इरानमा आएको बाढीबाट १९ जनाको ज्यान गयो

इरानका प्रायजसो भागहरूमा आएको  ठूलो बाढीमा परि १९ जनाको ज्यान जानका साथै ९० भन्दा बढी घाइते भएका छन भने यसले गर्दा पहिरोहरू गएका छन् अनि बाटो घाटो अवरुद्ध भएका छन्।

आपातकालीन सेवाहरूले सोमबार बताए अनुसार दक्षिणी शहर शिराजमा १७ जना मारिनका साथै ९४ जना घाइते भएका थिए र पश्चिमी करमनशाह प्रान्तमा एक जनाको ज्यान गएको थियो।

सन् २०१८ सम्म एक दशकदेखिको खडेरीसित जुझी रहेको शुष्क इरानमा यस किसिमको विस्तृत बाढी अभूतपूर्व घटना हो।

मुलुकका जनताले इरानी नयाँ वर्षको विदा मनाई राखेकै अवस्थामा, जुन बेला धेरै राहत कर्मीहरू बिदामा थिए, इरानमा यो राष्ट्रिय आपदा आइपरेको छ।

शिराजमा मारिनेहरूमा धेरै जसो विदा मनाउन गएका मानिसहरू थिए र तिनीहरू शहरमा पस्न लाग्दा बाढीमा फसेका थिए।

इरानका ३१ मध्ये २५ प्रान्तहरू बाढीको प्रकोपमा परेका अथवा पर्ने संभावना रहेको अवस्थामा मुलुकको राष्ट्रिय संकट व्यवस्थापन समितिलाई क्रियाशील गरिएको छ।

प्रथम उप-राष्ट्रपति एशाक जाहंगिरीले राष्ट्रभरका प्रान्तिय गवर्नर जेनरल, प्रान्तिय व्यवस्थापक र अधिकारीहरूलाई आगामी ७२ घन्टासम्म आ-आफ्नो स्थानमा तैनाथ रहन अपदेश दिइएको सरकारी टेलिभिजनलाई बताउनुभयो।

राष्ट्रपति हसन रौहानीले एउटा बयान जारी गर्दै बाढीको शिकार बनेका व्यक्तिहरूका परिवारहरू प्रति समवेदना प्रकट गर्नका साथै संकटको सामुना गर्ने दिशामा गरेको कार्यको लागि आपातकालीन सेवा र सेनाको धन्यवाद गर्नुभयो।

मौसम विभागले बुधबारसम्म मुसलधार पानी पर्ने चेतावनी दिँदै कतिपय पश्चिमी प्रान्तहरूमा आगामी २४ घण्टामा १५ सेन्टीमिटरसम्म पानी पर्न सक्ने भविष्यवाणी गरेको छ।