, भारत एक लोकतान्त्रिक र नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाका लागि खडा छ। यी टिप्पणीहरूलाई दक्षिण चीन सागरमा विस्तारवादी गतिविधिहरूका लागि  एक अप्रत्यक्ष सन्दर्भको रूपमा हेरिएको छ। यस विषयलाई विभिन्न प्यानल  चर्चाहरूमा  सामेल गरियो।

रायसीना सम्वाद एक यस्तो बहुपक्षीय सम्मेलन हो जो वैश्विक समुदाय समक्ष सबैभन्दा चुनौतीपूर्ण मुद्दालाई सम्बोधित गर्नका लागि प्रतिबद्ध छ। रायसीना सम्वादमा बहु-हितधारक, राष्ट्र प्रमुखहरू, क्याबिनेट मन्त्री र स्थानीय सरकारी अधिकारीहरू साथै निजी क्षेत्रका प्रमुख कार्यकारी अधिकारी सामेल छन्। मलेशियाका नेता अनवर इब्राहिमको समापन सम्बोधनका साथ सम्मेलन समाप्त भयो। उहाँलाई वर्तमान प्रधान मन्त्री महाथिर मोहम्मदका उत्तराधिकारी मानिएको छ। अब्जर्भर रिसर्च फाउण्डेशनका चेयरम्यान श्री सुजय जोशीका अनुसार रायसीना सम्वादले पुराना व्यवस्थाहरूलाई फेरि स्थापित गर्ने र यस शताब्दीका लागि मानवीय आकांक्षाहरूलाई आकार दिनको निम्ति नियमहरूलाई फेरि लेख्ने अवसर प्रदान गरेको छ। अब्जर्भर रिसर्च फाउण्डेशनका अध्यक्ष डक्टर समीर सरनका अनुसार यो वर्ष रायसीना सम्वाद विशेषगरी युरोप वा व्यापक रूपले युरेसियामाथि केन्द्रित थियो।

यस अतिरिक्त रायसीना सम्वादको बेला हिन्द-प्रशान्त क्षेत्र वहसको अर्को चर्को विषय थियो जसमा भारतका नौसेना प्रमुख एडमिरल सुनील लाम्बाका साथ अमेरिका, जापान, अस्ट्रेलियाका सशस्त्र बलका शीर्ष कमाण्डरहरूले भाग लिए। भारतीय विदेश सचिव विजय गोखलेले पनि सम्मेलनलाई सम्बोधित गर्नुभयो। उहाँले छिमेकी मुलुकहरूका साथ भारतको विदेश नीति समक्ष चुनौतीहरू रहेको बताउनुभयो।

यो वर्ष रायसीना सम्वादमा ९२ भन्दा धेरै मुलुकका ६ सय प्रतिनिधिहरू र वक्ताहरूसहित २ हजार भन्दा धेरैले भाग लिए। फाउण्डेसनका अध्यक्ष श्री सुजय जोशीले भन्नुभयो, तीन दिवसीय सम्वादमा भएका विभिन्न परिचर्चाहरूमा एउटा शान्तिपूर्ण विश्वका लागि आधार तयार गर्नमा योगदान दिन सकिनेछ भन्ने निष्कर्ष निस्कियो।

वर्ष २०१९-मा आयोजित यस चौथो तीन दिने रायसीना सम्वादलाई पूर्व ब्रिटिश प्रधान मन्त्री टोनी ब्लेयर, इटलीका पूर्व प्रधान मन्त्री पाओलो जेन्टिलोनी, क्यानडाका पूर्व प्रधान मन्त्री स्टिफन हार्पर, स्वीडेनका पूर्व प्रधान मन्त्री कार्ल बिल्ड्ट र अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद करजई जस्ता विश्व नेताहरूका अतिरिक्त ईरान, अस्ट्रेलिया, स्पेन, मंगोलिया र नेपालका विदेश मन्त्रीहरूले पनि सम्बोधित गर्नुभयो।

सिंगापुरमा आयोजित हुने वार्षिक शाङ्ग्रिला सम्वादपछि रायसीना सम्वाद पनि उच्च स्तरीय सहभागिताका साथ  एसियामा एउटा अर्को प्रतिष्ठित सम्वाद मञ्चको रूपमा स्थापित भएको छ। शाङ्ग्रिला सम्वादमा शीर्ष नीति निर्माताले आफ्नो सरकारका राष्ट्रिय नीतिहरूलाई वैश्विक मञ्चमा राख्दछ। भारतीय प्रधान मन्त्री पछिल्लो वर्ष शाङ्ग्रिला सम्वादको बेला  प्रमुख अतिथि हुनुहुन्थ्यो जहाँ उहाँले समावेशी हिन्द-प्रशान्तमा आफ्नो प्रसिद्ध भाषण दिनुभयो। रायसीना सम्वादको बेला यो विषयलाई अगाडि बढाइयो।

रायसीना सम्वादमा भारतीय विदेश मन्त्री सुषमा स्वराजले विश्वका साथ भारतको सक्रियता र ऊर्जालाई थप व्यापक आयाम दिने कुरामाथि जोड दिनुभयो जो भारतको सबैको साथ सबैको विकास नीतिमा आधारित छ।