चार राज्यहरूमा वर्षासित सम्बद्ध घटनाहरूमा मृत्यु हुनेहरूको संख्या ६० पुग्यो

 

राजस्थान, मध्यप्रदेश, गुजरात र महाराष्ट्रका थुप्रै भागहरूमा मेघ गर्जनसहित चट्याङ परेका साथै वर्षासित सम्बद्ध घटनाहरूमा मृत्यु हुनेहरूको संख्या ६० पुगेको छ। राजस्थानका राहत सचिव आशुतोष ए टी पदनेकरले राज्यमा २५ मानिसहरूको ज्यान गएको जानकारी दिनुभएको छ।

मध्यप्रदेशमा वरिष्ठ पुलिस अधिकारीहरूले २२ जनाको ज्यान गएको पुष्टि गरेका छन्। गुजरातका राहत निदेशक जी बी मंगलपाराले वर्षा र धुलो आँधीमा कम्तिमा १० जना मारिएको बताउनुभएको छ। महाराष्ट्रमा पनि तीनजनाको ज्यान गएको छ।

नयाँ दिल्लीमा मौसम विभागले जानकारी दिएअनुसार उत्तर तथा उत्तरपूर्वी भारतका थुप्रै भागहरूमा आगामी २४ घण्टाभित्र मेघ गर्जनसहित पानी पर्ने अनुमान छ।