लोकसभा चुनावको दोस्रो चरणका लागि प्रचार अभियान चरममा

लोकसभा चुनावको दोस्रो चरणका लागि प्रचारको म्याद समाप्त हुन दुई दिन बाँकी रहँदा प्रचार अभियान चरममा छ। दोस्रो चरणमा १२ राज्यहरू र एक केन्द्र प्रशासित क्षेत्रमा फिँजिएका ९७ निर्वाचन क्षेत्रहरूका लागि बिहीबार मतदान गरिने छ। विभिन्न राजनीतिक पार्टीका शीर्ष नेताहरूले मतदाताहरूलाई आकर्षित गर्न कुनै कसर बाँकी छोडेका छैनन्।

वरिष्ठ भाजपा नेता एवम् प्रधान मन्त्री नरेन्द्र मोदीले हिजो जम्मूमा कठुआ र उत्तर प्रदेशमा अलिगढ र मोरादाबादमा ऱ्यालीहरूलाई सम्बोधित गर्नुभयो। श्री मोदीले उहाँको सरकार आतङ्कवाद, भ्रष्टाचार र गरिबी उन्मूलनका लागि प्रतिबद्ध रहेको तर विपक्ष भने उहाँलाई हटाउन इच्छुक रहेको छ भन्नुभयो।

भाजपा नेता राजनाथ सिंह, डॅ. महेन्द्रनाथ पाण्डे, महेश शर्माका साथै अन्यहरूले मथुरा, फतेहपुर सिकरी, बदायूँ, रामपुर र अन्य स्थलहरूमा चुनाव ऱ्याली र बैठकहरूमा सहभागिता गर्नुहुने छ। बसपा सर्वोच्च नेत्री मायावतीले अलिगढ र अमरोहामा जनसभाहरूलाई सम्बोधन गर्नु हुनेछ। समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले ज कासगञ्ज र मोरादाबादमा चुनाव प्रचार गर्नु हुने कार्यक्रम छ।

कँग्रेस महासचिव प्रियङ्का गान्धी वडराले हिजो असमको सिलचरमा रोडशो  गर्नुभयो। उहाँले कँग्रेसद्वारा असमलाई विशेष दर्जा प्रदान गरेको तर भाजपाले सत्तामा आएपछि त्यो हटाएको बताउनुभयो।

लोकसभा चुनावको दोस्रो चरणमा तमिलनाडूका जम्मै ३९ निर्वाचन क्षेत्रहरूमा मतदान हुनेछन्। अन्य संसदीय निर्वाचन क्षेत्रहरू हुन् – कर्नाटकमा १४, महाराष्ट्रमा  १०, उत्तर प्रदेशमा ८, असम, बिहार र ओडिसामा पाँच-पाँच, छत्तीसगढ र पश्चिम बङ्गालमा ३-३, जम्मू र कश्मीरमा २-२, अनि मणिपुर, त्रिपुरा र पुडुचेरीमा १-१ निर्वाचन क्षेत्र।

भारतको ५४३ सदस्यीय लोकसभाका लागि सात चरणको मतदानको घोषणा गरिएको थियो। पहिलो चरणमा मत खसाल्ने मतदाताहरूको प्रतिशत ६९.४३ रह्यो। सबै चरणहरूको मतदान समाप्त भएपछि २३ मईमा मतगणना हुनेछ।