लोकसभा चुनावको पहिलो चरणको मतदानका लागि सबै व्यवस्थापन सिद्ध

अप्रिल ११ तारिख देशका २० राज्य तथा केन्द्रशासित प्रदेशका ९१ संसदीय निर्वाचन क्षेत्रहरूमा हुनगइराखेको लोकसभा चुनावको पहिलो चरणको मतदानका लागि समग्र व्यवस्थापन सिद्ध भएको छ।

आन्ध्रप्रदेशमा २५, उत्तरप्रदेशमा ८, महाराष्ट्रका ७, उत्तराखण्ड र झारखण्डमा पाँच-पाँच; जम्मू एवम् कश्मीर, अरूणाचलप्रदेश, मेघालय तथा पश्चिम बङ्गालमा दुई-दुई; छत्तीसगढ, मणिपुर, मिजोरम, नागाल्यान्ड, त्रिपुरा, सिक्किम, अण्डमान एवम् निकोबर तथा लक्षद्वीपमा एक-एक निर्वाचन क्षेत्रहरूमा अप्रिल ११ तारिखको दिन मतदान हुनेछ।

आन्ध्रप्रदेश, अरूणाचलप्रदेश, सिक्किम तथा ओडिशामा १४७ सीटमध्ये २८ सीटमा लोकसभा चुनावको मतदानका साथ-साथै विधानसभा चुनावको मतदान पनि हुनेछ।

उत्तरप्रदेशमा, भोली हुने मतदानले ९६ उम्मेदवारहरूको भाग्य निर्धारित गर्नेछ जसमा ४ केन्द्रीय मन्त्री वी.के. सिंह, सञ्जीव बलियान, सत्यपाल सिंह र महेष शर्मा, आरएलडी नेता अजित र जयन्त चौधरी तथा कंग्रेसका इमरान मसूद सामेल हुनुहुन्छ।

सुरक्षा बलहरूले संवेदनशील इलाकाहरूमा फ्ल्याग मार्च गरेका छन् भने मदिरा पसलहरूलाई मतदान समाप्त नभइञ्जेलसम्मका लागि बन्द गर्न आदेश दिइएको छ। दिल्ली, हरियाणा तथा उत्तराखण्डसित जोडिएका अन्तर्राज्य सिमानाहरूलाई सील गरिएको छ।

उत्तराखण्डमा, बीजेपी र कंग्रेसको सोझो टक्कर पाँच लोकसभा सीटहरूमा भइराखेको छ। अलमोडाको आरक्षित आसनबाट केन्द्रीय मन्त्री अजय टाम्टा, नैनीतालबाट कंग्रेस महासचिव हरिष रावत लगायत राज्यको यस चुनावी होडमा ५२ उम्मेदवारहरू छन्।

पश्चिम बङ्गालमा, कूचबिहार र अलिपुरद्वार संसदीय निर्वाचन क्षेत्रहरूमा चुनाव हुनेछ।  राज्यको चुनाव विभागले निष्पक्ष एवम् बाधाहीन मतदान सुनिश्चित गर्न सबै आवश्यक उपयाहरू गरेका छन्। यी दुई आसनका लागि जम्मा १८ उम्मेदवारहरूले प्रतिस्पर्धा गरिराखेका छन्। चुनाव आयोगले मंगलबार कूचबिहार जिल्लाका प्रहरी निरीक्षक अभिषेक गुप्तालाई स्थानान्तरण गऱ्यो र उहाँको स्थानमा अमित कुमार सिंहलाई नियुक्त गरेको छ। विशेष प्रहरी पर्यवेक्षक विवेक दुबे सुरक्षासम्बन्धी स्थितिको जायजा लिन आज त्यहाँ पुग्नुहुनेछ।

ओडिशामा, चार लोकसभा सीट अनि २८ विधानसभा सीटका लागि मतदान हुनेछ। मुख्य चुनाव अधिकारी सुरेन्द्र कुमारले बताएअनुसार यस चरणमा ६० लाखभन्दा बढी मतदाताहरूले आफ्ना मताधिकारको प्रयोग गर्ने छन्।

बिहारमा, पहिलो चरणको मतदानमा ४४ उम्मेदवारहरू प्रतिस्पर्धामा छन्। हाम्रा संवाददाताको रिपोर्टअनुसार, औरंगाबाद, गया, नवादा तथा जमुईमा मतदान हुनेछ।

असममा, ७५ लाख मतदाताहरूले २ महिला लगायत कुल ४१ उम्मेदवारहरूको राजनैतिक भाग्यबारे निर्णय गर्ने छन्। पूर्वमन्त्री पवन सिंह घटोवर र गौरव गोगोई कंग्रेसबाट, प्रदन बरूआ र रामेश्वर तेली बीजेपीबाट अनि असोम गन परिषदका मोनी माधव महन्त प्रसिद्ध व्यक्तित्वहरू हुन्।

मिजोरममा ६ उम्मेदवारहरू एकल लोकसभा सीटका लागि प्रतिस्पर्धामा छन्। पश्चिम त्रिपुरा लोकसभा निर्वाचन क्षेत्रका लागि १३ उम्मेदवारहरू चुनाव लड्दै छन्।

तेलंगानामा भोली हुने चुनावका लागि चुनाव अधिकारीहरू तयारीको अन्तिम चरणमा छन्। निजामाबादमा, जहाँ १८५ उम्मेदवारहरू चुनाव लडिरहेका छन्, अतिरिक्त मतकर्मी तथा सयौँ इञ्जीनियररूलाई सेवामा तैनाथ गरिएको छ। यहाँ पहिलो चरणको मतदानमा २ करोड ९७ लाखभन्दा बढी मतदाताहरूले आफ्ना मताधिकारको प्रयोग गर्ने छन्।

आन्ध्रप्रदेशमा, भोली लोकसभा मतदान सँग-सँगै राज्यको १७५  सदस्यी विधानसभा चुनावका लागि पनि मतदान हुनेछ। राज्यमा लगभग १० लाख नयाँ मतदाताहरूले पहिलोचोटी मतदान गर्ने छन्।