भारत र नेपालले द्विपक्षीय सम्बन्धहरूको समीक्षा गरे

आलेख: रतन साल्दी, राजनीतिक टिप्पणीकार

नेपालका विदेश मन्त्री प्रदीप कुमार ज्ञवाली गत साता रायसीना सम्वादको चौथो संस्करणमा सहभागी हुन नयाँ दिल्ली भ्रमणमा आउनुभयो। उहाँले यसबेला परराष्ट्र मन्त्री श्रीमती सुषमा स्वराजसित भारत-नेपाल सम्बन्धका विविध पहलुमाथि विचारहरू आदान-प्रदान गर्ने अवसर प्राप्त गर्नुभयो। दुइ मन्त्रीहरूले सम्पर्क, कृषि एवम् जलमार्गसहितका मामिलाहरूमा २०१८-देखि गरिएका नयाँ पहलहरूको प्रगति लगायत विविध क्षेत्रहरूमा द्विपक्षीय सम्बन्धमा हालै भएका घटनाक्रमहरूको समीक्षा गर्नुभयो। दुइ नेताहरूले विविध क्षेत्रमा सहयोगको प्रगतिप्रति सन्तोष व्यक्त गर्नुभयो र पारम्परिक रूपले निकट र मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई थप मजबुत पार्ने गतिलाई कायम राख्ने प्रतिबद्धतालाई पुनः दोहोऱ्याउनुभयो।

पोहोर मे-मा प्रधान मन्त्री नरेन्द्र मोदीको चार वर्षभन्दा कम समयभित्र भएको नेपालको तेस्रो भ्रमणको बेला दुइ मुलुकहरूले आर्थिक विकासलाई प्रोत्साहित गर्न र जन-जनबीचको सम्पर्कलाई बढुवा दिनका लागि सम्पर्कको उत्प्रेरक भूमिकालाई रेखाङ्कित गरेका थिए। जलमार्ग सम्पर्क दुइ मुलुकका लागि पूर्णरूपले नयाँ क्षेत्र थियो।

यस उद्देश्यको पूर्ति हेतु दुइ पक्षका वरिष्ठ अधिकारीहरूले गंगा नदीको माध्यमले नेपालका कोशी र नारायणी नदीहरूमा मालवाहक सेवाहरूका लागि अन्तर्देशीय जलमार्ग सञ्चालनको रूपरेखामाथि छलफल गरिरहेका छन्। अप्रिल २०१८-मा नेपालका प्रधान मन्त्री के पी शर्मा ओलीको भारत भ्रमणको बेला ‘व्यापार एवम् परिवहन सन्धि’-को ढाँचाभित्र भारत र नेपालबीच यस अतिरिक्त माध्यमको सम्भावना खोज्न एक ऐतिहासिक निर्णय लिइएको थियो। कम खर्चमा कार्गोको आवागमनका साथ  अतिरिक्त सिमाना पारीको यातायात सेवाले नेपाललाई समुद्रका साथ जोडनेछ। दुइ मन्त्रीहरूले नयाँ दिल्लीमा बसेका बैठकको बेला यस सम्बन्धमा भएको प्रगतिको  समीक्षा गर्नुभयो।

भारतको सिमाना स्थित रक्सौल शहरबाट नेपालको राजधानी काठमाडौँसम्म प्रस्तावित रेल लाइनको प्रारम्भिक सर्वेक्षणका लागि पोहोर अगस्टमा काठमाडौँमा बिम्सटेक बैठकको छेक पारेर भारत र नेपालबीच एउटा सहमति पत्रमा हस्ताक्षर भएको थियो। दुइ मुलुकहरू भारतको वित्तीय सहयोगका साथ नयाँ विद्युतीकृत रेलवे लाइन निर्माण गर्न सहमत भएका थिए। यस सर्वेक्षण कार्य एक वर्षभित्र पुरा गरिनुपर्नेछ। दुइ मुलुकका विदेश मन्त्रीहरूले यस परियोजनाको प्रगतिका साथ-साथै रेलवेका अन्य परियोजनाहरूको पनि समीक्षा गर्नुभयो जुन परियोजनाहरू भारतको सहयोगमा नेपालमा क्रियान्वयनका विभिन्न चरणहरूमा छन्।

पछिल्लो वर्ष भारत र नेपालद्वारा गरिएको तेस्रो परिवर्तनकारी पहल कृषि थियो किनकि दुइ मुलुकहरू कृषिप्रधान मुलुकहरू हुन् र अर्थव्यवस्थाका यस महत्त्वपूर्ण क्षेत्रमा सहयोग बढाउनका लागि दुवै उत्सुक छन्। दुइ मुलकहरूले अनुसन्धान र विकास, आधुनिक कृषि कार्यहरूमा प्रशिक्षण, उन्नत बिउ तकनीक, मृदा स्वास्थ्य, कृषि वानिकी, पशुपालन र अन्य सम्बन्धित क्षेत्रहरूमा सहयोगी परियोजनाहरूमाथि ध्यान केन्द्रित गर्ने निर्णय लिएका छन्। यस निर्णयका अनुसार नेपालका कृषि, भूमि व्यवस्थापन एवम् सहकारी मन्त्री चक्रपाणी खनालले पोहोर जुनमा नयाँ दिल्लीको भ्रणण गर्नुभएको थियो र भारतका कृषि एवम् कृषक कल्याण मन्त्री राधा मोहन सिंहका साथ कृषिमा नयाँ साझेदारीका लागि विस्तारपूर्वक छलफल गर्नुभएको थियो।

श्रीमती सुषमा स्वराज र श्री ज्ञवालीले यी नयाँ पहलहरूबारे विस्तृत छलफल गर्नुभयो र भारतको सहयोगमा नेपालमा लागू गरिने हाल जारी अन्य परियोजनाहरूको प्रगतिको समीक्षा पनि गर्नुभयो। रायसीना सम्वादबारे बोल्दै श्री ज्ञवालीले साझा प्रगति र समृद्धि, असल भौतिक सम्पर्क तथा जन-जनबीचको व्यापक सम्पर्कका लागि भारत र नेपालले सहकार्य गर्नुपर्ने खाँचोमाथि जोड दिनुभयो। भारत नेपालको सर्वाधिक ठूलो व्यापार सहयोगी बताउँदै उहाँले नेपाल र भारत भौगलिक, ऐतिहासिक, धार्मिक र सांस्कृतिक रूपले परस्पर जोडिएका र एक व्यापक सम्बन्ध रहिआएको कुरा ९० भन्दा बढी मुलुकका प्रतिनिधिहरूलाई स्मरण गराउनुभयो। श्रीमती स्वराजले सम्मेलनमा भन्नुभयो, भारतले आफ्नो निकटतम छिमेकीका लागि उच्च संसाधनहरूमा अधिक ध्यान दिएको छ र आगामी पीढीको क्षेत्रीय सम्पर्क र महत्त्वपूर्ण भौतिक पूर्वाधारको निर्माण गरिरहेको छ। रायसीना सम्वादको आयोजना परराष्ट्र मन्त्रालय र एक स्वतन्त्र चिन्तन समुह अब्जर्भर रिसर्च फाउण्डेसनले साझारूपले गरेका थिए जसको उद्देश्य वैश्विक साझेदारी बनाउनु हो।