प्रधान मन्त्री मोदी राष्ट्रपति सोलिहको शपथ ग्रहण समारोहमा उपस्थित भएयता भारत, मालदिभ्सबीचको मित्रता नयाँ उचाइमा पुगेको छ: मालदिभ्सका विदेश मन्त्री

मालदिभ्सका विदेश मन्त्री अब्दुल्ला शाहिदले भन्नुभएको छ, प्रधान मन्त्री नरेन्द्र मोदीले राष्ट्रपति सोलिहको शपथ ग्रहण समारोहमा भाग लिएयता भारत र मालदिभ्स बीचको मित्रता नयाँ उचाइमा पुगेको छ।

अल इन्डिया रेडियोका संवाददातासितको एउटा अन्तर्वार्तामा उहाँले भन्नुभयो विकासमुलक सहयोग एजेन्डा तीव्र गतिमा क्रियान्वित गरिँदैछ। श्री शाहिदले भन्नुभयो,  पानी र मलमूत्र विसर्जन केन्द्र जस्ता जनहितैषी परियोजनाहरूलाई भारत सरकारको अनुदान सहयोगका साथ तीव्र गतिमा क्रियान्वित गरिँदैछ।

भारत सरकारले मालदिभ्सलाई १.४ अर्ब डलर सहयोग प्रदान गर्ने घोषणा गरेको थियो तथा परियोजनाहरूका विवरण तयार पारिँदैछ। हालैमा भारतीय परराष्ट्र मामिला मन्त्रीको माले भ्रमणको बेला मालदिभ्सले एउटा क्रिकेट रङ्गशालाको निर्माणका लागि सहयोगको अनुरोध गरेको थियो तथा अहिले यसको विवरण तयार पारिँदैछ।

श्री शाहिदले दुई मुलुकहरू माझ अत्यन्तै फलप्रद रक्षा सहयोग रहेको पनि बताउनुभयो।