लोकसभा निर्वाचनको दोस्रो चरणको चुनावका लागि विभिन्न राजनैतिक दलहरूको देशभरिमा प्रचार

लोकसभा निर्वाचनअन्तर्गत दोस्रो चरणको चुनावका निम्ति विभिन्न राजनैतिक दलहरूले देशभरिमा प्रचार अभियान जारी राखेका छन्। मतदाताहरूलाई आफ्नो पार्टीका पक्षमा मतदान गर्न आह्वान गर्दै प्रधान मन्त्री नरेन्द्र मोदी, भाजपा प्रमुख अमित शाह, कांग्रेस अध्यक्ष राहुल गान्धी र बसपा प्रमुख मायावतीलगायतका नेताहरूले जनसभाहरू गरिराख्नुभएको छ।

श्री मोदीले शनिवार तमिलनाडु र कर्णाटकमा प्रचार गर्नुभयो भने राहुल गान्धीले पनि कर्णाटकमा ऱ्यालीहरूलाई सम्बोधन गर्नुभयो। अमित शाह र मायावतीले उत्तर प्रदेशमा जनसभाहरूलाई सम्बोधन गर्नुभयो।

आज अर्थात् आइतवार श्री मोदीले जम्मूको कठुआ र पछि मुरादाबादमा प्रचार गर्नु हुने छ। कांग्रेस महासचिव प्रियंका गान्धी वाड्राले आज असमको सिलचरमा रोड सो गर्दै हुनुहुन्छ।

दोस्रो चरणको चुनावअन्तर्गत आउँदो बिहीवार मतदान हुँदै छ। यस चरणमा १३ राज्य तथा केन्द्र शासित प्रदेशमा अवस्थित ९७ संसदीय क्षेत्रहरू समेटिने छन्। यसमा तमिलनाडुका ३९ संसदीय क्षेत्र छन्। यसका अतिरिक्त कर्णाटक, महाराष्ट्र, उत्तर प्रदेश, असम, बिहार, ओडिसा, छत्तीसगढ, पश्चिम बंगाल, जम्मू कश्मीर, मणिपुर, त्रिपुरा र पुडुचेरीका केही क्षेत्र समेटिने छन्।

मतदाताहरूमाझ जागरूकता फैलाउनुका साथै सरल तरिकाले चुनाव सम्पन्न गराउने प्रयोजनका लागि निर्वाचन आयोगले कैयौँ उपायहरू अपनाएको छ। सात चरणमा हुने लोकसभा चुनावको मतगणना आगामी २३ मेका दिन हुने छ।