अमेरिकी विदेश मन्त्रालयद्वारा नागरिकहरूलाई उनीहरूको पाकिस्तान यात्राबारे पुनर्विचार गर्ने परामर्श

 

अमेरिकी विदेश मन्त्रालयले अमेरिकाका नागरिकहरूलाई उनीहरूको पाकिस्तान यात्राबारे आतङ्कवादको कारण पुनर्विचार गर्ने परामर्श दिएको छ। यसले नागरिकहरूलाई अशान्त बलोचिस्तान, खैबर पख्तूनख्वा र पाकिस्तान अधिग्रहित कश्मीरको यात्रा नगर्न भनेको छ किनभने विदेश विभागले यी स्थानहरूलाई आतङ्की हमलाहरूको कारण सर्वाधिक खतरनाक इलाकाहरूको रूपमा पहिचान गरेको छ।

हिजो अमेरिकाद्वारा जारी पछिल्लो यात्रा परामर्श पत्रमा पाकिस्तानलाई व्यापकतः “तेस्रो स्तर”-को श्रेणीमा राखेको छ भने बलोचिस्तान, खैबर पख्तुनख्वा, पाकिस्तान अधिग्रहित कश्मीर तथा पाकिस्तानका कैयौँ क्षेत्रहरू र भारत-पाकिस्तान सिमानालाई अत्यन्तै उच्च जोखिम क्षेत्रहरूको रूपमा पहिचान गर्दै सर्वाधिक खतरनाक “स्तर चार”-मा राखिएको छ।

आतङ्की गुटहरूले पाकिस्तानमा सम्भावित हमलाहरूको षडयन्त्र रच्न जारी राखेका छन् भन्ने कुरामाथि जोड दिँदै अमेरिकी विदेश मन्त्रालयले भनेअनुसार आतङ्कीहरूले यातायात केन्द्रहरू, बजारहरू, सैन्य प्रतिष्ठानहरू, विमान स्थलहरू, विश्वविद्यालय, स्कूल, अस्पताल, पर्यटन स्थल, पूजा स्थल र सरकारी कार्यालयहरूमाथि हमला गर्न सक्छन्।