महाराष्ट्रः गढचिरौली-चिमुर निर्वाचन क्षेत्रका चार मतदान केन्द्रहरूमा पुनर्मतदान

महाराष्ट्रमा नक्सल-ग्रस्त गढचिरौली-चिमुर लोकसभा निर्वाचन क्षेत्रका चार मतदान केन्द्रहरूमा आज पुनर्मतदान गरिँदैछ। बिहान ७ बजेदेखि सुरुभएको मतदान अपराह्न ३ बजेसम्म चल्ने छ। निर्वाचन आयोगका एकजना अधिकारीले बताएअनुसार वाताली, गडदेवडा, गडदेवडा (पुसोसोती) र गडदेवडा (वाङ्गेतुरी)-मा पुनर्मतदान भइरहेको छ।

गढचिरौली-चिमुर महाराष्ट्रका ती सात लोकसभा निर्वाचन क्षेत्रहरूमध्येमा पर्दछ जहाँ बिहीवार प्रथम चरणको मतदान भएको थियो। निर्वाचन टोली फर्किरहेको बेलामा गढचिरौलीमा सुरक्षा फौज र नक्सलहरूबिच एउटा भिडन्त भएको थियो। सो जिल्लामा मतदानका दिनमा अन्य दुई स्थलहरूमा आइ.इ.डि. विस्फोटका घटनाहरू पनि भएका थिए।
राज्य निर्वाचन आयोगले ती चार मतदान केन्द्रहरूमा पुनर्मतदानको आदेश दिएको थियो किनकि नक्सल हमलाको धम्कीले गर्दा निर्वाचन टोलीहरू मतदान केन्द्रहरूमा पुग्न असक्षम भएका थिए।
आजको पुनर्मतदानका लागि व्यापक सुरक्षा व्यवस्था गरिएको छ।