क्राइस्टचर्चको आतङ्की हमलाकारीको मानसिक स्वास्थ्यको जाँच हुने

न्युजील्याण्डको एउटा अदालतले ५० जना मानिसहरूको ज्यान लिएको अभियोग लगाइएको क्राइस्टचर्चमा आतङ्की हमला गर्ने २८ वर्षीय ब्रेन्टन टयारान्टको मानसिक स्वास्थ्यको जाँच गर्ने आदेश दिएको छ।

अस्ट्रेलियामा जन्मेको ब्रेन्टन टयारान्ट अकल्याण्डको प्यारीमोरीमो बन्दीगृहबाट भिडियो सम्पर्क मार्फत क्राइस्टचर्च उच्च अदालतका न्यायधीश क्यामरुन म्यान्डर समक्ष उपस्थित भएको थियो।

यो टयारान्टको अदालत समक्ष दोस्रो पेशी थियो। हिजो न्युजील्याण्ड प्रहरीले टयारान्ट विरुद्ध ५० हत्याहरू गरेको र ३९ हत्याका प्रयासहरू गरेको अभियोग लगाएको थियो।

विगत महिना टयारान्टले दुइ मस्जिदहरूमा शुक्रबारको प्राथनाको समयमा पसेर जथाभावी गोली चलाँउदा ५० जना मानिसहरूको ज्यान गएको थियो जसमा ५ जना भारतीयहरू पनि सामेल थिए।