पाकिस्तानद्वारा फेरि पुरानै राग अलापाइ

पाकिस्तानका प्रधान मन्त्री इमरान खानले फेरि पुरानै राग अलाप्दै हुनुहुन्छ! पाकिस्तानका प्रधान मन्त्रीले भारतमा बसोबास गर्ने अल्पसंख्यकहरूमाथि टिप्पणी गर्नुभएको छ। अनर्गल आरोपहरू सबै भारतीयहरूको अपमान हो र यो भारतीय नागरिकहरूमाझ उनीहरूका विविध धार्मिक विश्वासहरूको बावजुद रहेको सौहार्दतासित पटक्कै मेल खाँदैन। त्यसैमाथि, यस्तो कुरा एक यस्तो व्यक्तिको मुखबाट निस्कँदैछ जो एक धर्मआधारित मुलुकको सरकारप्रमुख हुनुहुन्छ।

भारत सरकार र सबै भारतीयहरूले श्री खानका टिप्पणीहरूको निन्दा गरेका छन्। परराष्ट्र मामिला मन्त्रालयले भनेको छ, “पाकिस्तानका प्रधान मन्त्रीले एकपल्ट फेरि भारतको धर्मनिरपेक्ष समाज र संस्कृतिबारे जानकारीको अभाव देखाउनुभएको छ। भारतको लोकतान्त्रिक राजनीतिक व्यवस्था र प्रगतिशील संविधानअन्तर्गत विभिन्न मतावलम्बीहरूले मिलेर बस्न रोजेका हुन् भन्ने स्पष्ट तथ्यको उपेक्षा गर्नुभएको छ”। भारतले थप के भनेको छ भने “पाकिस्तानले आफ्ना जनताको ध्यान भट्काउनुको सट्टा बरू उनीहरूका आफ्नै घरेलु चुनौतीहरूमाथि ध्यान केन्द्रित गर्दै आफ्ना जनताको अवस्था सुधार्नमा लागे राम्रो हुनेछ”।

पाकिस्तानका प्रधान मन्त्रीका टिप्पणीहरूलाई भारतको बारेमा उहाँको अज्ञानता भनी व्याख्या गर्न सकिँदैन। श्री इमरान खानमा समझदारीको अभाव स्पष्ट छ। भारतीयहरूलाई थाहा भएकै कुरा हो, इमरान खान कुनैबेला एक चमत्कारी क्रिकेट खेलाडी रहनुभएको हो; कैयौँपटक भारत यात्रामा आउनुभएको हो र भारतभर खेल्नुभएको हो। भारतीय जनतामा खेलाडीहरूप्रति उनीहरूको राष्ट्रियताको भेद नगरिकन ठुलो सम्मान रहने गर्दछ। तसर्थ, श्री खानद्वारा लगाइएको अनर्गल आरोपले अनेकौँ भारतीयहरूलाई व्यथित गरेको छ।

पाकिस्तानका प्रधान मन्त्रीले के याद गर्नु पर्दछ भने धार्मिक विभाजनमाथि निर्मित उहाँको मुलुकमा अल्पसंख्यकहरूका लागि कुनै स्थान छैन। के सर्वविदितै छ भने पाकिस्तानमा अल्पसंख्यक समुदायहरूले बहुसंख्यक जनसंख्याको जीवनशैलीलाई अपनाउनु पर्दछ। नत्रभने उनीहरू त्यो देशको समाजको हिस्सा हुन सक्दैनन्। पाकिस्तानमा ‘अल्पसंख्यक’ शब्दका थुप्रै अर्थहरू छन्, यो धार्मिक हुन सक्दछ, भाषिक, र जातिय र अझ भन्नुपर्दा पाकिस्तानका मानिसहरूको पहिरनसमेत हुन सक्दछ।

श्री खानले के पनि याद राख्नु पर्छ भने उहाँका सबैभन्दा ठुला प्रशंसकहरूमध्ये एक जनरल जिया-उल-हकले पाकिस्तानी महिलाहरूलाई साडी पहिरनुमाथि प्रतिबन्ध लगाउनुभएको थियो। यो स्पष्टतः किन गरिएको थियो भने पाकिस्तानका तत्कालीन राष्ट्रपतिले साडी एक विदेशी पहिरन हो भन्ने महसुस गरेका थिए। त्यो ‘फतवा’ पछि पाकिस्तानमा विशाल विरोध प्रदर्शन भएको थियो।

सिन्धीहरू र बलोचहरू जस्ता भाषिक अल्पसंख्यकहरूलाई देशको विकासको कार्यक्रमको परिधिबाट बाहिर राखिन्छ। पञ्जाब-सिन्ध प्रतिद्वन्द्विता अस्मरणीय कालदेखि रहिआएको छ। विश्वमा सर्वाधिक पुराना भाषाहरूमध्ये एक सिन्धी भाषा बोल्नेहरूसित भेदभाव गरिन्छ।

बलोचहरूसित पनि त्यस्तै व्यवहार गरिन्छ। बलोचहरूले आफैलाई पाकिस्तानी मान्दैनन्; तसर्थ उनीहरूकासाथ पाकिस्तानको सरकारले अपमानपूर्ण व्यवहार गर्दछ।

श्री खानले विश्वलाई के बुझाउनु पर्ने खाँचो छ भने उहाँको सरकारले एउटा धर्मान्धवादी सङ्गठन ‘तहरीक-ए-लब्बाइक-पाकिस्तान’सामु त्यतिबेला आत्मसमर्पण गरेको थियो जब ईशनिन्दाको आरोपहरूमा एक दशकदेखि जेलको सजाय भोगिरहेकी एकजना ईसाई महिला आसिया बीबीलाई अदालतद्वारा दोषमुक्त गरिएपछि यसको विरोधमा पोहोर जम्ल्याहा सहर इस्लामाबाद-रावलपिन्डीमाथि कब्जा जमाएका थिए।  रिपोर्टहरूअनुसार ती महिला आसिया बीबी र उनको परिवारले कुनै अन्य मुलुकमा शरण मागेका छन् किनभने पाकिस्तानले उनीहरूलाई सुरक्षा प्रदान गर्न सकेन। आसिया बीबीका वकिलले नेदरल्यान्ड्समा शरण लिएका छन् किनभने आसिया बीबीको मुद्दा लडेबापत धर्मान्धवादीहरूले उनलाई निशाना बनाएका थिए।

तसर्थ, पाकिस्तानका प्रधान मन्त्रीको खोक्रा टिप्पणीहरूलाई खारेज गरिनु पर्दछ। भारत एक यस्तो देश हो जसको आधारमा लोकतन्त्र, समानता र भातृत्व छ। हरेक भारतीयलाई भारतको संविधानले पूजा-अर्चना वा धर्मको ग्यारेन्टी दिन्छ। कुनैपनि भारतीयले भाषा, खान-पानको प्रणाली र पहिरनको आधारमा भेदभावको सामना गर्नु पर्दैन। श्री खानलाई यो कुरा राम्ररी थाहा छ, तर रूखो एवम् असभ्य पाकिस्तानी राजनीतिले उहाँलाई  भारतविरुद्ध यस्ता अभियोगात्मक कुराहरू उच्चारण गर्न बाध्य पारेको छ।

श्री खानले पाकिस्तानको प्रधान मन्त्री पद सम्हाल्नुभएको करिब एकवर्ष पछि पनि ‘नयाँ’ पाकिस्तानको निर्माण गर्ने उहाँको बाचा एकातिर थन्किइराखेको छ। इस्लामाबादलाई यसको पूर्व मित्रहरू जस्तै अमेरिकाले अलग्याएको छ। यसलाई आर्थिक सङ्कटबाट उकास्न सऊदी अरब, संयुक्त अरब एमिरेट्स र चीनजस्ता मुलुकहरूले ‘सहायता’ दिइराखेका छन्। तरपनि, पाकिस्तानले भारतविरुद्ध विषवमन गर्न निरन्तर जारी छ।

श्री इमरान खानले ‘काँचको घरमा बस्नेहरूले अरूमाथि ढुङ्गा हिर्काउनु हुँदैन’ भन्ने उक्तिलाई बिर्सनु हुँदैन।

आलेख: अल इन्डिया रेडियोका सामरिक मामिला विश्लेशक कौशिक रॉय

अनुवादक एवम् वाचकः विष्णुबहादुर गुरुङ्ग