फ्रान्सः दमकल कर्मीहरूद्वारा पेरिसको ८५० वर्ष पुरानो नट्रेडम गीर्जाघरमा लागेको आगोमाथि नियन्त्रण

 

फ्रान्सको मध्य पेरिसमा नट्रेडम गीर्जाघरमा लागेको आगोमाथि नियन्त्रण गरिएको छ। दमकल कर्मीहरू यो ८५० वर्ष पुरानो गोथिक शैलीको गीर्जाघरका दुई शिखरहरूलगायत मूल ढाँचालाई बचाउन सफल भएका छन्, तर मिनार र छत भने धराशायी भएको छ।

फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोँले आगोमाथि नियन्त्रण गरिएकोमा राहतको सास फेर्नुभएको छ अनि राष्ट्रको आत्माको रूपमा वर्णन गरिने सो गीर्जाघरको पुनर्निर्माणको बाचा मार्नुभएको छ। करिब ४०० दमकल कर्मीहरू आगोमाथि काबु गर्नका लागि रातभरि संघर्ष गरिरहे, र आज एकाबिहानै आगोमाथि आंशिक नियन्त्रण गरिएको तर पूर्णतः नियन्त्रण गर्नु बाँकी नै रहेको घोषणा गरे।

आगलागीको कारण तुरुन्तै स्पष्ट भएको छैन, तर गीर्जाघरमा मर्मत कार्य चलिरहेको थियो र दमकल सेवाले आगलागीको कारण यो हुन सक्छ भनेको छ।