भोली हुने दोस्रो चरणको लोकसभा मतदानका लागि सबै तयारीहरू पूरा

 

भोली हुने दोस्रो चरणको लोकसभा चुनावका लागि सबै तयारीहरू पूरा भएका छन्। यो चरणमा १२ राज्यहरू र १ केन्द्र प्रशासित क्षेत्रका सन्तान्नब्बे निर्वाचन क्षेत्रहरूमा मतदान हुनेछ।

यिनमा सामेल छन् – तमिलनाडूका जम्मै ३९, कर्नाटकका १४, महाराष्ट्रका १०, उत्तर प्रदेशका ८, असम, बिहार र ओडिशाका पाँच-पाँच, छत्तीसगढ र पश्चिम बङ्गालका तीन-तीन, जम्मू एवम् कश्मीरका दुई र मणिपुर, त्रिपुरा र पुडुचरीका एक-एक निर्वाचन क्षेत्रहरू। यो चरणका लागि प्रचार अभियान हिजो साँझ सकियो। राजनीतिक दलहरूले आज दैलो-दैलोमा गएर प्रचार गर्नेछन्।

तमिलनाडूका सबै सीटहरूलाई खर्च संवेदनशील निर्वाचन क्षेत्रको रूपमा पहिचान गरिएको छ, र चुनाव आयोगले चुनावमा धन-शक्तिको प्रयोगलाई रोक्न विशेष उपायहरू गरेको छ। राज्यमा संवेदनशील मतदान केन्द्रहरूको संख्या बढेर ८,२९३ पुगेको छ जहाँ मतदानको प्रक्रियालाई वेब-स्ट्रिम गरिने छ अथवा भिडियोमा खिचिने छ। राज्यमा लोकसभा सीटहरूका साथै १८ विधानसभा सीटहरूका लागि पनि उप-चुनाव भइरहेका छ्न।

कर्नाटकमा यो चरणमा ६७ करोडभन्दा धेरै मतदाताहरूले  २४१ उम्मेदवारहरूको भाग्यको फैसला गर्नेछन्। प्रहरी महानिदेशक र महा निरीक्षक नीलमणी एन. राजुले जानकारी दिएअनुसार हसन, मान्ड्या, तुमकुरू र बेङ्गलुरू ग्रामीण संवेदनशील निर्वाचन क्षेत्रहरू हुन जहाँ थप प्रहरी बल खटाइएको छ।

महाराष्ट्रमा १० सीटहरूका लागि १७९ उम्मेदवारहरू मैदानमा छन्।

उत्तर प्रदेशमा आगरा, फतेहपुर सिकरी, अमरोहा, बुलन्दशहर, नगीना, हाथरस, अलीगढ र मथुरा लोकसभा निर्वाचन क्षेत्रहरूमा मतदान हुनेछन्।

असममा प्रमुख चुनाव अधिकारी सुकेश साहुले भनेअनुसार दूरस्थ इलाकाहरूमा मतदान टोलीहरू मतदान केन्द्रहरूका लागि रवाना भइसकेका छन्। प्रमुख चुनाव अधिकारीअनुसार शान्तिपूर्ण मतदानका लागि पर्याप्त सुरक्षा व्यवस्थाहरू सुनिश्चित गरिएका छन्।

पुडुचेरीमा एकमात्र लोकसभा सीटका लागि १८ उम्मेदवारहरू मैदाना छन्। चुनाव आयोगले व्यापक सुरक्षा व्यवस्था गरेको छ। १८५० प्रहरीकर्मीहरू र केन्द्रीय बलका १० कम्पनीहरू खटाइएका छन्। २२२ मतदान केन्द्रहरूलाई संवेदनशीलको रूपमा पहिचान गरिएको छ र २५ मतदान केन्द्रलाई अत्यन्तै गम्भीर ठहर गरिएको छ। ९७० मतदान केन्द्रहरूका लागि करिब ४४०० मतदान कर्मीहरू खटाइएका छन्।

यसैबिच, यो महिनाको २३ तारिख हुन निर्धारित तेस्रो चरणको मतदानका लागि चुनाव प्रचारले गति समातेको छ। तेस्रो चरणमा १२ राज्यहरू र २ केन्द्र प्रशासित क्षेत्रहरूका ११५ निर्वाचन क्षेत्रहरूका लागि मतदान हुनेछ।

वरिष्ठ भाजपा नेता एवम् प्रधान मन्त्री नरेन्द्र मोदीले हिजो ओडिशा र छत्तीसगढमा चुनाव ऱ्यालीहरूलाई सम्बोधन गर्नुभयो भने कँग्रेस अध्यक्ष राहुल गान्धीले केरलमा चुनाव प्रचार गर्नुभयो।