अबु धाबी अन्तर्राष्ट्रिय पुस्तक मेलाः भारत सम्माननीय अतिथिको रूपमा नामित

अबु धाबी अन्तर्राष्ट्रिय पुस्तक मेलाको २९औँ संस्करणमा पचास मुलुकहरूका १००० भन्दा धेरै प्रदर्शकहरू भाग लिनका लागि तमतयार छन्। यो पुस्तक मेलामा भारतलाई सम्माननीय अतिथि मुलुकको रूपमा नामित गरिएको छ।

यो पुस्तक मेला संयुक्त अरब एमिरेट्सको राजधानीमा २४ अप्रिलदेखि ३० अप्रिलसम्म हुने कार्यक्रम छ जसमा पाँच लाखभन्दा धेरै पुस्तकहर प्रदर्शित गरिने छन्।
अबु धाबीमा आइतवार मीडियालाई जानकारी दिँदै भारतीय मिसनका उप प्रमुख सुश्री स्मिता पन्तले सम्माननीय अतिथिको रूपमा भारतको सहभागिता भारत र संयुक्त अरब एमिरेट्सबिच गहिरो सामरिक सम्बन्धको द्योतक हो भन्नुभयो।
विवरणहरू दिँदै सुश्री पन्तले बताएअनुसार भारतीय राष्ट्रिय पुस्तक न्यासका साथै सूचना एवम् प्रसारण मन्त्रालयले यो पुस्तक मेलामा १०० सदस्यीय शिष्ट मण्डलको नेतृत्व गर्नेछन्  जसमा सुप्रसिद्ध लेखक, प्रकाशक, साहित्यिकारहरू र कलाकारहरू सामेल हुनेछन्।
उहाँले जानकारी दिएअनुसार पुस्तक मेलामा भारतको सबैभन्दा विशाल मण्डप हुनेछ। अङ्ग्रेजी र अन्य क्षेत्रीय भाषाका विद्वान लेखकहरूका साथै भारतीय मण्डपमा विविध सांस्कृतिक प्रदर्शन, कविता सत्रहरू र कर्मशालाहरूको आयोजन गरिँदैछन्।
सुश्री पन्तले सो पुस्तक मेलामा मलयालम साहित्य र पञ्जाबी भाषाका कविताहरूलाई समर्पित एउटा पूरा खण्ड रहने बताउनुभयो। हामी दर्शकहरूलाई भारतको समृद्ध विविधतापूर्ण संस्कृतिको झलक देखाउन चाहन्छौ भनी उहाँले थप्नुभयो।