भारतद्वारा सब-सोनिक क्रूज प्रक्षेपास्त्रको परीक्षण

यसै साता भारतले ओडिशाको परीक्षण स्थलबाट स्वदेशमै डिजाइन एवम् विकसित गरिएको लामो दूरीको सर्वप्रथम सब-सोनिक अर्थात् ध्वनिको गतिभन्दा कम्ती गति भएको क्रूज प्रक्षेपास्त्रको सफल परीक्षण गऱ्यो। ‘निर्भय’ नामक यो प्रक्षेपास्त्र भूमिमा आक्रमण गर्ने क्रूज प्रक्षेपास्त्र हो जसले परमाणु हतियार बोकेर लैजान सक्छ तथा १,००० किलोमीटरको दूरीसम्म प्रहार गर्न सक्छ। यो प्रक्षेपास्त्र १०० मीटरको कम्ती उचाइँमा पनि ०.७ म्याक अर्थात् ध्वनिको गतिको ७० प्रतिशत गतिले यता-उता घुम्न साथै उडान गर्न सक्षम छ। यो अत्याधुनिक प्रक्षेपास्त्रको एकै स्थानमा यता-उता उडिरहने क्षमता छ जसले पहिला लक्ष्यको पहिचान गरी त्यसमाथि अचूक प्रहार गर्न सक्छ। यो परीक्षण उडानले लिफ्ट अफदेखि अन्तिम चरणसम्मका अभियानसम्बन्धी सबै उद्देश्यहरूलाई सफलतापूर्वक पूरा गऱ्यो। स्रोतहरूअनुसार यो परीक्षणको सफलताले सम्बद्ध सबै वैज्ञानिकहरूको आत्मविश्वास औधी बढेर गएको छ। प्रक्षेपास्त्रमा रकेट बूस्टरयुक्त्त इञ्जिन साथै टर्बोफ्यान जेट छ।

यो अत्याधुनिक प्रक्षेपास्त्रको परीक्षण निर्धारित कार्यक्रमअनुसार गरियो अनि प्रारम्भिक चरण, बूस्टरको तैनाथी, इञ्जिन सुरु गर्नु, पंखा लगाउनु अनि अन्य कार्यहरू जस्ता सबै महत्त्वपूर्ण प्रक्रियाहरूलाई मार्गदर्शनको स्वचालित प्रणालीमार्फत प्रदर्शित गरियो। यो प्रक्षेपास्त्रको उडान शानदार थियो अनि यसले तय सीमा क्षेत्रसम्म असल ढङ्गमा काम गऱ्यो। यसलाई खुट्टाउनको लागि भूमिमा रडारहरू थिए अनि अन्य सम्बद्ध प्रक्रियाहरूको निगरानी रक्षा अनुसन्धान एवम् विकास संगठनद्वारा स्वदेशमै विकसित टेलिमेट्रि स्टेशनहरूको सहायताले गरियो। ‘निर्भय’ क्रूज प्रक्षेपास्त्रको अन्तिम सफल परीक्षण ७ नोभेम्बर, सन् २०१७-मा गरिएको थियो। उल्लेखनीय छ, निर्भयले समुद्रमाथि उडान गर्नसक्ने क्षमता पनि प्रदर्शित गऱ्यो। समुद्रको सतहदेखि अति नै कम्ती उचाइँमा यो सफलतापूर्वक उड्यो। एकजना अधिकारीको बयानअनुसार यो एक अति नै सफल प्रक्षेपण थियो तथा स्वदेशमै विकसित प्रक्षेपास्त्रले ५ मीटरको उचाइँमा उडान गरेको यो प्रथम अवसर थियो। परीक्षण उडानको समयमा ‘निर्भय’-ले निम्नतम ५ मीटरदेखि अधिकतम २.५ किलोमीटरसम्मको उचाइँमा उडान गऱ्यो। रक्षा अनुसन्धान एवम् विकास संगठनअनुसार सम्पूर्ण उडानको निगरानी इलेक्ट्रो-अप्टिकल ट्र्याकिङ्ग प्रणालीहरू, रडारहरू अनि समग्र समुद्र तटमा तैनाथ टेलिमेट्रि प्रणालीहरूको एक शृंखलाद्वारा गरिएको थियो। अन्तिम चरणमा निर्भय प्रक्षेपास्त्रले १५ विशेष मार्गविन्दुहरूको क्षेत्रमा ५ मीटरको उचाइँमा उडान गऱ्यो। एकजना अधिकारीले भन्नुभयो, “यो एक महत्त्वपूर्ण उपलब्धि हो किनभने यसले हतियार प्रणालीलाई ठूलो शक्ति प्रदान गर्छ।”

निर्भयको सफल परीक्षणले भारतको प्रहारक क्षमतामा महत्त्वपूर्ण वृद्धि गर्नेछ किनभने यसले इलाकामा आफैलाई लुकाउन सक्छ अनि रडारले यसलाई खुट्ट्याउन सक्दैन। यसबाहेक, प्रहार गर्नअघि लक्ष्यको राम्ररी पहिचान गर्नको लागि यो लक्ष्यमाथि पर्याप्त समयसम्म अडिन सक्छ। ब्रह्मोस क्रूज प्रक्षेपास्त्र अनि निर्भयले मिलेर भारतको आक्रमक क्षमतामा एक नयाँ आयाम थपेको छ। भारतको शस्त्रागारमा रहेको ब्रह्मोस एक शक्त्तिशाली सुपरसोनिक अर्थात् ध्वनिको गतिभन्दा द्रूत गतिमा उड्नसक्ने विश्वको सर्वाधिक तीव्र प्रक्षेपास्त्र हो जसलाई जहाज वा भनौँ, पोतहरूमाथि आक्रमण गर्नको लागि तयार पारिएको छ। यो प्रक्षेपास्त्र ध्वनिभन्दा २.८ देखि ३.० गुणा अधिक गतिले उड्न सक्छ। अर्कोतिर निर्भय कम्ती गतिले साथै भूमिदेखि अति नै कम्ती उचाइँमा उड्छ अनि यसकारण शत्रुको रडारले यसलाई खुट्ट्याउन सक्दैन। निर्भय कम्ती उचाइँको मार्ग भएर उड्छ। कसैले चाल नपाउने गरी लुकेर उड्नु आवश्यक छ किनभने शत्रुको रडारले पत्तो लगाएको खण्डमा कम्ती गतिले उड्ने प्रक्षेपास्त्रलाई लडाकू विमानले नष्ट पार्न सक्छ।

क्रूज प्रक्षेपास्त्रहरू कम्ती उचाइँमा उड्छन् अनि यसको प्रमुख कारण रडारको दृष्टिबाट बाँच्नु हो। यी प्रक्षेपास्त्रहरूको मार्गदर्शन सम्पूर्ण मार्गभरि नै गर्न सकिन्छ। यी प्रक्षेपास्त्रहरू पृथ्वीको वातावरणभित्र नै उड्छन् तथा यसमा जेट इञ्जिन प्रविधिको उपयोग गरिन्छ। प्रभावशाली क्रूज प्रक्षेपास्त्रहरूले देशको भूमिबाट आक्रमण गर्ने क्षमतामा ठूलो वृद्धि गर्छन्। यसमा कम्ती उचाइँमा उड्नसक्ने र रडारलाई छल्नसक्ने क्षमता भएकोले गर्दा यसले राष्ट्रको प्रहारक क्षमतामा पूर्णतया एक नयाँ आयाम थप्छ। यो चुपचाप शत्रुको इलाकामा पस्न सक्छ अनि त्यहाँ गएर यसले अचूक साथै घातक प्रहार गर्न सक्छ।

निर्भय, संयुक्त्त राज्य अमेरिकाको ‘टोमाहक’ प्रक्षेपास्त्रहरूको भारतीय जवाफ हुन सक्छ साथै यो एक दशकभन्दा अधिक समयदेखि विकासको चरणमा रहेको पाकिस्तानको बाबर नामक भूमिबाट आक्रमण गर्ने क्रूज प्रक्षेपास्त्रको उपयुक्त्त जवाफ हुन सक्छ। गति अनि उचाइँ समात्नको लागि निर्भय प्रारम्भिक चरणमा ठोस प्रोपेलेन्ट अर्थात् प्रणोदक बूस्टर रकेट इञ्जिनको सहायताले उड्छ अनि दोस्रो चरणमा यसले ससाना पखेटाहरू र पुच्छर लगाएर मानवरहित विमान झैँ उड्न सुरु गर्न सक्छ।

वास्तवमा भारतका सशस्त्र बलहरूले लामो समयदेखि परमाणु हतियारहरू बोकेर लैजानमा सक्षम भूमिमा प्रहार गर्नसक्ने यस्तो क्रूज प्रक्षेपास्त्रको माग गरिरहेका थिए जसलाई जल, थल अनि नभबाट छोड्न सकिन्छ। शायद उनीहरूको लामो समयदेखिको माग अब पूरा भयो होला। निर्भयका अरू उडान परीक्षणहरू गरिन बाँकी छ, तर अन्तत: यसले भारतको रक्षा क्षमतामा ठूलो वृद्धि गर्ने छ।

आलेख: पत्रकार, योगेश सूद

अनुवाद: राज कुमार सिंह

वाचन: प्रणय सुब्बा