मुम्बईमा पैदल यात्री पुल भत्किएको घटनामा मृत्यु हुनेहरूको संख्या ६ पुग्यो

मुम्बईमा छत्रपति शिवाजी महाराज टर्मिनस नजिक पैदल यात्री पुल भत्किएको घटनामा मृत्यु हुनेहरूको संख्या ६ पुगेको छ। बिहिवार साँझ भएको यस घटनामा अन्य ३१ मानिसहरू घाइते भएका छन्।

राष्ट्रिय आपदा कारबाही बलको एउटा टोलीले उद्धार कार्यमा मद्दत गऱ्यो।

महाराष्ट्र सरकारले यस घटनाका उच्च स्तरीय जाँच गर्ने आदेश दिएको छ। पत्रकारहरूसित कुराकानी गर्दै मुख्य मन्त्री देवेन्द्र फडणवीसले भन्नुभयो, १९८०-मा निर्मित यस पुलको पोहोर जाँच गरिएको थियो र राम्रो स्थितिमा रहेको रिपोर्ट प्राप्त भएको थियो। हाल यसको  मरम्मत कार्य चलिरहेको थियो। श्री फडणवीसले दोषीहरूलाई कडा सजाय दिने आश्वासन दिनुभएको छ।

राज्य सरकारले  प्रत्येक मृतकका पीडित परिवारलाई पाँच लाख रुपियाँ र घाइतेहरूलाई ५०-५० हजार रुपियाँ अनुग्रह राशि प्रदान गर्ने घोषणा गरेको छ।

प्रधान मन्त्री नरेन्द्र मोदीले शोकाकुल परिवारप्रति  समवेदना व्यक्त गर्नुभएको छ।