फिलिपिन्समा आएको भूकम्पमा  ११ जनाको मृत्यु, सयभन्दा बढी घाइते

फिलिपिन्समा शक्तिशाली भूकम्पमा  ११ जनाको ज्यान जानुका साथै एक सयभन्दा धेरै मानिसहरू घाइते भएका छन्। सोमवार फिलिपिन्सको उत्तरी भागमा ६.१ तीव्रताको भूकम्प आएको थियो।

राजधानी मनिलादेखि ६० किलोमीटर पूर्वोत्तरमा आएको भूकम्पले हवाई, रेल र सडक यातायात प्रभावित भएका छन्। भवन र संस्थानहरूलाई केही क्षति पुगेको छ। पम्पङ्गा प्रान्त सबैभन्दा धेरै प्रभावित भएको छ जहाँ ११ जनाको ज्यान गयो।

मनिला नजिक एउटा क्षतिग्रस्त भवनमा दर्जनौँ मानिसहरू पुरिएको हुनसक्ने आशङ्का गरिएको छ। उद्धारकार्य जारी छ। क्षेत्रमा अहिलेसम्मकै शक्तिशाली भूकम्पले बिजुली र सञ्चार सेवाहरू ठप्प भएका छन्।