क्यामरून: अशान्त अङ्ग्रेजी भाषी क्षेत्रमा बन्दुकधारीहरूद्वारा ३६ व्यक्तिहरू अपहृत

मंगलबार क्यामरूनको अशान्त एङ्गोलफोन क्षेत्रको दक्षिण-पश्चिम स्थित बुएआ-कुम्बा राजमार्गमा बन्दुकधारीहरूद्वारा  ३६ यात्रुहरू अपहृत भएका छन्।

यो क्षेत्र क्यामरूनको दुई युद्ध जर्जरित अङ्ग्रेजी भाषी क्षेत्रहरूमध्ये  एक हो। अपहरणकर्त्ताहरूले घटना स्थलमै छाडिदिएको बस चालकले बताएअनुसार, यात्रुहरूलाई बसबाट निस्किन र उनीहरूका परिचयपत्र सुम्पिन आदेश दिइएको थियो। त्यसपछि त्यहाँ झाडी जङ्गलको बाटो हुँदै उनीहरूलाई अज्ञात ठाउँ लगियो। स्थानीय अधिकारीहरूअनुसार, राजमार्गमा यातायात सेवा स्थगित राखिएको छ र बन्दीहरूको खोजी तलास अभियान सुरु गरिएको छ।

मुख्यत: फ्रान्सीसी भाषी यस मुलुकको अङ्ग्रेजी भाषी क्षेत्रहरूमा द्वन्दन्वका साथ-साथै अपहरणका घटनाहरू बढिराखेका छन्। नोभेम्बरमा अङ्ग्रेजी भाषीहरूको बाहुल्य भएको उत्तरपश्चिम सहर बमेन्डामा ७९ स्कूली बच्चाहरू अपहरित भएका थिए। क्यामरून सरकारले यी अपहरणहरूको आरोप सशस्त्र पृथकतावादी गुटमाथि लगाएको छ।

पृथकतावादी गुटहरू क्यामरूनबाट अलग भइ उत्तरपश्चिम र दक्षिणपश्चिम स्थित दुई अङ्ग्रेजी भाषी क्षेत्रलाई लिएर ‘एम्बाजोनिया’ नामक देश बनाउनका लागि युद्ध लडिराखेका छन्।