सुडानका इब्न औफद्वारा सैनिक परिषद प्रमुखको पदबाट राजीनामा

सुडानमा मुलुकको सत्तारूढ सैन्य परिषदका प्रमुख अवध इब्न औफले लेफ्टिनेन्ट जनरल अब्देल फत्तह बुरहानलाई आफ्नो उत्तराधिकारी घोषित गरी राजीनामा दिनुभएको छ। शुक्रवार सरकारी टेलिभिजनमा एक प्रत्यक्ष प्रसारणमा बोल्दै उहाँले राजीनामाको घोषणा गर्नुभयो। शुक्रवार सुडानको राजधानी खार्तुममा गैरसैनिक सरकार गठनको माग गर्दै हजारौँ मानिसहरूले विरोध प्रदर्शनमा भाग लिए।

जनरल औफले सैन्य परिषद प्रमुखको रूपमा शपथ ग्रहण गर्नुभएको एक दिनपछि राजनीमा दिनुभयो।

पूर्व राष्ट्रपति ओमर अल बशिरलाई सत्ताबाट हटाएपछि सैन्य शासन विरूद्ध मुलुकभरि प्रदर्शन भइरहेका छन्। प्रदर्शनकारीहरूले लोकतन्त्र ल्याउनका लागि एक गैरसैनिक सरकार गठन गर्ने माग गरिरहेका छन्।

अमेरिकाले सैन्य परिषदलाई सरकारमा जनताको सहभागिताका लागि मार्ग प्रशस्त पार्न आह्वान गरेको छ।

१९८९-मा सत्तापलटपछि  श्री बशिरको अफ्रिकामा सबैभन्दा लामो कार्यकाल रहेको थियो। उहाँ जनसंहार र युद्ध अपराधका मामिलाहरूमा अन्तर्राष्ट्रिय अपराध अदालतद्वारा वाञ्छित हुनुहुन्छ।

यसैबीच मुलुकको सैन्य परिषदले सबै राजनीतिक दलहरूलाई शनिवार सम्ममा कुराकानीका लागि दुइ प्रतिनिधिहरूको नाम छनौट गर्न भनेको छ।