पाकिस्तानद्वारा भारतीयहरूका लागि २,२०० भिसा जारी

पाकिस्तानको उच्चायोगले मङ्गलबार भनेको छ, उसले २ देखि २१ अप्रिलसम्म हुने वार्षिक बैसाखी उत्सवमा उनीहरूको सहभागितालाई सुगम बनाउन भारतका २,२०० सिख तीर्थयात्रीहरूका लागि भिसा जारी गरेको छ।

पाकिस्तानद्वारा भिसा जारी गरिनु दुवै देश बीच तनाव कम पार्ने सङ्केतको रूपमा हेरिएको छ र यो बालाकोट हमला अनि त्यसपछि पाकिस्तानद्वारा गरिएको जबाफी कार्यवाहीको लगभग ६ साता पश्चात् आएको हो।

धार्मिक तीर्थस्थलहरूको यात्रासम्बन्धी भारत-पाकिस्तान प्रोटोकलको  कार्यढाँचा अन्तर्गत प्रत्येक वर्ष भारतबाट विशाल संख्यामा सिख तीर्थयात्रीहरू पाकिस्तान जाने गर्छन्। त्यसैगरी पाकिस्तानी तिर्थयात्रीहरू पनि भारत आउने गर्छन्।

गत साता पाकिस्तानले यस महिना सद्भावना सङ्केतको रूपमा चार चरणहरूमा ३६० भारतीय कैदीहरूलाई रिहा गर्ने घोषणा गरेको थियो, जसमा अधिकांश मछुवाहरू सामेल छन्। ३६० भारतीय कैदीहरू मध्ये १०० मछुवाहरू सोमबार भारत फिर्ता भइसकेका छन्।

उच्चायोगले एउटा बयानमा भनेको छ, “पाकिस्तान उच्चायोगले भारतका सिख तीर्थयात्रीहरूलाई वार्षिक बैसाखी उत्सवमा भाग लिनका लागि २,२०० भिसा जारी गरेको छ।”

पाकिस्तानका उच्चायुक्त सोहेल महमूदले भन्नुभयो, पाकिस्तानद्वारा यी भिसाहरू जारी गरिनु बैसाखीसित जोडिएको श्रद्धालाई दर्शाउँछ र यसका धार्मिक र सांस्कृतिक दुवै मान्यताहरू छन्।