लोकसभा चुनावको चौथो चरणको मतदानका लागि नामाङ्कन पत्रहरूको मूल्याङ्कन आज हुने

 

लोकसभा चुनावको चौथो चरणको मतदानका लागि नामाङ्कन पत्रहरूको मूल्याङ्कन आज हुनेछ। हिजो, नामाङ्कन पत्र दर्ता गर्ने अन्तिम मिति थियो।

चौथो चरणमा, ९ राज्यका ७१ निर्वाचन क्षेत्रहरूमा मतदान यसै महिनाको २९ तारिख हुनेछ। १२ अप्रिल उम्मेदवारहरूद्वारा आफ्ना नामाङ्कन फिर्ता लिने अन्तिम मिति हो।

उत्तरप्रदेशमा, २५३ उम्मेदवारहरूले आफ्ना नामाङ्कन पत्र दायर गरेका छन्। यस चरणमा, शाहजहाँपुर, खेरी, हर्दोइ, मिश्रिख, उन्नाव, फर्रुखाबाद, इटावा, कन्नौज, कानपुर, अकबरपुर, जालौन, झाँसी तथा हमिरपुर निर्वाचन क्षेत्रमा मतदान हुनेछ। यस चरणको मतदानमा करीब २ करोड ३८ लाख मतदाताहरूले आफ्ना मत खसाल्ने छन्।

मध्यप्रदेशमा, ६ ससंदीय निर्वाचन क्षेत्रहरूमा १३० उम्मेदवारहरूद्वारा १८० नामाङ्कन पत्रहरू दायर गरिएका छन्। यी ६ निर्वाचन क्षेत्रहरू सिधि, शाहडोल, जबलपुर, मण्डला, बालाघाट तथा छिंदवाडा हुन्।

यसैबीच छिंदवाडामा उपचुनावका लागि मुख्यमन्त्री कमल नाथ लगायत १७ उम्मेदवारबाट २३ नामाङ्कन पत्रहरू प्राप्त भएका छन्।

राजस्थानमा, १३ आसनका लागि १७२ उम्मेदवारहरूले नामाङ्कन पत्र दायर गरेका छन्। हिजो, कंग्रेस नेता वैभव गहलोत र रवी झुन्झुनवाला लगायत १०० उम्मेदवारहरूले आफ्ना नामाङ्कन पत्रहरू दायर गरे। राष्ट्रीय लोकतान्त्रिक पार्टीका अध्यक्ष हनुमान बेनिवालले पनि नगौर सीटबाट नामाङ्कन पत्र दायर गर्नुभयो।

महाराष्ट्रमा, १७ निर्वाचन क्षेत्रहरूमा चौथो चरणको मतदानका लागि ४५२ उम्मेदवारहरूले नामाङ्कन पत्र दायर गरेका छन्। यस चरणमा मतदान हुने निर्वाचन क्षेत्रहरू हुन्; नन्दुरबार,धुले, डिन्डोरी, नासिक, पालघर, भिवन्डी, कल्यान, ठाणे, मावल, शिरुर, शिर्डी अनि मुम्बईका छ: सीटहरू।

बिहारमा, चौथो चरणको मतदानका लागि १०६ उम्मेदवारहरूले नामाङ्कन पत्र दायर गरेका छन्। हिजो ५५ उम्मेदवारहरूले आफ्ना नामाङ्कन पत्र दायर गरे। जवाहरलाल नेहरू विश्वविद्यालयको छात्रा संघका पूर्वअध्यक्ष कन्हैया कुमारले बेगुसरायबाट सीपीआई पार्टीका उम्मेदवारको रूपमा नामाङ्कन पत्र दायर गरे। चौथो चरणको मतदान पाँच निर्वाचन क्षेत्रहरू; दरभङ्गा, उजियारपुर, समस्तीपुर, बेगुसराय तथा मुंगरमा हुनेछ।