तालिबान र अफगान सरकारबीच हुने शान्ति वार्ता स्थगित

तालिबान र अफगान सरकारबीच कतरमा हुने महत्त्वपूर्ण शान्ति वार्ता स्थगित भएको छ।

वार्ताको आयोजना  गरिरहेको कतरको द्वन्द्व एवम् मानवीय अध्ययनका निदेशक सुल्तान बरकतले एक ट्विट सन्देशमा वार्ता स्थगित गरेको जानकारी दिनुभयो।  उहाँले भन्नुभएको छ, यो दुर्भाग्यपूर्ण रूपले अनिवार्य छ कि बैठकमा को सहभागी हुनुपर्ने हो त्यसबारेमा आम सहमति बनाउनुपर्छ।

अफगान सरकार र तालिबान प्रतिनिधिहरूबीच आज वार्ता हुने कार्यक्रम थियो। वार्तामा अफगानिस्तानमा युद्धको अन्त्य गर्ने र अमेरिकी सेनाको फिर्तिबारे सहमति बनाउने योजना थियो।

तालिबानका प्रवक्ता जबिहुल्ला मुजाहिदले सरकारी प्रतिनिधिमण्डलको वार्तामा भाग लिनेहरूको संख्याबारे प्रश्न उठाएका थिए। उनले यो संख्या सामान्य नभएको र यतिका संख्यामा रहेका प्रतिनिधिहरूसित वार्ता गर्न सम्भव नभएको बताएका थिए। वार्तामा अफगान सरकारका  कुल २५० प्रतिनिधिहरू भाग लिने कार्यक्रम थियो।

तालिबानका साथ थुप्रै वार्ताहरूमा सामेल हुनुभएको अमेरिका विशेष शान्ति दूत जालमे खलीलजादले भन्नुभयो, वार्तामा कतरले गरेको  पहलबाट उहाँ असन्तुष्ट हुनुहुन्छ।