नेपालमा भारतीय दूतावासद्वारा नेपालको बाटो कैलाश मानसरोवर यात्रामा जाने भारतीय नागरिकहरूका लागि परामर्श जारी

नेपालमा भारतको दूतावासले नेपालको बाटो भएर कैलाश मानसरोवर यात्रामा जाने भारतीय नागरिकहरूका लागि परामर्श जारी गरेको छ। दूतावासले तीर्थ यात्रुहरूलाई यात्रा सुरु गर्नुअघि यथोचित चिनियाँ भिसा र तिब्बतका लागि यात्रा अनुमति हासिल गर्ने परामर्श दिएको छ। चिनियाँ भिसा नयाँ दिल्लीस्थित चिनियाँ दूतावासबाट हासिल गरिनु पर्नेछ, काठमाडौँमा चिनियाँ दूतावासबाट होइन। तीर्थ यात्रुहरूले उनीहरूका एजेन्टद्वारा उनीहरूको यात्रा कार्यक्रम वा मार्गको हिसाबले नेपालमा सिमिकोट/हिल्सा अथवा रसुवागढीका लागि प्रतिबन्धित क्षेत्र अनुमति हासिल गरिएको सुनिश्चित गर्नु जरुरी छ। यात्रुहरूले यात्राको बेलामा लेक लाग्दा हुने अस्वस्थता, आपातकालीन चिकित्सा सामग्री, बचाव उपाय, विस्तारित बसाइ आदि जस्ता आइलाग्न सक्ने सबै स्थितिहरूको सामना गर्नका लागि पर्याप्त/आवश्यक बिमा गरिएको पनि सुनिश्चित गर्नु पर्दछ। आफैलाई मौसम अनुकूल पार्नका लागि बनाइएका स्थानहरूमा बिसाउने र  लेक लाग्ने वा अक्सिजनको स्तरमा परिवर्तनले हुन सक्ने स्वास्थ्यसम्बन्धी जोखिमहरूलाई घटाउने परामर्श दिइएको छ।

सबै तीर्थ यात्रुहरूले यात्रा सुरु गर्नुअघि आफ्नो पूरा स्वास्थ्य जाँच गराउनु पर्दछ। सिमिकोट/हिल्सामा चिकित्सा सुविधाहरू एकदमै कम वा छँदैछैन। तीर्थ यात्रुहरूले यात्राकाल र कमसेकम त्यसपछिका १० दिनका लागि पर्याप्त औषधीहरू बोकेको हुनु पर्दछ। सिमिकोट र हिल्सामा ए.टि.एम. सुविधा उपलब्ध छैन, तसर्थ यात्रुहरूले कुनैपनि सङ्कटकालको सामना गर्नका लागि पर्याप्त नगदी बोक्नु पर्दछ। यात्रुहरूले अन्तर्राष्ट्रिय रोमिङ्ग सुविधाका साथ सिम कार्ड राख्नु पर्दछ। मोबाइल सम्पर्कता कम भएको वा हुँदै नभएको तर वाइ-फाइ-को सुविधा भएका ठाउँहरूबाट निरन्तर सम्पर्कमा रहनका लागि ह्वाट्सएप, भाइबर र विच्याट जस्ता मेसेन्जर एप्लिकेशनहरू फोनमा राख्ने परामर्श दिइएको छ। यी इलाकाहरूमा थोरै मात्रामा यात्रुहरू/तीर्थालुहरूका लागि मात्रै साधारण वा न्यूनतम पूर्वाधारहरू छन् तसर्थ साधारण खानपान/आवासका लागि होटेल/लज वा सामुहिक शयन कक्षहरूमा बस्नका लागि तयार हुनु पर्दछ। सिमिकोट/हिल्सा मार्ग हवाई मार्गबाट मात्रै पुग्न सकिन्छ जो राम्रो मौसम/दृश्यतामाथि निर्भर गर्दछ।

तसर्थ, प्रतिकूल मौसमको कारण सबै ठाउँहरूमा कैयौँ दिनसम्म रोकिनु पर्ने स्थितिकालागि तयार हुनु पर्दछ। यात्रुहरूले पूर्णिमा वा पूर्णिमा नजिकका दिनहरूमा यात्रा गर्नुबाट बच्नु पर्दछ किनकि ती दिनहरूमा धेरै संख्यामा यात्रुहरू जाने गर्दछन् जसको परिणामस्वरूप संसाधनहरूको अभाव हुने गर्दछ र यात्रुहरूलाई सिमिकोट र हिल्सामा रोकिनु पर्ने स्थिति आइलाग्न सक्दछ। यात्रुहरूले मौसमको भविष्यवाणीमाथि ध्यान दिनु पर्दछ र भारी वर्षा वा खराब मौसममा यात्रा गर्नुबाट बच्नु पर्दछ। तीर्थ यात्रुहरूले स्वास्थ्यले अनुमति नदिएको स्थितिमा कैलाश पर्वत परिक्रमा नगरेकै राम्रो हुन्छ। कैलाश पर्वत परिक्रमामा उच्च पहाडहरू र भञ्ज्याङ्गहरू हुँदै लामो यात्रा गर्नु पर्ने हुन्छ। स्वास्थ्य समस्या भएका तीर्थ यात्रुहरू र पूरा स्वस्थ नभएकाहरूले आफ्नै र आफ्नो समूहको हितमा त्यसो नगरेकै राम्रो हुनेछ। सङ्कटकालीन स्थितिमा यात्रुहरूले काठमाडौँमा भारतीय दूतावाससित यी नम्बरहरूमा सम्पर्क गर्न सक्छन् – +९७७९८५११०७०२१, +९७७९८५११०७०२२, +९७७९८५११५५००७ र +९७७९८५११५५००६