भेनेजुएलामाथि अमेरिका  र रसिया बीचका विवाद चर्कियो

एउटा विद्रोह मौलाई रहेको अभियोग लगाउँदै मास्कोले दर्जनौं सैनिकहरूलाई काराकास पठाएपछि सोमबार अमेरिका र रसिया बीच भेनेजुएलामाथिको विवाद सार्वजनिक हुन साथै यस तेल उत्पादक मुलुकमाथि भू-राजनैतिक जोखिम बढ्न गएको छ।

अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले टेलिफोन मार्फत रसियाका विदेश मन्त्री सर्गे लाभारोभलाई के बताउनुभयो भने, रसियाले भेनेजुएलामा तनाउलाई चर्को पाऱ्यो भने अमेरिका र क्षेत्रीय मुलुकहरू चुप्प लागेर बसी रहने छैनन्।

रसियाले शानिबार लगभग १०० जना सैनिकहरू र ३५ टन सैनिक उपकरणहरू कारकास बाहिर रहेको भेनेजुएलाको मुख्य हवाई अड्डामा ओरालेको समाचार पछि नै यो तनाउपूर्ण कुराकानी हुन गएको हो।

रसियाको सरकारी समाचार एजेन्सी स्पुटनिकले यो सैनिक गतिविधि प्राविधिक सैनिक करारहरू पूरा गर्ने  क्रममा भएको बताएता  पनि यस घटनाबाट वाशिङ्गटन विचलित हुन गएको छ।

अमेरिकाले राष्ट्रपति निकोलस मदुरो विरुद्ध प्रतिपक्षका नेता जुवान गुवाईदोलाई अन्तरिम राष्ट्रपितको रूपमा समर्थन प्रदान गरिराखेको छ।

श्री पोम्पियोको कार्यलयका अनुसार, भेनेजुएलामा निकोलस मदुरोको अवैध शासनलाई रसियाको निरन्तर समर्थनले गर्दा मुलुकका जनताको पीरमर्का लामो भएको छ।

यता श्री लाभरोभले एउटा वक्तव्यमा श्री पोम्पियोसितको कुराकानीमा उहाँले वाशिङ्गटनले भेनेजुएलामा एउटा सैनिक विद्रोहको षडयन्त्र गरिराखेको शिकायत गर्नुभएको बताउनुभयो।