अमेरिका र टर्कीबिच मतभेद तथा कुर्दहरूको भविष्य

उत्तरी सिरियामा कुर्दहरूको मामिलालाई लिएर अमेरिका र टर्की फेरि आमनेसामने भई भिड्ने अवस्थामा पुगेका छन्। ताजा घटनाक्रम भनेको, कुर्दहरूको बाहुल्यता र सिरियाली डेमोक्रेटिक फोर्स (एस. डि. एफ.)- को नियन्त्रणमा रहेको सामरिक रूपमा महत्त्वपूर्ण अलेपो प्रशासनिक क्षेत्रलाई मुक्त गराउन मन्बिजमाथि हमला गर्ने टर्कीको चेतावनीको नै परिणाम हो। एस. डि. एफ.- मा मुख्य रूपमा कुर्दिस डेमोक्रेटिक युनियन पार्टी (पि. वाइ. डि.)- को सशस्त्र समूह पिपल्स प्रोटेक्सन युनिट (वाइ. पि. जि.)- का लडाकाहरू सामेल छन्। पि. वाइ. डि. र वाइ. पि. जि.- का दशकौँदखि दक्षिण पूर्व टर्कीमा सशस्त्र उग्रवादी क्रियाकलाप सञ्चालन गरिरहेको कुर्दिस्तान वर्कर्स पार्टी (पि. के. के.)- सँग कथित रूपमा निकट सम्बन्ध छन् भन्ने आशङ्का छ। पि. के. के.-  ले उत्तरी इराक र सिरियाका पहाडी क्षेत्र तथा कुर्दहरू बसोवास गर्ने ठाउँहरूलाई आफ्ना लडाकाहरू लुक्ने र उनीहरूलाई तालिम दिने ठाउँहरूका रूपमा प्रयोग गरेको छ। टर्कीले पि. वाइ. डि. र वाइ. पि. जि.- माथि आफ्नो नियन्त्रणमा रहेका क्षेत्रहरूमा पि. के. के.- का लडाकाहरू सुरक्षित लुक्ने ठेगानाका रूपमा प्रयोग गरिरहेको आरोप लगाउँदै आएको छ। त्यसैले, दाएस अर्थात् आइ. एस.- विरुद्ध लड्नका लागि अङ्काराले वाशिङ्गटनलाई एस. डि. एफ.- माथिको निर्भरता समाप्त गर्न आग्रह गर्दै आएको छ। तर, उत्तरी सिरियामा आइ. एस.- लाई परास्त गर्नमा एस. डि. एफ.- सबैभन्दा प्रभावकारी शक्ति भएकाले अमेरिका उसो गर्न हिचकिचाइरहेको छ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले गत डिसेम्बर महिनामा विदेशमा अमेरिकी सैनिकहरूको तैनाथी घटाउने आफ्नो योजनाअनुसार सिरियाबाट आफ्ना रहल २००० सैनिकहरू फिर्ता गर्ने घोषणा गर्नुभयो। आइ. एस.- लाई परास्त गर्ने अमेरिकी उद्देश्य पूरा भएकाले अमेरिकी सैनिकहरू स्वदेश फिर्ता हुनु पर्छ भन्ने श्री ट्रम्पको तर्क थियो। यस समाचारले टर्कीमा खुसीको लहर ल्यायो। अङ्काराबाट प्राप्त समाचारहरूमा, एस. डि. एफ. र आइ. एस.- लाई निर्मूल पार्नका लागि टर्कीले उत्तरी सिरियामा आफ्ना सैन्य कारबाहीहरू बढाउने तयारी गर्दै छ भन्ने सङ्केत पाइए। देशमा खुसीको वातावरणका बिचमा टर्कीका राष्ट्रपति एर्डोगनले अमेरिकी घोषणाप्रति सावधानीपूर्वक प्रतिक्रिया दिनुभयो। उहाँले, पूर्वी युफ्रेट प्रान्तमा हमला तेज गर्नअघि टर्कीले सिरियाबाट सैनिक फिर्ता गर्ने अमेरिकी निर्णयपछिको जमिनी स्थिति बदलेको हेर्ने प्रतीक्षा गर्ने बताउनुभयो। पछि, यस सिलसिलामा रसियाका विचारहरू बुझ्न भनी टर्कीका विदेश मन्त्री हुलुसी अकार, विदेश मन्त्री मेभुल्ट काभुसोग्लु र सुरक्षा अधिकारीहरू सम्मिलित एउटा उच्चस्तरीय टर्किस शिष्टमण्डल मस्को गयो।

राष्ट्रपति ट्रम्पले अचानक गर्नुभएको उक्त फैसलाले गर्दा अमेरिकी प्रशासनभित्र मतभेदका आवाजहरू बुलन्द हुन थाले। पेन्टागन यस फैसलामा सामेल थिएन भन्ने पनि रिपोर्ट छ र यसैले गर्दा रक्षा मन्त्री जेम्स म्याटिसले विरोधस्वरूप राजीनामा दिनुभयो। वाशिङ्गटनमा उठेका यिनै विरोधका आवाजहरूको परिणामस्वरूप राष्ट्रपति ट्रम्प, सिरियाबाट अमेरिकी फौजहरूको फिर्ती विस्तारै हुने छ भन्ने वक्तव्य जारी गर्न बाध्य हुनुभयो। त्यसपछि अमेरिकी राष्ट्रिय सुरक्षा सलाहकार जन बोल्टनले आइ. एस.- लाई पूर्ण रूपमा सखाप पार्न बाँकी नै रहेको तथा यो आतङ्की समूहलाई पूर्ण रूपमा पराजित नगरुन्जेल अमेरिकी सैनिकहरू फिर्ता नहुने सर्त राखिएको छ भन्ने कुरा स्पष्ट पार्नुभयो। उत्तरी सिरियाको स्थिति व्यवस्थापनसम्बन्धी वार्ता गर्न भनी श्री बोल्टन अङ्कारा जानुभयो तर उहाँ कुनै सहमतिविनै फिर्ता हुनु पऱ्यो। श्री बोल्टनका बयानहरूमा प्रतिक्रिया दिँदै राष्ट्रपति एर्डोगनले वाइ. पि. जि., पि. के. के. र आइ. एस.- का उग्रवादी समूहहरू माझ कुनै प्रकारको भिन्नता नरहेको र ती समूह टर्कीको राष्ट्रिय सुरक्षाका लागि खतरा हुन् भन्नुभयो।

यसका अतिरिक्त अङ्काराले अमेरिकी विरोधका बावजुद टर्की मन्बिजमाथि सैनिक हमला गर्ने आफ्नो योजनाको समीक्षा गर्न इच्छुक छैन भन्ने सङ्केत दियो। त्यसपछि वाशिङ्गटनले अमेरिकाविरुद्ध गई अङ्काराले एस. डि. एफ.- माथि हमला गऱ्यो भने वाशिङ्गटनले टर्कीको अर्थव्यवस्थालाई ध्वस्त पारि दिने खुल्ला चेतावनी दियो।

सिरियाका कुर्दहरू भनेका देशको पूर्वोत्तर क्षेत्रमा बाहुल्यता भएका रैथाने अल्पसङ्ख्यक मानिस हुन्। सिरियामा गृहयुद्धपछि उनीहरू देशमा राजनैतिक स्वायत्तता हासिल गर्न चाहन्छन्। यद्यपि, आ-आफ्नो चासो र विचार बोक्ने विभिन्न स्तरका सरोकारवालाहरू कुर्द समुदायको यो मागविरुद्ध कार्य गरिरहेका छन्। कुर्दहरूको सम्बन्धमा टर्कीका विचारधारा कठोर छन् भने अमेरिकाले मिश्रित तथा अस्पष्ट सङ्केत दिँदै आएको छ र उता इरानचाहिँ बसर-अल-असद सरकारको पूर्ण क्षेत्रीय सम्प्रभुता बहाल गर्नु पर्छ भन्ने कुरामा ढिपी गरिराखेको छ। उता रसियाले कुर्दहरूका केही आशा-आकाङ्क्षाहरू पूरा गर्ने चाहना देखाए तापनि उसका तर्फबाट कुनै किसिमको प्रतिबद्धता जाहेर भने भएको छैन। टर्की र अमेरिकीबिच जारी तनाव र आइ. एस.- लाई लखेटेर खाली गराइएका क्षेत्रहरूलाई आफ्नो भनी दावी गर्ने होड चलिरहेको अवस्थामा सिरियाली कुर्द समुदायको भाग्य भने अझै अनिश्चितताको भुँवरीमा फँसिरहेको प्रतीत हुँदै छ।

यो क्षेत्रसँग भारतका घनिष्ठ सम्बन्ध छन् र नयाँ दिल्ली यस मानवीय विपत्तिका घडीमा सिरियाली सङ्कटको सर्वमान्य समाधान भएको हेर्न चाहन्छ। भारतले सिरिया सङ्कटको समाधान खोज्ने दिशामा अन्तर्राष्ट्रिय समुदायले आइ. एस.- लाई परास्त गर्नमा योगदान गर्ने सबै पक्षहरूलाई श्रेय दिने छ भन्ने आशा राखेको छ।

आलेख: पश्चिम एसिया मामिलाका सामरिक विश्लेषक डा. मोहम्मद मुदस्सिर कमर

अनुवादकः दीपक पौड्याल

वाचनः विष्णु बहादूर गुरुङ्ग